बुटवल उपमहानगरले घटायो करको दर
बुटवल : बुटवल उपमहानगरपालिकाले करको दरमा हेरफेर गरेको छ। आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत आर्थिक ऐन २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार बैठकी कर लगायतमा दर घटाइएको छ। यी करका दर यही साउन १ गतेदेखि लागू भएका छन्।
सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटेको छ। यसअघि १० हजार रुपैयाँ घरबहाल लिनेले १ हजार रुपैयाँ घरबहाल कर तिर्नुपर्नेमा अब ९ सय रुपैयाँ तिरे पुग्नेछ।
सम्पत्ति कर सम्पत्तिको मूल्य अनुसार १ सय रुपैयाँदेखि ४९ हजार ५ सय रुपैयाँसम्म कायम गरिएको छ। ५ लाख रुपैयाँसम्म करयोग्य सम्पत्ति भएमा १ सय रुपैयाँ र ५ करोडदेखि माथि भएमा प्रतिहजारको २ रुपैयाँका दरले सम्पत्ति कर तिनुपर्ने छ।
यस्तै, इरिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरण वापत ५ सयका दरले १ हजार रुपैयाँ तिर्दै आएकोमा चालु आर्थिक वर्षमा ३ सयका दरले ६ सय रुपैयाँ बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख दामोदर ज्ञवालीले बताए।
उनका अनुसार चालु आर्थिक वर्षको मंसिरदेखि लागू हुने गरी हाटबजार बैठकी कर १० देखि १८ प्रतिशतसम्म घटेको छ।
यसअघि रेडिमेड कपडा पसलले हाटबजार बैठकी कर वापत १३० रुपैयाँ तिर्दै आएकोमा मंसिरदेखि १ सय १५ रुपैयाँ र १ सय रुपैयाँ तिर्ने तरकारी पसलले ९० रुपैयाँ तिरे पुग्ने उनले बताए।
यस्तै, महिला, अल्पसंख्यक र अपांगता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट भएको छ।
यस्तै, सडक विस्तारका कारण व्यवसाय सञ्चालनमा कठिनाइ व्यहोरेका चौराहादेखि गोलपार्कसम्मका राजमार्ग मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने भएका छन्।
ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरुमा सम्पत्ति कर असुली गर्दा सम्पत्ति मूल्यांकनमा ७५ प्रतिशत छुट गरिने भएको छ।
यस्तैगरी, नागरिकता, अपांगता, जेष्ठ नागरिक परिचय पत्रसहित १३ प्रकारका सिफारिस दस्तुर नि:शुल्क गरेको ज्ञवालीले जानकारी दिए।
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ। नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।
उनले राजस्व परामर्श समितिको सिफारिस अनुसार चालु आर्थिक वर्षको राजस्व संकलनको प्रक्षेपण गरिएको बताए। यसअघि ७१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा ५३ करोड रुपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख ज्ञवालीले बताए।
साउन ११, २०७९ बुधबार १५:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।