आङ साङ सुकी निकट चार अभियन्तालाई मृत्युदण्ड

आङ साङ सुकी निकट चार अभियन्तालाई मृत्युदण्ड

एजेन्सी :  म्यानमारको  सैन्य सरकारले चार अभियन्तालाई मृत्युदण्डको सजाय सुनाएको छ । सैन्य शासन विरोधको आरोपमा नोबेल पुरस्कार विजेता एवम् म्यानमारकी अपदस्थ पूर्व नेतृ  आङ साङ सुकी निकट चार अभियन्तालाई सरकारले मृत्युदण्डको सजाय सुनाएको हो । 

जसमा आङ साङ सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीका पूर्व विधायक फ्यो जेया थो, प्रजातान्त्रिक अभियन्ता किव मिन यु, ह्ला म्यो आङ  र आङ थुरा जोलाई सरकारले सो सजाय सुनाएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ ।  

म्यानमारको स्थानीय अखबार ग्लोबल न्यु लाइट अफ म्यानमारमा सोमबार प्रकाशित समाचार उद्धृत गर्दै अलजजिराले खबर प्रकाशन गरेको छ । खबरअनुसार मृत्युदण्ड सुनाइएका चार पुरुष अभियन्तामाथि सरकारले हिंसात्मक एवम् अमानवीय कार्यमा संलग्न भएको र आतंकवादविरुद्धको कानुन उल्लङ्घन आरोप  लगाएको छ । 

म्यानमार सेनाले गएको वर्ष फेब्रुअरी १ मा सैन्य कु घोषणा गरेको थियो । त्यसयता म्यानमारमा अस्थिरता, सैन्य अराजकता, हिंसात्मक घटनाले विकराल रूप लिएको छ । सैन्य शासनको विरुद्ध त्यहाँका जनताले विभिन्न प्रदर्शन र आन्दोलन चलाउँदै आएका छन् । सो प्रदर्शन र आन्दोलनमा संलग्न २१ सय भन्दा बढी मानिसको सुरक्षाकर्मीले हत्या गरेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले जनाएका छन् ।

साउन ९, २०७९ सोमबार १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।