फिल्म बनाउने दर्शकका लागि हो, तर दर्शकले जे हेर्न चाह्यो त्यही देखाउने पनि होइन: खगेन्द्र लामिछाने
नेपाली सिनेमामा नयाँ प्रयोग गर्न रुचाउने फिल्मकर्मीमा पर्छन् खगेन्द्र लामिछाने। नाटकघरमा मञ्चन भइसकेको नाटक 'पानीफोटो'लाई आधार बनाएर उनले फिल्म निर्देशनमा समेत हात हालिसकेका छन्। उनको काम भने हेर्न बाँकी छ।
स्याङ्जामा जन्मिएका खगेन्द्र, झुक्किएर कलाकार बनेको बताउँछन्। उनको कलाकारिता यात्राको किस्सा विभिन्न अन्तर्वार्तामा आइसकेको छ।
कसरी लेखक बने, कसरी रंगमञ्चमा छिरे, कसरी रेडियो नाटकको निर्देशक बने, अंग्रेजी नजाने पनि कसरी बीबीसीको जागिरे भए अनि कलाकार कसरी बने जस्ता प्रश्न खगेन्द्रलाई अब नौलो लाग्दैन। न त उनका फ्यानले यी जान्न बाँकी नै छ।
त्यसैले यो अन्तर्वार्ता उनको पहिलो फिल्म निर्देशनमा केन्द्रित छ। उकेराकर्मी पुष्पा थपलियाले खगेन्द्रसँग गरेको 'पानीफोटो' संवादको सम्पादित अंश:
अन्तर्वार्ता भन्नासाथ नयाँ कुराकानी गरौं भन्नुभएको थियो, एकै कुरा सोधेर हैरान बनाउँछन् है पत्रकारहरू?
(हाँस्दै) समय फेरिए पनि कुरा नफेरिने भएर हो कि! अब म फिल्मको निर्देशक भएँ। तर मेरो यात्राबारे सोध्दा स्याङ्जामा जन्मेको, विदेश जान लाग्दा बुवाले 'काम गर्न हैन, घुम्न जाने हो' भनेको, शिक्षकमा जागिर खान जाँदा नाम ननिस्केको, झुक्किएर रंगमञ्चमा पुगेको, साथीले फर्म भरिदिएर बीबीसीको जागिरे बनेको भन्ने कुरा नै आउने हुन्।
अहिलेका दर्शक निकै सचेत छन्। उनीहरू प्रि-प्लानका साथ फिल्म हेर्छन्। हाम्रो काम यत्ति हो कि, फलानो फिल्म, फलानो दिनमा आउँदैछ भनेर जानकारी दिने।
यदि मैले गरिरहेका वर्तमानका कामबारे कुराकानी भए नयाँ कुरा अवश्य आउला नि। होइन र?
औपचारिक रुपमा स्वागत छ यहाँलाई भनेर कुरा गर्ने चलन छैन फेरि!
जसरी सहज हुने हो, त्यसैगरी कुराकानी गर्ने नि। तर यहाँ त देखासिखी गर्ने चलन धेरै छ। सिकाउने मानिसको पनि गल्ती छ।
स्याङ्जाको स्थानीय रेडियोमा एक जना महिला समाचार भन्नुहुन्थ्यो। बुवाले समाचार धेरै सुन्ने भएकाले हामी पनि सुन्थ्यौं। उहाँले नेपाली समेत नबुझ्ने गरेर स्टाइलमा भन्नुहुन्थ्यो- 'प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बताउनुभएको स।'
'छ' लाई 'स' भन्ने चलन कताबाट आयो? एकपटक कामको सिलसिलामा म त्यो एफएम रेडियोमा पुगें। त्यो समाचार भन्ने बहिनी को हो भेटाइदिनुस् न भनें।
उहाँलाई भेटेपछि सोधें, यो छ लाई स भन्न कुन सरले सिकाउनुभयो? उहाँ हाँस्नु मात्रै भयो।
त्यहि त, यहाँ पनि अलि स्टाइल पारेर प्रश्न सोध्यो भने बोल्ड, खत्रा भन्ने चलन छ नि अहिले पनि,
छ, छ। स्टेजमा बसिरहँदा, पूरा स्टाइलमा प्रश्न आउँछ। हाँसो लाग्छ, तर कन्ट्रोल गर्नुपर्छ। आफ्नो भाषा कहिल्यै बिर्सन हुँदैन जस्तो लाग्छ। म स्याङ्जाको। त्यो चिज मेरो भाषामा आइहाल्छ, यसमा मलाई गर्व लाग्छ।
प्रचारप्रसार कत्तिको चल्दैछ, फिल्मको?
