इराकमा उच्च सुरक्षा घेरा तोडेर संसद् भवन छिरे प्रदर्शनकारी

इराकमा उच्च सुरक्षा घेरा तोडेर संसद् भवन छिरे प्रदर्शनकारी

एजेन्सीः इराकको राजधानी बग्दादमा प्रदर्शनकारीहरू उच्च सुरक्षा घेरा तोडेर संसद् भवन छिरेका छन्। धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरू सुरक्षाकर्मीको घेरा तोडेर संसद् भवन छिरेका हुन्।

उनीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेर रोक्ने प्रयास गरे पनि अन्ततः उनीहरू संसद् भवनभित्र छिर्न सफल भएको एएफपीले लेखेको छ।

उनीहरूले प्रधानमन्त्री पदमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्। गत अक्टोबरको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन।

तर प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा सांसदहरू भने थिएनन्। सो भीड सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहने ग्रीन जोनमा प्रवेश गरेको थियो। यो क्षेत्रमा विभिन्न देशका दूतावासहरूसहित राजधानीस्थित सबैभन्दा महत्त्वपूर्ण भवनहरू छन्।

इराकका प्रधानमन्त्री मुस्तफा अल–खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न आग्रह गरेका छन्। भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलहरूमा सुतेका थिए।

इराकमा विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन।

इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका शिया धर्मगुरु सदरको दलले अक्टोबरको निर्वाचनमा जीत हासिल गरेको थियो। तर, आफ्ना प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन सकेको छैन।

साउन १२, २०७९ बिहीबार ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।