कोभिड–१९ को संक्रमण पुनः बढेसँगै गण्डकीमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ

कोभिड–१९ को संक्रमण पुनः बढेसँगै गण्डकीमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ

पोखराः गण्डकी प्रदेशमा कोभिड–१९ को संक्रमणदर बढेपछि रोकथाम तथा नियन्त्रणका तयारी तीव्र पारिएको छ। गण्डकी प्रदेश सरकारको निर्देशनमा प्रदेशस्तरीय कोभिड–१९ नियन्त्रण निर्देशक समिति (सीसीएमसी)को बैठक बसेर आवश्यक तयारीमा जुटेको हो।

समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ। तर, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आफैँ संक्रमित छन्।

बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय, शिक्षण संस्था, धार्मिकस्थल र नियमित भीडभाड हुने मनोरञ्जनस्थल, गोष्ठी, सेमिनार, बैठकहरूमा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्थासँगै जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ।

संक्रमणको पछिल्लो बढ्दो अवस्थासँगै संक्रमण रोकथाम र जोखिम नियन्त्रणका लागि प्रदेशका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधि, उपकरण एवं जनशक्तिको व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ।

प्रमुख सचिव रविलाल पन्थका अनुसार मानिसहरूको जमघट र भीडभाड हुने स्थानमा नमूना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा फैलन नदिन सचेत गराउने र नियमित परीक्षणको दायरालाई बढाउने निर्णय पनि गरेको छ।

कोभिड- १९ विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न खोप नलगाएका, पूर्ण मात्राको खोप नलगाएका तथा अतिरिक्त बुस्टर मात्रा लगाउने समय भएका व्यक्तिहरूलाई खोप लगाउन अनुरोध गर्ने निर्णय भएको छ।

बैठकले कोभिड- १९ सम्बन्धी कुनै पनि जिज्ञासा भएमा एवं चिकित्सकीय सेवा आवश्यक परेमा निःशुल्क हटलाइन नम्बर ११३३ मा सम्पर्क गर्न र प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको निःशुल्क हटलाइन नम्बर १०९२ मा सम्पर्क गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

हाल गण्डकीमा १५७ जना सक्रिय संक्रमित छन्। प्रदेशमा हालसम्म एक लाख दुई हजार २४५ जना कोरोनाबाट संक्रमित भएकोमा एक लाख ६२१ संक्रमणमुक्त भएका छन्।

गण्डकीमा हालसम्म कोरोना संक्रमणबाट एक हजार ४६६ जनाले ज्यान गुमाएका छन्।

साउन ८, २०७९ आइतबार १३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।