द्रौपदी मुर्मु भारतको राष्ट्रपति बन्दै

द्रौपदी मुर्मु भारतको राष्ट्रपति बन्दै

काठमाडौं : भारतको राष्ट्रपतिमा आदिवासी नेत्री द्रौपदी मुर्मुको जित सुनिश्चित भएको छ। राष्ट्र प्रमुख चयनको प्रतिस्पर्धामा मुर्मुले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्ने पक्का भएको छ।

मुर्मु आदिवासी समुदायबाट भारतको सर्वोच्च पदमा पुग्ने पहिलो महिला बनेकी छिन्। उनी भारतको राष्ट्रपति बन्ने दोस्री महिला हुन्। 

राष्ट्रपति पदका लागि गत सोमबार भएको मतदानमा उनको जित सुनिश्चित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतमा पचास प्रतिशतभन्दा बढी मत ल्याएपछि राष्ट्रपति चुनिन्छ। 

राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्र प्रशासित भूभागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गरेका थिए।

राष्ट्रपति पदको लागि १० लाख ८६ हजार ४ सय ३१ भोट खसेकोमा मुर्मुले अहिलेसम्म कुल ५ लाख ७७ हजार ७ सय ७७ मत प्राप्त गरिसकिन् भने उनका प्रतिद्वन्दी सिन्हाले २ लाख ६१ हजार ६२ मत प्राप्त गरेका छन्। 

समाचार अनुसार सिन्हा पहिला भाजपामै थिए। उनी सन् २००० को दशकको सुरुतिर प्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वमा रहेको भाजपा सरकारमा वरिष्ठ मन्त्री थिए। तर अहिले भने उनी भाजपा र मोदीका प्रखर आलोचकका रूपमा चिनिन्छन्।

मुर्मुको जितमा प्रतिद्वन्दी सिन्हाले बधाइ दिइसकेका छन् । 'म जनतामाझ द्रौपदी मुर्मुले राष्ट्रपति चुनाव जितेकोमा बधाई दिन चाहन्छु,’ ट्विटर मार्फत मुर्मुलाई बधाई दिँदै सिन्हाले लेखेका छन्, 'भारतलाई आशा छ, १५औं राष्ट्रपतिको रुपमा संविधानको संरक्षक भएर उहाँले काम गर्नु हुनेछ।’ 

अहिलेको राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिँदै छ। मुर्मुले २५ जुलाईमा राष्ट्रपतिको रुपमा पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ।

मुर्मू सत्तारूढ भारतीय जनता पार्टी भाजपाबाट उम्मेदवार भएकी थिइन्। उनी यसअघि झारखण्डकी राज्यपाल थिइन्।

साउन ५, २०७९ बिहीबार २१:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।