अहिलेका दर्शक निकै सचेत छन्। उनीहरू प्रि-प्लानका साथ फिल्म हेर्छन्। हाम्रो काम यत्ति हो कि, फलानो फिल्म, फलानो दिनमा आउँदैछ भनेर जानकारी दिने। तर पनि चलन छ विभिन्न युट्युबतिर अन्तर्वार्ता दिने। यसैलाई अगाडि बढाइँदैछ।
मैले बनाएको फिल्म सशस्त्र द्वन्द्वले जन्माएको कथा हो। तर यो द्वन्द्वको कथा भने हैन। त्यो समयको घटनाका कारण अहिले परेको प्रभावको कथा हो। घटना सशस्त्र संघर्षको हो, तर प्रभाव अहिलेको हो।
मेरो सबैभन्दा ऊर्जाशील समय प्रत्यक्ष, अप्रत्यक्ष रूपमा द्वन्द्वमा भासियो।
त्यो समयका कुरा मेरो दिमागमा 'सबकन्सियस माइण्ड'मा छ। हाम्रा पुस्तालाई यसले प्रभाव पारेको छ। समयले कथा जन्माएर जाने हो, त्यो भन्ने जिम्मा हाम्रा पुस्ताको काँधमा आएकाले एकैचोटी उस्तै कथा पोखिएका होलान्।
यो मलाई भन्न मन लागेर कथा भनेको हो। यस्ता फिल्म नचलेको वर्तमान अवस्था छ। यसले आर्थिक क्षय अवश्य होला, भनेजति कमाउन नसकिएला तर घरमै प्रडुसर, मलाई के को डर (हाँसो)।
द्वन्द्वका कथामा दर्शकले रमाइलो नमानेको देखिन्छ। यसलाई कसरी हेर्नुभएको छ?
यस्ता फिल्मको दर्शक सीमित छन्। यो कथा भन्ने बेला भएको छ या छैन, दर्शकले 'इन्जोय' गर्छन् या गर्दैनन् यो फरक पाटो हो। तर म स्टोरी टेलर भएकोले, मेकर भएकोले जे चिजले मनमा राम्रोसँग छोएको हुन्छ, यो कथा भन्नैपर्छ।
इन्जोय भन्ने कुरालाई 'आइडेन्टीफाइ' गर्न पनि गाह्रो छ। हामी 'ह्युमर'लाई इन्जोय मान्ने कि, 'इन्ट्रेस्ट'लाई? मानौं, म राजनीतिक समाचार पढ्दा इन्जोय गर्छु रे, सामाजिक कथामा बनेको यथार्थपरक फिल्ममा इन्जोय गर्छु रे। यसो भन्दैगर्दा हास्यव्यङ्ग्य भएका फिल्म, समाचारहरूमा मैले इन्जोय नगर्न पनि सक्छु।
मैले बनाएको 'टलकजंग भर्सेज टुल्के' फिल्मको कथा पनि सशस्त्र संघर्षसँगै जोडिएको छ। जसको पात्रलाई सबैले मन पराइदिनुभयो।
त्यो पात्र अहिलेसम्म पनि चर्चामै छ। द्वन्द्वको कथा भन्दा सकेसम्म सन्तुलित हुने हो। तर कुन समयमा कुन पात्रले कथा भनिरहेको छ, त्यसको हिसाबले पक्ष लिनपर्ने पनि हुनसक्छ।
मैले राज्य पक्षबाट पीडित भएकाको कथा भन्दा त्यसमा राज्य खलपात्र बन्नसक्छ। विद्रोही पक्षबाट पीडितको कथा भन्दा विद्रोही पक्ष खलपात्र बन्नसक्छ।
यो झट्ट हेर्दा बायस्ड देखिए पनि, कसको आँखाले कथा भन्छ भन्नेकुरा दर्शकले बुझ्नुपर्छ।
यतिबेला नाटकघरदेखि सिनेमाघरसम्मै द्वन्द्वका कथा भनिएका छन्, एकैपटक उही विधाको फिल्म ह्वार्रह्वार्ती आउनुको कारण चाहिँ के होला नि?
