अबको 'जेम्स बोण्ड' मा रामचरणको पनि नाम सिफारिस

अबको 'जेम्स बोण्ड' मा रामचरणको पनि नाम सिफारिस

एजेन्सीः दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार रामचरणलाई 'आरआरआर' ठूलै अवसर बनेर देखापर्यो। यसले उनलाई भारतसहित दुनियाँभरि चिनायो।

हलिउडका स्क्रिनराइटरदेखि अन्यले पनि रामचरणको अभिनयको तारिफ गरे। अहिले भने मार्भल सिनेम्याटिक युनिभर्सका एक क्रिएटरले आरआरआरमा रामचरणको अभिनयको तारिफ गर्दै अबको 'जेम्स बोण्ड' श्रृङ्खलामा उनले '००७' पात्रको भूमिका निर्वाह गर्नुपर्ने बताए।

जेम्स बोण्ड हलिउडको लोकप्रिय फिल्म श्रृङ्खला हो। यसअन्तर्गत हालसम्म २५ वटा फिल्म बनिसकेका छन्। सन कनरी, रोजर मुर, पिअर्स ब्रोस्नन र डेनियल क्रेग यो श्रृङ्खलाका चर्चित र सर्वाधिक रुचाइएका जेम्स बोण्ड हुन्।

अब यही कलाकारहरूको सूचीमा रामचरण पनि समावेश हुनुपर्ने भन्दै मार्भलको टीभी श्रृङ्खला 'ल्यूक केज'का क्रिएटर चिओ होदरी कोकरले सिफारिस गरेका हुन्।

बुधबार एक पोस्टमार्फत उनले रामचरणसहित अन्य केही कलाकारको नाम पनि सिफारिस गरे। जसमा इद्रिस एल्बा, सोप डिरिसु, म्याथ्यू गोडे र ड्यामसन इद्रिसको नाम छ।

पोस्टमा उनले रामचरणलाई 'किङ्ग अफ टलिउड' पनि भनेका छन्। उनको उक्त पोस्टपछि केही फ्यानले रामचरणको तस्बिर फोटोशप गरेर जेम्स बोण्डको रूपमा सामाजिक सञ्जालमा सम्प्रेषण गरिरहेका छन्।

साउन १३, २०७९ शुक्रबार ११:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।