स्वास्थ्यकर्मी र बिरामीलाई बाहिरै रोकेर प्रधानमन्त्री देउवाले अस्पतालभित्र मनाए वीरको वार्षिकोत्सव

स्वास्थ्यकर्मी र बिरामीलाई बाहिरै रोकेर प्रधानमन्त्री देउवाले अस्पतालभित्र मनाए वीरको वार्षिकोत्सव

काठमाडौँ : कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) ले बिहीबार १३३ औँ स्थापन दिवस मनाउन प्रधानमन्त्री शेरबहादुर  देउवालाई प्रमुख अतिथि बनायो। प्रधानमन्त्री अस्पतालमा आउँदा बिरामीले अझ सुविधाको अनुभव गर्नुपर्ने हो नि। तर उल्टो सास्ती पाए।

कार्यक्रम अस्पतालको सर्जिकल भवनको भूईँतलामा भएको थियो। बिरामी आउने समय बिहान नौ बजेबाटै हो। त्यही बेलामा कार्यक्रम राखिएको थियो। प्रधानमन्त्रीको सुरक्षाभन्दै प्रधानमन्त्री आउनु अगाडिबाटै सर्किजल भवनमा जान रोकियो। देउवा कार्यक्रम स्थलबाट नबाहिरिएसम्म कोही भित्र जानै पाएनन्।

जहाँ कार्यक्रम गरियो त्यो कार्यक्रम गर्ने हल नै हैन। तर त्यही कार्यक्रम राखे निमित्त प्रमुख भूपेन्द्र बस्नेतले। अस्पतालको परिचय पत्र झुन्ड्याएका सरकारी पोसाकमा बिरामीको उपचारका लागि सर्किजल भवनको प्राङ्गणमा छिरेका चिकित्सकलाई समेत प्रहरी अनि अस्पतालका सुरक्षा गार्डले रोकेका थिए।

बिरामीको उपचार गर्न जान समेत दिइएन

कार्यक्रम चलिरहँदा सर्किजल भवनको मूल गेटमा एक सिनियर शल्य चिकित्सक छिरे। ती चिकित्सक कार्यक्रम स्थलमा जान लागेका थिएनन्। उनी अस्पतालको गेटबाट छिरेर सुई सुई हिँड्दै प्रधानमन्त्री देउवा सवारी भएको मूल ढोकाभन्दा अर्को सानो ढोकामा पुगे।

उनले सुरक्षा गार्डलाई हिजो मात्रै शल्यक्रिया गरेका बिरामी भएकाले ती बिरामीको स्वास्थ्य अवस्था जाँचका लागि राउन्ड लिन जान दिन अनुरोध गरे। केही बेर अनुरोध गरे पनि माथिको आदेश भन्दै सुरक्षा गार्डले उनलाई भित्र जान दिएन। उनी फर्किए।

उकेरासँगको अनौपचारिक कुराकानीका क्रममा ती चिकित्सकले भने,‘हिजो मात्रै अप्रेशन गरेको थियो। आज राउन्ड लिन जान पर्छ। जानै दिइएन।’

अस्पतालका अर्का एक चिकित्सकसँग बेलुका सम्पर्क गर्दा दुई बजेपछि चिकित्सकलाई सर्किजल भवनमा बिरामीको हेरचाहका लागि राउन्ड लिन जान दिएको थियो। ती चिकित्सकले भने,‘अप्रेशन गरेको बिरामी त्यहीँ (सर्किजल भवनमा) राखिन्छ। दिनको एक पटक राउन्ड गर्नुपर्छ। दुई बजेपछि राउन्ड लिन जानुभयो।’

यति सम्मकी कोरोनाको लक्षण भएका बिरामी अस्पतालमा पिसिआर परीक्षणका लागि पुग्दा समेत पिसिआर गरिएन। अस्पतालका उप–सचिव सागर मिश्रका अनुसार सर्किजल भवनको भुईँ तलामा अल्ट्रा साउन्ड (यूएसजी), पिसिआर परीक्षण तथा कोरोना भाइरस सङ्क्रमित व्यक्ति तथा पोस्ट कोभिडका लागि स्वास्थ्य जाँच सेवा सञ्चालित छन्।

त्यसै गरी एमआरआइको लागि समय लिने, रिपोर्ट लिने र सर्किजल भवनमा सेवा लिनका लागि रकम भुक्तानी गर्ने बैङ्क काउन्टर सर्किजल भवनको सोही भुईँ तला हो। तर, ती सम्पूर्ण सेवा बिहीबार कार्यक्रम अवधिभर बन्द हुँदा बिरामीलाई सास्ती भएको थियो।

सर्किजल भवनमा अस्पतालले वार्षिक उत्सव मनाइरहँदा त्यहाँ त बिरामीले दुःख पाउनु पर्यो नै। यता वीर अस्पतालको पुरानो भवनमा स्वास्थ्य जाँच तथा उपचारका लागि पुगेका बिरामीले पनि दुःख पाउनुपर्यो।

उता सर्किजल भवनमा कार्यक्रम भइरहँदा यता वीरको पुरानो भवन अगाडी टिकट काउन्टर खुलिहाल्छ की भन्ने आशाले बिरामीहरू कुरेर बसेको देखिन्थ्यो। तर, उप–सचिव मिश्रका अनुसार बिहान ११ बजे नै अस्पतालको ओपिडी टिकट काउन्टर बन्द भइसकेको थियो। 