मेरो अनुभवले के भन्छ भने जुन समयमा देशमा द्वन्द्व चलेको थियो, त्यो समयका ऊर्जावान् मानिसहरूले अहिले यो कथा भनिरहेका छन्।
मेरै कुरा गर्ने हो भने, सशस्त्र संघर्षको समयमा म २० भन्दामाथि र ३० भन्दामुनिको उमेरमा थिएँ। मेरो सबैभन्दा ऊर्जाशील समय प्रत्यक्ष, अप्रत्यक्ष रूपमा द्वन्द्वमा भासियो।
त्यो समयका कुरा मेरो दिमागमा 'सबकन्सियस माइण्ड'मा छ। हाम्रा पुस्तालाई यसले प्रभाव पारेको छ। समयले कथा जन्माएर जाने हो, त्यो भन्ने जिम्मा हाम्रा पुस्ताको काँधमा आएकाले एकैचोटी उस्तै कथा पोखिएका होलान्।
अर्को कुरा, म चलिरहेको कलाकार हुँ, चलिरहेको लेखक हुँ। जेमा चलिरहेको छु, त्यसैमा धमाधम काम गरे भैहाल्थ्यो नि! तर म किन निर्देशनमा आएँ? केही चिज हुन्छन्, जसलाई भन्न भित्रैदेखि मन लाग्छ।
पानीफोटो पनि मेरो भित्री मनदेखि आएको कथा हो। बाल्यकालमा मामा हराएको कुरा सुनिरहें। मामाघरको हजुरआमा जेठो मामा हराएको कुरा गरिरहनुहुन्थ्यो। उहाँको कुरा सुनेर, मामा फर्केर आए, मेरा पनि तीन जना मामा हुने थिए, तीन जना मामाले एउटा-एउटा चकलेट दिए पनि तीन वटा हुनेथियो भन्ने मनमा पसेको थियो।
द्वन्द्वकालमा मेरो मामा हराएजस्तै धेरैका बाबुआमा, छोराछोरी बेपत्ता भए। ती परिवार पनि मेरी हजुरआमा जस्तै परिवार आउने बाटो कुरेर बसेका होलान् भन्ने भएर यो कथा भन्न मन लागेको हो।
यस्ता कथाले प्रत्यक्ष प्रभाव पारेका परिवारलाई पुरानो दिन सम्झायो भने नै फिल्म सफल हुने हो।
नाटक ३५ दिन सफलतापूर्वक मञ्चन भइसकेको थियो। फिल्म नै बनाउनुपर्छ भन्ने किन लाग्यो त?
नाटक सकिएपछि बाहिर आएर एक दर्शकले नाटकले पुरानो याद दिलाएको भन्दै आफ्ना पीडा सुनाउनुभयो। मनमा गुम्सेका पीडा सुनाएर केही हदसम्म हल्का हुनुभयो।
तिनको कुरा सुनिसकेपछि मलाई यो कथा मासमा भन्नुपर्छ भन्ने लाग्यो। मासमा कथा भन्ने भनेकै फिल्म बनाउने हो। त्यही समय मैले यो नाटकलाई फिल्म बनाउने सोचिसकेको थिएँ।
थियटरमा हेरिसकेको कथा हेर्ने हलसम्म किन जाने त?
यो प्रश्न मलाई धेरैले गर्नुहुन्छ भन्ने लागेको छ। त्यसैले मैले नाटकदेखि फिल्मसम्मको यात्राबारे किताब पनि लेखेको छु। जसमा नाटकको स्क्रिप्ट र फिल्मको स्क्रिप्ट दुवै राखेर फरक लेखिएको छ।
सिनेमा प्रर्दशनमा आएकै दिन किताब विमोचन गर्ने योजना थियो, तर कागज सर्टेज भएकाले ढिला भयो। फाइनप्रिन्टले भारत पठाएर पुस्तक छापेर नेपाल ल्याउनेछ अब।
नाटक र फिल्म फरक हो। नाटकमा सानो क्यानभासमा कथा भनिएको हुन्छ भने यहाँ ठूलो क्यानभासमा कथा भनिएको छ।
नाटक हेरेका दर्शकलाई फिल्म बिल्कुलै फरक लाग्नेछ। कथा त एकै हुने हुन्, प्रस्तुति फरक हुने हो। एकै कथालाई कसरी फरक तरिकाले प्रस्तुत गरिएको छ भन्ने कुरा दर्शकले महसुस गर्नेछन्।
तपाईंलाई नाटक सिकाउनुभएको गुरु अनुप बराललाई आफ्नो निर्देशनमा फिल्म गराउँदाको अनुभव कस्तो भयो?
