काठमाडौं महानगरलाई इयुले किनिदिएको बायोग्यास प्लान्ट बन्यो खण्डहर, कहाँ छन् अन्य सामान ?
काठमाडौं : फोहोरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको बायोग्यास प्लान्ट यतिबेला खण्डहर बनेको छ।
युरोपियन युनियनको सहयोगमा काठमाडौं ल्याइएको उक्त बायोग्यास प्लान्ट दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन बनेको हो।
२०७४ सालमा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्य र युरोपियन युनियनका राजदूत रेन्जे तेरिंकले सो परियोजनाबाट उत्पादित बिजुली बालेर बायो ग्यास प्लान्टको उद्घाटन गरेका थिए।
सो समयमा बायोग्यास प्लान्टको चारैतिर गमला, फलामको बारभित्र दुई वटा ठूला सिलिन्डर र छेवैमा चिटिक्कको सानो भवन निर्माण गरिएको थियो।
उद्घाटन गर्दै मेयर शाक्यले ‘फोहोरको उचित तरिकाले व्यवस्थापन गरे काठमाडौंमा बारम्बार बल्झिरहने फोहोरजस्ता थुप्रै समस्या हल हुन सक्ने’ भाषण समेत गरेका थिए। तर उनले उद्घाटन गरेको सो परियोजना उनकै कार्यकालमा बन्द हुन पुग्यो।
यतिबेला ‘एनर्जी बिन’ नामका दुई वटा सिलिण्डर त्यही गेटभित्र थुनिएका छन्। वायो ग्यास उत्पादनको लागि बनेको कंक्रिट भवनको कौसीमा घाँस उम्रेको छ। वनको गेटमा ताला झुण्ड्याइएको छ भने आँगनमा भवन वरपर नजिकै थुपारिएको फोहोरको लिचेड जमेको छ। बायोग्यास र बिजुली उत्पादनका लागि किनेको मेसिनमा खिया लागेको छ।
कुहिने फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्यले सो योजना सञ्चालनमा ल्याइएको थियो। हाल सो कार्यक्रम बेवारिसेजस्तै बनेको छ।
वर्षौंदेखि अलपत्र परेको योजना
सन् २०१४ फेब्रुअरीदेखि सुरु भएको सो कार्यक्रम तीन वर्षसम्मका लागि सञ्चालनमा आएको थियो। नवीकरणीय ऊर्जा प्रबर्द्धन गर्न र कुहिने फोहोरको दिगो व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालनमा आएको सो परियोजनाको लागि युरोपियन युनियनले महानगरपालिकाको २० प्रतिशत र अन्य ८० प्रतिशत लागत आफैंले बेहोर्ने गरी टेकुमा जडान गरिदिएको थियो। जसमा १ करोड ८२ लाख रकम काठमाडौले खर्च गरेको थियो भने ईयुले ४ करोड ६० लाख रकम खर्च गरेको थियो।
सो परियोजना निर्माण र डिजाइनको ठेक्का भारतीय कम्पनी जियोन वेस्ट म्यानेजर्स एलएलपिले पाएको थियो।
दैनिक उत्पादन हुने ३ सय मेट्रिक टन फोहोरमार्फत १४ किलोवाट बिजुली, ९६ केजी एलपी ग्यास र १३ हजार ५ सय लिटर प्रशोधित पानी उत्पादन क्षमताको सो परियोजना झन्डै तीन वर्ष लामो परीक्षणकालपछि काठमाडौं महानगरपालिकाले आधिकारिक रुपमा सञ्चालनमा ल्याएको थियो।
महानगरपालिकाले सञ्चालनमा ल्याएको सो परियोजनाबाट करिब ६ महिनासम्मका लागि बिजुली उत्पादन भए पनि बायो ग्यास उत्पादन नहुदै बन्द भएको थियो।
वातावरण तथा कृषि विभागका प्रशासकीय अधिकृत उमेशकुमार मेहता सो प्लान्ट बन्द हुनुको प्राविधिक र अन्य ठोस कारण थाहा नभए पनि दक्ष जनशक्ति अभावका कारण सो प्लान्ट बन्द भएको बताउँछन्।
