एसइइको नतिजा सार्वजनिक : नौ हजारले ल्याए ३.६ देखि ४ जिपिए

एसइइको नतिजा सार्वजनिक : नौ हजारले ल्याए ३.६ देखि ४ जिपिए

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइइको नतिजामा ३.६ देखि ४ जिपिएसम्म ल्याउने विद्यार्थीको सङ्ख्या नौ हजार ६ सय ३३ रहेको छ।

बुधवार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा  एसइइको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा ४ लाख ९५ हजार ७ सय ५१ जना विद्यार्थी सहभागी थिए।

बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो। एसईईमा ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जिपिए र ९० हजार ७५८ जनाले २.४ देखि २.८० जिपिए ल्याएका छन्।

सबैभन्दा धेरै एक लाख १२ हजार ७ सय ३३ जनाले २ देखि २.४ जिपिए ल्याएका छन्। एक लाख ५ सय ९४ जनाले १.६ देखि २ जिपिए ल्याएका छन्। ४४ हजार ५ सय ८६ जनाले १.२ देखि १.६ जिपिए ल्याएका छन् भने ०.८० जिपिएदेखि १.२ जिपिए ल्याउनेको सङ्ख्या तीन हजार २८० रहेको बोर्डले जानकारी दिएको छ।

एसइइको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसएमएस र आईभीआरबाट हेर्न सकिन्छ।

साउन ११, २०७९ बुधबार १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।