६४.०३ प्रतिशत मत ल्याएर भारतको राष्ट्रपति बनिन् द्रौपदी मुर्मु

६४.०३ प्रतिशत मत ल्याएर भारतको राष्ट्रपति बनिन् द्रौपदी मुर्मु

एजेन्सीः भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छिन्। गए राति सम्पन्न मतगणनाअनुसार नेशनल डेमोक्रेटिक अलायन्सकी उम्मेदवार मुर्मुले ६४.०३ प्रतिशत मत ल्याएर राष्ट्रपति निर्वाचित भएकी हुन्।

कुल चार हजार ८०९ मतदातामध्ये चार हजार ७५४ जनाले मतदान गरेका थिए। यसमा पनि ५३ मत बदर भएको थियो।

मुर्मुले दुई हजार ८२४ मत ल्याइन्। विपक्षी यूनाइटेड प्रोगेसिव अलायन्सका यशवन्त सिंहाले एक हजार ८७७ मत ल्याए।

मुर्मुको मतभार ६ लाख ७६ हजार ८०३ रहँदा सिंहाको मतभार केवल तीन लाख ८० हजार १७७ थियो। उनले ३५.९७ प्रतिशत मत ल्याए।

मुर्मुले हरेक राज्यबाट मत पाइन्। सबैभन्दा बढी महाराष्ट्र, आन्ध्र प्रदेश र उत्तर प्रदेशबाट पाइन्। केरला र तेलङ्गनाबाट निकै कम मत पाइन्।

यता सिंहाले पश्चिम बङ्गालबाट सर्वाधिक मत पाए। आन्ध्र प्रदेश, नागाल्याण्ड, सिक्किमबाट उनले मत पाएनन्।

योसहित मुर्मु भारतको दोस्रो महिला राष्ट्रपति र पहिलो आदिबासी राष्ट्रपति बनेकी छिन्। सन् १९५८ मा ओडिशाको मयूरभञ्जमा जन्मिएकी मुर्मुले १९९७ बाट राजनीति थालेकी हुन्।

उनले स्नातकसम्मको अध्ययन गरेकी छिन्। यसअघि उनी झारखण्डको राज्यपाल पदमा थिइन्।

साउन ६, २०७९ शुक्रबार ०९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।