मैले सुरुमै भनें- 'बाहिर तपाईं मेरो गुरु, म तपाईंको चेला। तर सेटमा तपाईं मेरो कलाकार, म तपाईंको निर्देशक। जेजस्तो आउँछ, पर्छ, मलाई छाडिदिनुस्।' उहाँले मज्जासँग मलाई उहाँ समर्पित गरिदिनुभयो।
मेरो स्ट्रेन्थ के हो भन्ने उहाँलाई थाहा छ। निर्देशक र कलाकारको सोचाइ मिल्दैन। सुरुमा केही अलमल पनि भएको थियो भनेर उहाँले अस्ति प्रेस मिटमा पनि भन्नुभएको थियो।
कलाकार अनुशासित अनि निर्देशकप्रति विश्वास गर्ने बित्तिकै मलाई खासै समस्या परेन। कलाकारको अनुशासनको कुरा आइहाल्यो, एउटा प्रसंग सुनाउँछु।
'डमरुको डन्डीबियो' फिल्मको शुटिङका लागि हामी घलेगाउँ गएका थियौं। कच्ची बाटो नै चार घण्टाको थियो। हाम्रो टोली पुग्दा राति ११ बजिसकेको थियो, थाकेका थियौं, आ–आफ्नो होमस्टेमा गएर सुत्यौं।
बिहान उठेर दाँत माझ्न लागेको एक हुल मानिस चर्काचर्की गरिरहेका रहेछन्। चितवनको एक कलेजले शैक्षिक भ्रमण लगेको रहेछ त्यहाँ।
रमाइला कथामा पनि फिल्म बनाउनपर्छ, सामाजिक यथर्थापरक कथामा पनि फिल्म बनाउनपर्छ। सामाजिक यथार्थपरक कथा हाम्रा मौलिक कथा हुन्। यस्ता फिल्मले अन्तर्राष्ट्रिय स्तरमा पनि कभरेज पाउनसक्छ।
केटीहरू चाँडै उठेर सनराइज हेर्न गएछन्, केटाहरू मात्रै त्यहाँ अड्केछन्। उनीहरूले शिक्षकसँग डिबेट गरिरहेका रहेछन्, त्यो केटीहरू, एक्लै एक्लै हिँड्ने, तलमाथि भयो भने को जिम्मेवार हुन्छ? कलेजको इमेज के हुन्छ? त्यैमाथि यो गाउँमा फिल्मको मान्छे आइरहेका छन् ऐले।
म त 'पज' भएँ। के रहेछ हाम्रो इमेज। यो त हाम्ले नै बिगारेको होला नि। फिल्मको निर्माता म हैन तर यसको मुख्य कलाकार हुँ। कसैले लिमिट क्रस गरेको थाहा पाएँ भने राम्रो हुनेछैन भनेर मैले भनें।
कलाकार कोही कोही त कार्यक्रममै झ्याप भएर जाने भएकाले पनि फिल्म क्षेत्र यस्ता कुरामा बदनाम भएको हो कि?
