दीपाश्रीको इखमा पर्दा जितु निकालीए छक्का पन्जा सिरिजबाट
काठमाडौँ : ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्म जितु नेपाल, दीपकराज गिरी र दीपाश्री निरौला सँगै काम गरे। यी फिल्ममा जितु मुख्य कलाकारै रहे। तर छक्का पन्जा ४ मा आएर जितु टिमबाट बाहिरिएका छन्।
दीपा-दीपक टिमबाट जितु निकालिनुको कारण दीपासँग जोडिएको देखिन्छ। जितुले आफ्नै नाममा कमेडी शो ल्याए नेपाल टेलिभिजनमा। जहाँ हाँस्ने जिम्मेवारी दीपाले पाइन। पछि बिचैमा दीपाको साटो करिष्मा मानन्धरलाई ल्याए उनले।
त्यसपछि खटपट भएको सम्बन्ध निकटबाट परिचित मात्र बनेको देखिन्छ। अहिले दिपा अर्को कमेडी शोमा हाँस्ने जिम्मेवारीमा छिन्। जितुको चलिराख्या शो पनि बन्द भो। नेपाल टेलिभिजनमा केदार कमेडी हब चलाएर बस्याछन्।
फिल्मको कार्यकारी निर्माता समेत रहेका केदार घिमिरे जितुलाई गीतमा मात्रै भए पनि देखाउन खोजेको तर कथाले नमिलेको कुतर्क गरिरहेका छन्।
एउटा फिल्ममा नहुँदैमा व्यक्तिगत सम्बन्धै सकिएको नहुने जितु अनि दीपक दुवैले दाबी गर्छन्। तर जे तर्क गरे पनि जितु दिपा-दीपक-केदारको टिममा छैनन्। सम्बन्ध औपचारिक मात्रै बनेको त छक्का पन्जा ४ को घोषणा कार्यक्रममा शुभकामना दिन आएका जितुको अवस्थाले नै देखाएकै हो।
जे होस् जितु ठुस्स परेर बसेनन्। बैगुनीलाई गुनले मार्नु भनेजस्तै उनी आफू फिल्ममा नभए पनि कार्यक्रममा बुके बोकेर गए। उनले दिएको शुभकामना दीपक र केदारले लिए। दीपा देखिइनन्। इख अलि कडै देखियो दीपाको।
साउन १०, २०७९ मंगलबार ००:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।