मिश्रले भने,‘११ बजेसम्म (ओपिडी) टिकट काटिएको थियो। नियमित त तीन बजेसम्म हुन्छ, टिकट काट्ने काम।’अस्पतालको अघिल्ला वार्षिक उत्सवहरूमा पनि ११ बजेपछि ओपिडी टिकट काउन्टर बन्द हुँदै आएको अस्पताल स्रोतले बताएको छ।

तर, टिकट लिन काउन्टर अगाडि बसेका बिरामीलाई किन टिकट काउन्टर बन्द भएको हो? जवाफ दिने कोही भएन। एक जना करिब ४५ वर्षकी देखिने महिला पनि टिकटको पर्खाइमा थिइन्। तर ती महिलालाई टिकट काउन्टर खुल्ला की भन्ने आस रहेछ। ओपिडीको टिकट लिन बस्नुभएको हो? भन्ने जिज्ञासामा प्रस्ट नेपाली भाषा बोल्न नजान्ने ती महिलाले भनिन्,‘हो। कतिखेर खुल्छ।’

अस्पताल भित्र कार्यक्रम गर्न पाइन्छ?

सामान्यतः अस्पतालको वरिपरि समेत ठुलो स्वरमा हल्ला समेत गर्न पाइँदैन। अस्पताल प्राङ्गणमा ‘साइलेन्स’ बस्नुपर्ने हुन्छ। अस्पताल वरिपरि सवारीसाधनको हर्न बजाउन निषेध गरिएको हुन्छ। तर, बिरामीलाई सेवा दिनुपर्ने अस्पताल (सर्किजल भवन) भित्रै माइकको ठुलो आवाजका साथ कार्यक्रम भयो।

कार्यक्रममा प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति लगायतले ठुल-ठुलो स्वरमा भाषण गरेर गए।

अस्पतालका अन्य तलामा बेडमा बिरामी थिए। कार्यक्रम स्थलमा भएको ठुलो हल्लाको ध्वनि बिरामीसम्म पुग्न रोकावट थिएन। तर, त्यो विषय कार्यक्रम आयोजक अस्पताल र अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र कुमार बस्नेतले बेपर्बाह गरेको देखिन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पूर्व निर्देशक डा. बाबुराम मरासिनी त्यसरी बिरामीलाई नकारात्मक प्रभाव पर्ने गरी कार्यक्रम गर्न उचित नहुने सुझाव दिन्छन्।

डा. मरासिनीले भने,‘त्यहाँ (अस्पताल भित्र) कार्यक्रम नगरेको भए हुन्थ्यो। अन्तै गरेका भए हुन्थ्यो।’

बिरामीलाई अप्ठ्यारो हुने गरी त्यस्ता कार्यक्रम गर्न नहुने उनले बताए। बरु पैसा खर्च गरेर बिरामीलाई असर नपर्ने गरी अस्पताल भन्दा बाहिर कतै कार्यक्रम गर्नु उचित हुने डा. मरासिनीको सुझाव छ।

‘जहिले पनि हामीले बिरामीलाई केन्द्रविन्दूमा राखेर विरामलाई असुविधा हुने गरी कुनै पनि काम नगर्दा राम्रो हुने हो’ उनले भने।

बिरामीलाई सेवा दिनुपर्ने स्थानमा सेवा समेत रोकेर कार्यक्रम गरेकोप्रति स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीसँग कुरा गर्दा प्रधानमन्त्री नै कार्यक्रमको अतिथि भएकाले यो विषय अस्पताल निर्देशकलाई नै सोध्न अनुरोध गरे। ती कर्मचारीले भने,‘सम्माननीय (प्रधानमन्त्री) जानुभएको कार्यक्रममा हामीले के बल्ने।’

आफ्नै कार्यक्रममा छिर्न कर्मचारी रोक

त्यसो त कार्यक्रम स्थलमा केही कर्मचारी प्रधानमन्त्री पुग्नु पूर्व नै छिरिसकेका थिए। त्यसपछि भने अस्पतालकै कर्मचारीलाई समेत कार्यक्रम स्थलमा प्रवेश गर्न दिइएको थिएन। अस्पतालका अर्का एक उच्च तहका कर्मचारीका अनुसार प्रहरीले बिहान सात बजेदेखि सर्किजल भवन नियन्त्रणमा लिएको थियो।

ती कर्मचारीले भने,‘उनीहरू (प्रहरी) ले बिहान सात बजेदेखि नियन्त्रणमा लिएका। हामीलाई चाहिँ आइडिकार्डसम्म देखाएर जान दिए।’

अस्पतालको कर्मचारीको एक समूहले आफ्नै अस्पतालको आफ्नै कार्यक्रममा समेत जान नदिने? भन्दै केही बेर प्रहरीसँग वादविवाद गरेपछि भने कर्मचारीको एक समूहलाई प्रहरीले प्रवेश गर्न दिएको थियो। प्रधानमन्त्री देउवा कार्यक्रम स्थलमा रहुन्जेल प्रहरीले कर्मचारी प्रवेशलाई निक्कै कडाइ गरेको थियो।

साउन १२, २०७९ बिहीबार २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।