अस्पतालको संगठन संरचनामा संशोधन गर्नुपर्ने माग राख्दै सरकारी आयुर्वेदिक चिकित्सक संघको ज्ञापन 

अस्पतालको संगठन संरचनामा संशोधन गर्नुपर्ने माग राख्दै सरकारी आयुर्वेदिक चिकित्सक संघको ज्ञापन 

काठमाडौं : सरकारी आयुर्वेद चिकित्सक संघले आधारभूत अस्पतालहरुको संगठन संरचनामा संशोधन गर्नुपर्ने माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भावनीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाएको छ।

सरकारी आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. नरेन्द्रप्रसाद गिरीले सो माग सहितको ज्ञापनपत्र मन्त्री खापुङलाई बुधबार (चार गते) बुझाइएको जानकारी दिए।

संघले पाँच शय्याको अस्पतालमा होमियोप्याथिक सहायक (५/६/७ तह) एक जना र वैध (४/५/६ तह) मा एक जनाको दरबन्दी थप गर्न माग गरेको छ।

दस शय्याको अस्पतालमा होमियोप्याथिक सहायक (५/६/७ तह) एक जना र बैद्य (४/५/६ तह) एक जनाको दरबन्दी थप गर्नुपर्ने संघको माग छ।

त्यसैगरी संघले १५ शय्याको अस्पतालमा आयुर्वेद चिकित्सक (आठौं तह) एक जना, हामियोप्याथिक सहायक (५/६/७ तह) एक जना र बैद्य (४/५/६ तह) एक जना गरी तीन जनाको दरबन्दी थप गर्नुपर्ने ज्ञापनपत्रमार्फत माग राखेको छ।

मन्त्रालय (स्वास्थ्य) को मिति २०७९/०३/२७ को संघीय मामला ताथ सामान्य प्रशासन मन्त्रालयलाई आधारभूत अस्पतालको संगठन तथा व्यवस्थापन सम्बन्धमा पठाइएको पत्र तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७९/०४/०१ को स्थानीय तहलाई लेखिएको नमुना संगठन संरचना तथा आधारभूत दरबन्दी सम्बन्धी पत्रबाट ध्यानाकर्षण भएको संघले जनाएको छ। 

सो पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयबाट पाँच, दस र १५ शय्याका आधारभूत अस्पतालका बनाइएका संगठन संरचना तथा दरबन्दी तेरिज नेपालको संविधान २०७२, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र जनस्वास्थ्य सेवा नियमावली २०७७ को मर्म विपरीत भएको संघको भनाइ छ। 

सो संगठन संरचना तथा दरबन्दी तेरिजमार्फत सबै  आधारभूत अस्पतालमा पूर्ण रुपमा आधारभूत स्वास्थ्य सेवाको उपलब्धता तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको विस्तार स्थानीय तहसम्म हुने नदेखिएको संघले जनाएको छ।

राष्ट्रिय स्वास्थ्य नीति तथा रणनीतिले आयुर्वेद तथा अन्य वैकल्पिक चिकित्सा पद्यतिहरुका सेवालाई स्थानीय तहसम्म पुर्याउने भनिएको संघले स्मरण  गराएको छ। त्यसैगरी जनस्वास्थ्य नियमावलीको दफा–३ मा आधारभूत स्वास्थ्य सेवा प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुले निःशुल्क प्रदान गर्नुपर्ने भनिएको पनि संघले स्मरण गराएको छ।

पत्रमा भनिएको छ, ‘सोही नियमावलीको अनुसूची एक मा आधारभूत स्वास्थ्य सेवाको सूचीमा आयुर्वेद तथा योग र होमियोप्याथीका केही सेवाहरु समेत उल्लेख गरिएको छ।’

साउन ५, २०७९ बिहीबार २०:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।