स्पेनका प्रधानमन्त्री भन्छन्- गर्मीमा 'टाइ' नलगाउनुस्, ऊर्जा जोगाउनुस्

स्पेनका प्रधानमन्त्री भन्छन्- गर्मीमा 'टाइ' नलगाउनुस्, ऊर्जा जोगाउनुस्

एजेन्सीः स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सार्वजनिक तथा निजी क्षेत्रमा काम गर्ने कामदारलाई 'टाइ' नलगाउन अनुरोध गरेका छन्। गर्मीमा हुने अत्यधिक ऊर्जा खपत कम गर्न टाइ लगाउन नहुने भन्दै उनले यस्तो उपाय अघि सारेका हुन्।

हाल स्पेनको तापक्रम ३६ डिग्री सेल्सियससम्म पुगेको छ। अन्य युरोपेली मुलुकमा पनि यही हालत छ। यही बेला रुस-युक्रेन युद्धका कारण ग्यास आपूर्तिमा कमी आएको छ।

यिनै समस्या समाधानका लागि हाल युरोपेली मुलुकहरूले रुसको ग्यासमा कम निर्भर हुने उपाय खोजिरहेका छन्। सान्चेजको निर्णय पनि यसैको परिणाम हो। उनका अनुसार सरकारले सोमबार ऊर्जा जोगाउन आप्तकालीन उपाय अपनाउनेछ।

मड्रिडमा भएको एक प्रेस सम्मेलनका क्रममा सान्चेजले आफूले टाइ नलगाएको र आफ्ना मन्त्रीहरू, सरकारी कर्मचारीहरू, र कामदारहरूले पनि नलगाउनुपर्ने बताए। "यसको अर्थ हामी सबैले ऊर्जा खपत कम गर्न सक्छौै", उनले भने।

टाइ नलगाउनाले मानिसहरूलाई त्यति गर्मी महसुस नहुने र यसले एयर कण्डिसनरबाट कम ऊर्जा खपत हुने उनले बताए।

यस्तो निर्णय गर्ने स्पेन मात्र पहिलो देश भने होइन। सन् २०११ मा जापानले पनि "सुपर कुल बिज" अभियान चलाएको थियो। अभियानअन्तर्गत कामदारहरूलाई गर्मीमा ठण्डा महसुस हुने कपडा लगाउन प्रोत्साहित गरिएको थियो।

साउन १४, २०७९ शनिबार ०९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।