पोखरामा ६ वटै महानगरका मेयर-उपमेयरको जमघट
पोखरा : मेयर सम्मेलनका लागि पोखरामा ६ वटै महानगरपालिकाका मेयर र उपमेयर भेला भएका छन्। शुक्रबार र शनिबार गरी दुई दिन चल्ने मेयर सम्मेलनमा सबै महानरका मेयर-उपमेयर पोखरा आइपुगेका छन्।
सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ।
पोखरा महानगरका मेयर धनराज आचार्यको निमन्त्रणमा काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल पोखरा आइसकेका छन्।
त्यसैगरी लतितपुर महानगरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, भरतपुरका मेयर रेणु दाहाल र उपमेयर चित्रसेन अधिकारी, विराटनगरका मेयर नागेश कोइराला तथा वीरगञ्जका उपमेयर इम्तियाज आलम पनि पोखरा आइपुगेका छन्।
‘मेट्रो मिट नेपाल’ नाम दिएको सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदान-प्रदान गर्ने कार्यतालिका रहेको छ।
महानगरलाई जनउत्तरदायी बनाउनका लागि निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्नका लागि पोखरा महानगरको अगुवाइमा पहिलो मेयर सम्मेलनको आयोजना गरिएको हो।
सम्मेलनमा महानगर स्तरबाट प्रवाह हुने सेवा, कामकारबाही तथा विकास निर्माणका कार्यहरूलाई थप सबल र सशक्त कसरी बनाउने विषयमा अनुभव आदान प्रदान गर्ने उद्देश्य रहेको बताइएको छ।
पोखराको सारङकोटमा दुई दिनसम्म चल्ने सम्मेलनले महानगरबीच आन्तरिक पर्यटक आदान-प्रदान गर्न, स्थानीय उत्पादन र बजारीकरणको अवसर, स्थानीय स्रोत-साधनको व्यवस्थित परिचालन, महानगरका योजना, चुनौती र व्यवस्थापनबारे समेत छलफल गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै सम्मेलनमा विकासका मोडलमा एकरूपता कायम गर्ने, सूचना प्रविधि र सञ्चारको आदान-प्रदान गर्ने लगायतका साझा सवालका बारेमा छलफल गर्ने समेत कार्यक्रम छ।
मेयर आचार्यका अनुसार सम्मेलनको पहिलो दिनमा महानगरका उपप्रमुखबाट ऐनले निर्देशित गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदान-प्रदान गर्ने छन्। त्यसैगरी पहिलो दिनको दास्रो सेसनमा महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौतीबारे आफ्ना अनुभव आदान-प्रदान गर्ने छन्।
दोस्रो दिन महानगरको साझा सवालबारे संश्लेषण, महानगरमा पूर्वाधार विकास तथा सुशासनबारे पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यसँग अन्तर्क्रिया हुनेछ। पोखरा सम्मेलनले साझा अवधारणा तयार पारी ‘पोखरा घोषणापत्र’ सार्वजनिक गर्नेछ।
साउन १३, २०७९ शुक्रबार १५:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।