पोखरामा आज र भोलि ‘मेयर सम्मेलन’, ६ वटै महानगरका प्रमुख-उपप्रमुख उपस्थित हुने
पोखराः देशका ६ वटै महानगरका प्रमुखहरूको भेला ‘मेयर सम्मेलन’ आजदेखि पोखरामा सुरु हुुँदैछ। पोखरा महानगरको आयोजनामा हुन लागेको सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ।
सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिइएको छ। सम्मेलन साउन १४ गतेसम्म सञ्चालन हुनेछ।
सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र वीरगञ्ज महानगरका प्रमुख राजेशमा सिंह बिहीबार साँझ नै पोखरा आइपुगेका थिए।
महानगर सञ्चालनका विद्यमान कानून र आवश्यक सुधारका विषयमा सम्मेलनमा छलफल हुने पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए। उनले भने, “गाउँपालिका र नगरपालिकाका समस्या सुनाउने छुट्टै फोरम भए पनि महानगरको आफ्नो छुट्टै फोरम नभएकाले साझा समस्या, चुनौती र अवसर पहिल्याउन सम्मेलन आयोजना गरेका हौँ। सम्मेलनले पोखरा घोषणापत्र जारी गर्छ। घोषणापत्र सम्बन्धित निकायमा सुझावका रूपमा पेश गर्नेछौँ।”
कार्यतालिकाअनुसार पहिलो दिन पोखरा, काठमाडौं, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौतीबारे धारणा राख्ने छन्। त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले ‘सङ्घीयता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुति दिनेछन्।
यस्तै प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानून र तिनका कार्यान्वयनका चुनौतीबारे आफ्नो धारणा सुनाउने कार्यसूची छ।
सम्मेलनको दोस्रो दिन पूर्वाधारविज्ञ डा सूर्यराज आचार्यले महानगरको साझा सवाल, पूर्वाधार विकास तथा सुशासनसम्बन्धी प्रस्तुति राख्ने छन्। उनको प्रस्तुतिपछि सहभागीबीच महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता, सम्भावना र चुनौती तथा महानगरका साझा सवाल र आगामी कार्यदिशा विषयमा छलफल हुने कार्यसूची छ।
साउन १३, २०७९ शुक्रबार १०:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।