#metoo मैत्री सरकार : अन्त यौन दुर्व्यवहारको आरोप लागे पद जान्छ, नेपालमा आरोप लागे पद आउँछ

#metoo मैत्री सरकार : अन्त यौन दुर्व्यवहारको आरोप लागे पद जान्छ, नेपालमा आरोप लागे पद आउँछ
तस्बिर : दिपज्योति थापाको फेसबुकबाट

काठमाडौँ : सार्वजनिक पदमा रहेकाहरूमाथि सामान्य आरोप लाग्दा समेत राजीनामा दिने गरेका सामाचारहरु प्रशस्तै आइरहेका हुन्छन्। यौनहिंसाविरुद्ध चलेको मिटु अभियानमा धेरै नेता, कलाकार अनि खेलका प्रशिक्षकहरूमाथि यौन दुर्व्यवहारको आरोप सार्वजनिक भएपछि उनीहरूले राजीनामा दिए।

जस्तो अमेरिकाको न्युयोर्क गभर्नर यन्ड्र्यु कक्वामो। उनीमाथि यौन दुर्व्यवहारको आरोप सार्वजनिक भएपछि राजीनामा दिएका थिए। तर नेपालमा भने उल्टो भएको छ। यहाँ यौन दुर्व्यवहारको आरोप लागेकाले सार्वजनिक पदबाट राजीनामा दिएको हैन कि यौन दुर्व्यवहारको आरोप लागेकालाई सरकारले सार्वजनिक पदमा नियुक्त गरेको छ। 

आरोपी भुवन केसी जो बुधबारबाट नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष भएका छन्। आरोप लगाउने अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह जो नेपाली चलचित्र क्षेत्रकी परिचित अभिनेत्री।

उनले अभिनेता तथा फिल्म निर्माता भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको विवरण इन्स्टाग्रामबाट सार्वजनिक गरेकी थिइन्।सोही आरोपले मानहानी भयो भन्दै केसीले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्धा विचाराधिनै छ। उनै आरोपीलाई सरकारले सोमबार चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्यो र उनले बुधबार काम सुरु गरे।

उनी कपनमा रहेको बोर्डको कार्यालयमा समर्थकहरूसहित गएर पद ग्रहण गरे। सोमबार सरकारले बोर्डको अध्यक्षमा आवेदन दिएका १० जनामध्ये केसीलाई नियुक्त गर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमा विरोध भएको थियो।

यौन दुर्व्यवहारको आरोपीलाई सरकारले बोर्ड अध्यक्षमा नियुक्त गरेको भन्दै आलोचना भए पनि न सरकारलाई कुनै फरक पर्यो नै भुवन र उनका समर्थकलाई।

उनको नियुक्तिप्रति केही चलचित्रकर्मी मौन छन्। केहीले खुलेर बधाई दिइरहेका छन्। बधाई दिनेमा रङ्ग पत्रकारहरूको सङ्ख्या अलि बाक्लो देखिन्छ। उनीहरूले सामाजिक सञ्जालमा केसीको तस्बिर राख्दै बधाई दिइरहेका छन्।

स्थानीय तह निर्वाचन अगाडि मात्रै केसी एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए। उनलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवा, नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँ लगायतको समर्थन रहेको सार्वजनिक भएको थियो। केसीले बोर्ड अध्यक्षमा आवेदन दिएसँगै उनका छोरा अनमोलले बानियाँको आफन्तको फिल्ममा अभिनय गर्न सहमति गरेका थिए। यसलाई पनि उनको नियुक्तिको सर्तको रूपमा हेरिएको छ।

बोर्ड परिसरमा पूजापाठ

बुधवार बिहान १० बजे नै उनले पदको जिम्मेवारी लिने भनिएको थियो। उनी समयमै बोर्डको कार्यालय पुगेका पनि थिए।

यस अगाडि नियुक्त भएकाहरू सरासर कार्यकक्षमा गएर जिम्मेवारी लिने गरे पनि उनले भने बोर्डकै प्राङ्गणमा पूजापाठ गराएर, साइत हेराएर मात्र कार्यालय प्रवेश गरेका थिए।

बोर्ड अध्यक्षको जिम्मेवारी लिएपछि उनले आफू फिल्म क्षेत्रको हितका लागि सहिद हुन पनि तयार रहेको र आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोप गलत भएको दाबी गरेका थिए।

साउन ११, २०७९ बुधबार १२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।