‘फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्नका निम्ति टेकुमा भएको बायोग्यास सिलिन्डर इयुले जडान गरिदिएको थियो,’ उनी भन्छन्, ‘तर त्यहाँ भएको सिलिन्डरमा कच्चा फोहोर राखेर चलाउन सकिएन। फोहोर घोलेर मात्र मेसिनमा राखिसकेपछि ग्यास उत्पादन हुन्थ्यो। त्यसमा राखिने फोहोर मेसिनले फिल्टर गर्न र घोलेर ग्यास उत्पादन गर्न सकेन। हाम्रो तरिका र क्षमताले चलाउन असम्भव थियो। ती उपकरण बनाउन र चलाउने गरी हामीसँग दक्ष जनशक्ति नहुँदा सो परियोजना नै बन्द गर्नुपरेको भन्ने हामीले सुनेका हौं।’
उनकाअनुसार प्लान्टभित्र रहेको बायोग्यास सिलिन्डरको छेवैमा रहेको भवनभित्र रहेको ग्यास भर्ने ठूलो बेलुन राखिएको थियो। सुरुवाती चरणमा सो बेलुनमा फोहोरबाट ग्यास उत्पादन गरी ग्यास भर्ने र बिजुली निकाल्ने गरी डिजाइन तयार गरिएको थियो। बेलुनमा ग्यास भरेर ग्यासबाटै जेनेरेटर सञ्जालन गर्ने र सोहिमार्फत बिजुली र ग्यास उत्पादन गर्ने भनिएको थियो। तर ग्यास उत्पादनपछि न त बेलुनमा ग्यास भर्न सकियो न त बेलुनमा भरिएको ग्यास मेसिनमार्फत सिलिन्डरसम्म नै पुर्याउन सकियो।
बायोग्यासको नाममा किनेका सामग्री भने प्रयोगमा
सो परियोजनाको लागि चाहिने आवश्यक उपकरण र अन्य सामग्रीहरु गरी विभिन्न ३५ वटा सामग्री इयुले खरिद गरेको थियो। जस अन्तर्गत प्रिन्टर, ग्यास सिलिन्डर, नेपालको भौगोलिक नक्सा, इन्भर्टर ब्याट्री, काठको मेल्टिङ टेबल, स्टिल ट्रे, नेपालको झण्डा, कुर्सी, क्याल्कुलेटर, सोफा सेट, टि टेबल, भ्याकुम क्लिनर, भित्ते घडी, भित्ते पंखा, ह्वाइट बोर्ड, सूचना पाटी, टेबल, प्यानासोनिक मोबाइल र कभर, पेन स्ट्याण्ड, आरसिडी एन्टेना, कुर्सी, ल्यापटपहरु, प्लेजर कम्पनीको स्कुटर, कम्प्युटर, डकुमेन्ट्री डिभिडी, क्यानोनको कलर प्रिन्टर, वेस्ट वाटर ट्रिटमेन्ट प्लान्टसहित बायोमिथेनेसन प्लान्ट र मारुति स्विफ्ट कार गरी एकएक थान सामान खरिद गरेको थियो।
तीन वर्षसम्म आफूले सञ्चालन गरेपछि इयुले सो परियोजना र परियोजनाका लागि खरिद गरेका सबै उपकरण र सामग्रीहरु सन् २०१७ जुन ३१ मा महानगरपालिकालाई हस्तान्तरण गरेको थियो।
हाल ती उपकरण तथा सामग्रीमध्ये अधिकांश सामान महानगरपालिकाकै विभिन्न विभाग र विभागका कर्मचारीले प्रयोग गरिरहेका छन् भने बायोग्यास परियोजनाझैं केही सामानहरु प्रयोगविहीन बनेका छन्।
काठमाडौं महानगरपालिकाको वातावरण तथा कृषि विभागले उपलब्ध गराएको विवरणअनुसार ती सामग्रीमध्ये ल्यापटप, कम्प्युटर, प्रिन्टर, स्कुटर, गाडी, कुर्सी, टेबल जस्ता कतिपय सामग्री महानगरपालिकाका विभिन्न विभागले प्रयोगमा ल्याएका छन् भने कतिपय सामग्री प्रयोगविहीन अवस्थामा छन्।
सामानमध्ये प्रिन्टर एक थान, ग्यास सिलिन्डर, भौगोलिक नक्सा, कुर्सी, टेबल, ह्वाइट बोर्ड, पंखा, भित्तेघडी, कम्प्युटर एक थान र वेस्ट वाटर ट्रिटमेन्ट प्लान्टसहितको बायोमिथेनेसन प्लान्ट महानगरपालिकाको वातावरण तथा कृषि विभागसँग छन् भने डकुमेन्ट्री डिभिडी महानगरपालिकाको कार्यालय, इन्भर्टरहरु जिल्ला समन्वय समितिको भवनमा राखिएको छ।
