अभिनेत्रीमाथि यौन दुर्व्यवहारको अर्को घटना पनि पुग्यो अदालत

अभिनेत्रीमाथि यौन दुर्व्यवहारको अर्को घटना पनि पुग्यो अदालत

काठमाडौँ : हलमा फिल्म प्रमोसन गर्न गएको बेलामा दर्शकबाट यौन दुर्व्यवहार भएको भन्दै अभिनेत्री मिरुना मगरले चड्कन हानिन्। चड्कन खाने परे बौद्ध भिक्षु। घटनाको क्लिपहरू टिकटकमा भाइरल भएपछि केही बुद्ध धर्मावलम्बीहरूले यसलाई इस्यु बनाएर विवाद बढाए।

फिल्म ‘कबड्डी ४’ रिलिजको समयमा हलमा भएको घटनामा मिरुनाले उजुरी पनि दिइन। उजुरीपछि प्रहरी हिरासतमा रहेका फुर्वा साङ्गो तामाङ हिरासतमुक्त भए। उनले मिरुनासँग माफी मागेसँगै यो प्रकरण सेलाएन पुन बल्झियो। तामाङले आफूले यौन दुर्व्यवहार गर्दै नगरेको उनको तर्क थियो। बिचमा विवाद भए पनि यो केस सेलाइसकेको थियो। यसलाई पुन तामाङले नै ब्युँताएका छन्।

उनले मिरुना र प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध बिहीबार काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी निवेदन दर्ता गराएका छन्। निवेदनमा उनले मिरुनालाई सार्वजनिक रूपमा माफी माग्न भन्दा पनि नमानेको भन्दै दुबैलाई कानुन अनुसार कारबाहीको माग गरिएको छ।

सहमतीपछि मिरुना र फुर्बा

यस अगाडि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्स्टाग्रामबाट आफूले फिल्म क्षेत्रमा भोगेको यौन दुर्व्यवहारका घटना सार्वजनिक गरेपछि उनी विरुद्ध प्रतिष्ठामा आँच पुर्याएको दाबी गर्दै भुवन केसी काठमाडौँ जिल्ला अदालत गएका थिए। उनीहरूको मुद्दा जारी छ। सरकारले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षको जिम्मेवारी दिइसकेको छ।

साउन १२, २०७९ बिहीबार १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।