तेलुगु चलचित्र उद्योग 'रिस्ट्रक्चर' गर्न भन्दै अगस्ट १ बाट सबै फिल्मको शुटिङ बन्द
एजेन्सीः तेलुगु चलचित्र उद्योगमा अगस्ट १ बाट कुनै पनि चलचित्रको शुटिङ नहुने भएको छ। चलचित्र उद्योगलाई नै 'रिस्ट्रक्चर' गर्न भन्दै शुटिङ बन्द गर्ने निर्णय गरिएको एक्टिभ तेलुगु फिल्म प्रोड्युसर्स गिल्डले जनाएको छ।
गिल्डले एक विज्ञप्ति जारी गरेर यस्तो निर्णय सार्वजनिक गरेको हो। विज्ञप्तिमा उल्लेख भएअनुसार कोरोना महामारीपछि फिल्मको बढ्दो बजेट र सिनेमा हलमा हुने गरेको कमाइका सन्दर्भमा फिल्मकर्मीहरूले भोगेको समस्या छलफल गर्न आवश्यक भएकाले यस्तो निर्णय गरिएको हो।
विज्ञप्तिअनुसार गिल्डमा आवद्ध सबै निर्माताहरूले अगस्ट १ बाट काम गर्ने अनुकूल वातावरण फेला नपारेसम्म शुटिङ रोक्ने निर्णय गरेका हुन्।
यो निर्णयले महेश बाबु, जुनियर एनटीआर र प्रभास जस्ता ठूला स्टारको फिल्मलाई प्रभाव पार्ने देखिएको छ। तेलुगु उद्योगले महामारीपछि 'आरआरआर' र 'पुष्पा: द राइज' जस्ता दुई ठूला ब्लकबस्टर फिल्म दियो। यी र कन्नड फिल्म 'केजीएफ २' बाहेक अन्य फिल्मको थिएटरबाट हुने कलेक्सन भने २० प्रतिशतले ओरालो लाग्यो।
त्यसमाथि ओटीटी र अन्य अनलाइन माध्यमबाट फिल्म दर्शकसामु पुग्दा आम्दानी घटेकाले यस उद्योगका निर्माताहरू अहिले ठूलो चिन्तामा परेका छन्।
साउन १२, २०७९ बिहीबार ०९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।