आँखी भौँ फालेर जुँगा पाल्ने यी भारतीय महिला

आँखी भौँ फालेर जुँगा पाल्ने यी भारतीय महिला

एजेन्सी : जुंगावाली एक महिला पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेकी छन्। आँखी भौँ फालेर जुँगा पालेकी भारत केरलाकी ती महिला सामाजिक सञ्जालमा भाइरल बनेकी हुन् ।

केरलाको कन्नुर जिल्लाकी ३५ वर्षीया सायजा नामकी ती महिलाले सामाजिक सञ्जालबाट प्रशंसा र आलोचना दुवै बटुलिरहेकी छन्। आफ्नो नामको पछाडि थर राख्नसमेत नरुचाउने उनी आफूलाई शानसँग जुँगा पाल्न मन पर्ने बताउँछिन्।

सामाजिक सञ्जाल ह्वाट्सअपमा आफ्नो तस्बिर अपलोड गर्दै उनले लेखेकी छन्, ‘मलाई शानकासाथ जुँगा पाल्न मन पर्छ र मेरो जुँगा मन पर्छ ।’

सायजाको माथिल्लो ओठमा अन्य महिलाहरूको जस्तै ससाना रौहरु उम्रिएका थिए। उनका महिला साथीहरूले पार्लरमा गएर ओठमा उम्रेको रौँ र आँखीभौँ फाल्ने गर्थे। तर सायजा आफुभने आँखीभौँ फाले पनि ओठको रौँ फाल्न कहिल्यै जरुरी नठानेको बताउँछिन्।

‘पाँच वर्ष अघिसम्म मेरो ओठमा पातलो रौहरु मात्र थियो। तर बिस्तारै ती रौँ बाक्लो बन्दै गए र मैले जुँगा पाल्ने निधो गरे’ उनले भनिन्, ‘पार्लरमा थ्रेडिङ गर्न जाँदा आँखीभौँ फाले पनि ओठमा पलाएको रौँलाई फाल्न जरुरी ठानिन। पुरुषलेझै जुँगा पाल्न उचित ठाने। सबैले मलाई जुँगा फाल्न सुझाउँछन् तर मलाई भने जुँगाबिना असहज महसुस हुन्छ। मलाई मेरो जुँगा फाल्न मन छैन।’

जुँगाले आफूलाई कुरूपको सट्टा थप सुन्दर बनाएको उनी बताउँछिन्।
पछिल्लो समय महिलाले आफूलाई सुन्दर राख्ने नाममा विभिन्न किसिम र ब्रान्डका कस्मेटिक सामानहरू प्रयोग गर्ने र ठुलो रकम खर्च गर्ने प्रचलन भए पनि केही महिलाले भने त्यस प्रचलनको विपरीत निर्णय लिने गरेका छन्।

यसअघि सन् २०१६ मा बडी पोजिटिभिटीको प्रचार गर्दै आएकी बेलायतकी हरनाम कौरले आफ्नो अनुहारभर दाह्री जुँगा पालेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी थिइन्। 

साउन ९, २०७९ सोमबार १९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।