यो कुरा पनि व्यक्तिगत हो। तर धेरैले फिल्मको चरित्र हेरेर पनि जज् गरिरहेका हुन्छन्। फिल्ममा खलपात्र छ भने त्यसलाई त्यही नजरले घृणा गर्ने चलन पनि त बाँकी छ।
अर्को कुरा, फिल्ममा काम गर्नेहरू खेताला जस्ता भए। पारिश्रमिक लियो, काम गर्यो। काम सकियो, मेलो सकियो, सबै कर्तव्य सकियो।
यो तरिका सही होइन। खेताला हैन, अपनत्व महसुस गर्नपर्यो। यो फिल्म मेरो पनि हो भन्ने भावना पैदा गर्नपर्यो। आफूले निर्वाह गरेको पात्रलाई माया गर्नपर्यो।
मलाई मान्छेहरूले पशुपति प्रसाद हैन, टुल्के हैन भन्छन्। म हैन मेरो भाइ हो भनिदिन्छु। आवाज त तपाईंकै छ भन्छन्। अनि म एउटै आमाले जन्माको दाजु भाइको उस्तै त हुन्छ भनिदिन्छु।
कसैले पत्याउनु हुन्छ, कसैले पत्याउनुहुन्न। (हाँस्दै) धेरैले त मलाई चिन्दै चिन्नुहुन्छ।
अस्ति मलाई सार्वजनिक बस चढ्न मन लाग्यो। मास्क लगाएर महानगर गाडीमा चढें। अध्यारो हुँदै थियो। बाहिरका लाइट हेर्दै यात्रा गर्न मलाई यति रमाइलो लाग्यो कि कुरै छाडौं।
चाबहिलदेखि सामाखुशीसम्म बस चढें। भिडियो खिचेर इन्स्टाग्राममा पनि राखेको छु। मलाई कसैले चिन्नुभएन। खासमा कसैलाई कसैसँग मतलबै छैन नि। बस चढ्दा मज्जा लाग्यो, अब मौका मिलेसम्म सार्वजानिक बस चढ्छु।
कता पुगियो कता, विषयवस्तुतिर जाऔं। भूकम्प लगत्तै नाकाबन्दी भयो। फेरि कोभिडको मर्कामा परियो। कोभिड अझै छ, मूल्यवृद्धि पनि खेपिरहेका छौं। सिनेमाघरमा फेरि खाटा बसेको घाउ उप्काउन किन जाने, दुखी हुन किन जाने भन्ने सोच दर्शकमा देख्नुभएको छ कि छैन?
हो, हामी दुखी छौं। प्रकृतिक प्रकोपका कारण मात्रै हैन, हामी पहिलेदेखि नै दुखी हो। हाम्रो देश गरिब छ, हाम्रो मानव विकास सुचकाङ्क नै धेरै तल छ।
मुस्किलले सर्भाइभ गर्नपर्छ, त्यो आफ्नो ठाउँमा छ। यस्तो अवस्थामा आफ्नै जीवनको दुखी कथा हेर्न मन नलाग्न सक्छ। तर त्यो हेर्दा हामी किन दुखी भयौं? यस्ता यथार्थ कथाले नयाँ बाटो पक्रनसक्छ। त्यसैले ट्राई गर्नपर्छ।
रमाइला कथामा पनि फिल्म बनाउनपर्छ, सामाजिक यथर्थापरक कथामा पनि फिल्म बनाउनपर्छ। सामाजिक यथार्थपरक कथा हाम्रा मौलिक कथा हुन्। यस्ता फिल्मले अन्तर्राष्ट्रिय स्तरमा पनि कभरेज पाउनसक्छ।
अनि, तपाईं फिल्म हलमा किन जानुहुन्छ भन्ने बिल्कुल तपाईंको रोजाइ हो। अर्को कुरा, दर्शकले जे हेर्न चाहन्छन्, मैले त्यही बनाउनुपर्छ भन्ने पनि छैन। हो भोलि बजार केन्द्रित फिल्म पनि बनाइएला, तर पूर्ण रूपमा व्यापारको आँखाले मात्रै फिल्म बनाउँदिन।
मैले 'जय भोले' जस्तो फिल्म पनि खेलेको छु। अहिलेसम्म काम गरेको मध्ये धेरै कमाएको फिल्म यही हो। तर जति अरू फिल्मले मलाई चिनायो, पात्र अहिलेसम्म मन मस्तिस्कमा बस्न सफल छ, जय भोलेको छैन।
धेरैले तिमी जस्तो मानिसले यस्तो फिल्म किन खेलेको भनेर समेत भनेका थिए। किनभने सामाजिक कथामा फिल्म बनाउने मानिसलाई व्यावसायिक फिल्ममा देखेका थिए नि त।
फिल्म बनाउने त दर्शककै लागि हैन र?