यसबाहेक क्यानोन प्रिन्टर, एसर कम्पनीको ल्यापटप र स्विफ्ट मारुती कार महानगरपालिकाको विपद् व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले प्रयोग गरिरहेको र प्लेजर कम्पनीको स्कुटर वातावरण तथा कृषि विभागका कर्मचारी हरिशरण केसी र डेल कम्पनीको ल्यापटप प्रमिला पराजुलीले प्रयोग गरिरहेको विभागले उपलब्ध गराएको सूचनामा उल्लेख छ।
‘हामीले सदुपयोग गरिरहेका छौं’
सम्बन्धित परियोजना बन्द भइसक्दा पनि सो परियोजनाको नाममा खरिद गरेका सामग्री महानगरपालिका अन्तर्गतका अन्य विभाग र विभागमा कार्यरत केही व्यक्तिले प्रयोग गरेको भन्दै आलोचना भएको थियो। आलोचनापश्चात् उकेराले ती सामग्री प्रयोग गरिरहेका विभागका सम्बन्धित व्यक्तिलाई सोधेको थियो।
उनीहरुका अनुसार कुनै पनि दाताले सम्बन्धित परियोजनाको नाममा खरिद गरेका सामग्री वा बनाइदिएको परियोजना महानगरपालिकालाई हस्तान्तरण गरिसकेपछि ती सामग्री सञ्चालन र प्रयोजनको हक महानगरपालिकासँगै हुने जवाफ दिएका छन्।
हाल सो परियोजना सकिइसकेकोले सो परियोजनाको नाममा खरिद गरिएका सामग्रीहरु आफूहरुले आवश्यकताअनुसार प्रयोग गरिरहेको महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार बताउँछन्।
‘हाल त्यो परियोजना नै बन्द भइसकेको अवस्था छ र सो परियोजना बन्द हुनुअघि नै महागरपालिकालाई हस्तान्तर भइसकेको थियो,’ उनी भन्छन्, ‘सो परियोजना महानगरलाई हस्तान्तरण भइसकेको र हाल बन्द भएकोले सामानहरु हामीले सदुपयोग गरिरहेका छौं। कम्प्युटर, ल्याप्टप, कुर्सी, टेबल, गाडीजस्ता काम लाग्ने सामानहरु प्रयोगमा छन् भने काम नलाग्ने थोरै सामानहरु यत्तिकै थन्किएका पनि छन्।’
हाल महानगरपालिकाको विपद व्यवस्थापन विभाग प्रमुख रहेका रविनमान श्रेष्ठले सो परियोजना अन्तर्गत खरिद गरेको मारुती कार र एसर कम्पनीको एक थान ल्यापट प्रयोग गरिरहेका छन्।
तत्कालीन समयमा सो परियोजनाको प्रोजेक्ट डाइरेक्टरको भूमिका निभाएका उनी युरोपियन युनियनले महानगरपालिकालाई हस्तान्तरण गरिसकेको सामान महानगरपालिकाका जुनसुकै विभागले प्रयोग गरे पनि फरक नपर्ने बताउँछन्।
‘म त्यो बेला बायोग्यास प्लान्टको प्रोजेक्ट डाइरेक्टर थिएँ। वातावरण विभागमा गएको चार महिनापछि सरुवा भएर विपद व्यवस्थापन विभागमा आउनुअघि सबै सामान विभागमै बुझाएको थिएँ,’ उनी थप्छन्, ‘हाल मैले चलाइरहेको गाडी नम्बर महानगरपालिकाकै नाममा भएको र सरकारी नम्बर प्लेटमा दर्ता गरिएको छ।
महानगरपालिकालाई हस्तान्तरण भइसकेको सामान वा परियोजना महानगरपालिकाकै नाममा दर्ता हुन्छ। र, सामग्रीहरु विभागले प्रयोग गर्न पाउने अधिकार छ। महानगरपालिका बाहिरको विभागमा सरुवा भयो वा कार्यकाल सकिएपछि स्वत: आफूले प्रयोग गरिरहेको सामान बुझाएर जानुपर्छ।’
उनकाअनुसार बायोग्यास प्लान्ट जडान गर्नुको उद्देश्य बायोग्यास र बिजुली उत्पादन मात्र नभई प्रदर्शनी र बायोऊर्जा सम्बन्धी नेपालमै अध्ययन गर्ने विद्यार्थी र विद्यावारिधि गर्ने विद्यार्थीले आफ्नो अध्ययनको क्रममा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले जडान गरिएको थियो।
साउन १३, २०७९ शुक्रबार २०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।