धनगढीका मेयर फोहोर मैला व्यवस्थापन, शिक्षा र स्वास्थ्यबारे सिक्न भक्तपुर आए
भक्तपुर : फोहोर मैला व्यवस्थापन, शिक्षा र स्वास्थ्यबारे सिक्न धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमाल भक्तपुर नगरपालिकामा आएका छन्।
फोहोर मैला व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको नमुना काम सिक्न र अध्ययन गर्न हमालले बुधवार भक्तपुर नगरपालिकाको अवलोकन गरे।
२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर उनी विजयी भएका थिए। हमालले भ्रमणको क्रममा भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिसँग भेट गरेका थिए।
भेटको क्रममा हमालले आफ्नो क्षेत्रको फोहोर मैला व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका समस्या र त्यससम्बन्धी आफ्नो आगामी योजनाबारे विस्तारमा उल्लेख गरेका थिए।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित फोहोर मैला व्यवस्थापन, शिक्षा र स्वास्थ्यको अवस्था र अन्य गतिविधिबारे नगर प्रमुख प्रजापतिले हमाललाई जानकारी गराएका थिए।
‘सरसफाइ र फोहोर व्यवस्थापनमा भक्तपुर नगरपालिकाले गरेको कामको व्यापक चर्चा छ। शिक्षा, स्वास्थ्य क्षेत्र, मौलिक संरचना, रोजगारीको सन्दर्भमा पनि यस नगरपालिकाको चर्चा सुनिन्छ’ भेटमा हमालले भने, ‘यसै गरी हामी पनि आफ्नो क्षेत्राधिकारको फोहोर मैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य आदी क्षेत्रको विकासका लागि सहकार्य र सिक्न चाहन्छौ।’
भक्तपुर नगर प्रमुख प्रजापतिले फोहोर मैला व्यवस्थापनसम्बन्धी अघिल्लो कार्यकालदेखि लागु गर्दै आएको तरिकाबारे सुनाएका थिए।
भक्तपुर नगरपालिकाले स्वास्थ्य केन्द्र हुँदै १ सय शैयाको ख्वप अस्पतालमार्फत स्वास्थ्य सेवा सुरु गरिसकेको र सस्तो र स्तरीय सेवा पाइरहेको बताएका थिए।
‘भक्तपुर नगरपालिकाले चार वर्ष अघिदेखि कुहिने र नकुहिने फोहोरलाई स्रोतबाटै छुट्याउदै आएको छ। स्रोतबाटै छुटिएको फोहोर सङ्कलन गर्न नगरपालिकाले अलगअलग दिन गर्दै आएको छ भने कुहिने फोहोरबाट कम्पोस्ट मन उत्पादन गरी किसानहरूलाई सस्तोमा बिक्री सुरु गरिसकेको छ। नकुहिने फोहोरबाट इट्टा र अन्य सामानहरू उत्पादन गरिरहेको छ’ प्रजापतिले भने, ‘शिक्षा, स्वास्थ्य र विकास निर्माणको सन्दर्भमा भक्तपुर नगरपालिकाका जनताले आर्थिक र भौतिक सहयोग र श्रमदान गर्छन्। हामी कुनै पनि दातामा निर्भर हुँदैनौ।’
भेटवार्तापछि प्रजापतिले धनगढी उप महानगरपालिकाका मेयरलाई भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेज घुमाएका थिए।
साउन ११, २०७९ बुधबार १९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।