हो, फिल्म बनाउने दर्शककै लागि हो। त्यसो भन्दैमा दर्शकले जे हेर्न चाह्यो, त्यही देखाउने भन्ने पनि हैन। मेकरले फिल्म अर्थसँग जोडिएकाले ध्यान चाहिँ दिनुपर्छ।
यसो भन्दैमा सामाजिक यथार्थपरक या द्वन्द्वको कथाले पैसै उठाउँदैन भन्ने धारणा भने हटाउनुपर्छ। 'टलकजंग भर्सेज टुल्के'ले त माओवादीकै कथा भने पनि पैसा उठाएको हो त।
बजारलाई ध्यान दिनैपर्छ। यो फिल्मले पैसा उठाएन भने अर्को फिल्म कसरी बनाउने? अस्ति प्रेस मिटमा एक जनाले प्रश्न गर्दै हुनुहुन्थ्यो- साउनमा फिल्म हेर्न कसरी आउने, पानी पर्छ!
पानीदेखि म डराएको छैन, उहाँ डराइरहनु छ। यसो भन्दैमा मैले फिल्म दर्शकका लागि बनाएको हो, उनीहरूको सहजता हेर्नपर्छ भनेर समय सार्ने कुरै भएन।
मेरो सफलता त दर्शक छाता ओडेर पनि फिल्म हेर्न आउनु हो नि। तपाईं र म मिल्ने साथी। मैले फिल्म हेरें, गज्जब लाग्यो। तपाईंलाई आएर भनें, पुष्पा जी फिल्म राम्रो छ, हेर्नुहोला। रुचि भए तपाईं छाता ओडेर भए पनि फिल्म हेर्न जाने हो नि, हैन र?
नेपालीहरू कस्ता फिल्म रुचाउँछन्, कस्ता फिल्मको टार्गेट अडियन्स को हुन् भन्ने विषयमा अनुसन्धान नभएको हो?
हामीले बीबीसीमा रेडियो नाटक बनाउँदा सामाजिक विकासका कथा भन्यौं। बुढादेखि बच्चासम्मले मन पराए। त्यो बेला टार्गेट अडियन्सको अनुसन्धान नगरेरै कथा भनिएको थियो। यसरी हेर्दा कथा कसरी भनिएको छ, त्यसले रुचि बढाउने हो जस्तो लाग्छ।
मान्छेको चाहना एकदमै लुकेको हुन्छ। तपाईंको मुखले एउटा बोलिरहेको हुन्छ, मनमा अर्कै हुन्छ। यस्ता कुरा कसरी पत्ता लगाउने? टार्गेट अडियन्स या अनुसन्धान भन्ने कुरा यो बडो रहस्यमय छ।
नयाँ पुस्ताहरू कस्ता एलिमेन्ट प्रयोग गरेको फिल्म हेर्न रुचाउँछन् भन्ने कुरामा भने अध्ययन हुन जरुरी छ। तत्कालीन समयमा मानिसको मनोविज्ञान कस्तो छ, किनभने यो त छिन छिनमा परिवर्तन भइरहन्छ। कुन बेला के क्लिक हुन्छ भन्ने कुराले अनुसन्धान प्रभावित हुन्छ।
नेपालमा मात्रै हैन, विश्वभर नै फिल्म भनेको प्रयोगशाला हो। नयाँ प्रयोग गर्दै जाने हो, आफूले गरेको प्रयोगमा सकेसम्म राम्रो गर्ने कोसिस गर्ने हो। कुनैले ठ्याक्कै क्लिक गरिहाल्छ, कुनैले जतिसुकै मेहनत गरे पनि दर्शकको नजरमा पर्न सक्दैन।
हामीले फलाउन जानेको, बेच्न नजानेको हो कि?
मार्केटिङमा समस्या देखिएको छ। तर विस्तारै फिल्मको प्रमोशन गर्नेदेखि मार्केटिङ गर्नका लागि पढेका मानिसहरू आउन थालेका छन्।
प्रमोशनमा खर्च गर्नपर्छ, हामीले त्यसमा कम पैसा छुट्याउँछौं। विस्तारै यी समस्या समाधान हुँदै जालान् नि। हामी आशावादी होऔं।
साउन ७, २०७९ शनिबार १२:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।