गाँजाले अष्ट्रेलियाको आकाशै गुलाबी भयो, हङ्गामा मच्चियो

गाँजाले अष्ट्रेलियाको आकाशै गुलाबी भयो, हङ्गामा मच्चियो

एजेन्सीः बुधबार राति अष्ट्रेलियाको उत्तरी शहर भिक्टोरियाको मिल्डुरा टाउनमाथिको आकाश धपक्कै गुलाबी रंगले ढाकियो। आकाश गुलाबी रंगले ढाकिएपछि स्थानिय चकित भए।

उनीहरू यसलाई एलियनको आक्रमणदेखि अनौठो मौसमको कारण भएको हुनसक्नेसम्म आकलन गरे।

बुधबार साँझदेखि हल्का गुलाबी रंगमा देखिएको आकाशलाई स्थानीयले सुरुमा त सुर्यास्त हुँदाको रंग होला भन्ने सोचे। तर जब रात बढ्दै गयो, आकाशमा देखिएको गुलाबी रंग पनि उत्तिकै गाढा बन्न थाल्यो। स्थानीयहरू झनै आत्तिए।

‘त्यो क्षण निकै अनौठो थियो’ स्थानीय ट्यामी जोमोस्कीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गार्जियनसँग भने, ‘म फोनमा ममीसँग कुरा गर्दै थिएँ। मेरो बुवाले भनिरहनुभएको थियो कि संसार समाप्त हुँदैछ। आकाशमा त्यसरी पहिलो पटक गुलाबी रंग देख्दा हामी सबै निकै आत्तिएका थियौँ।’

सो रंगबारे सामाजिक सञ्जालमार्फत क्षणभरमै विभिन्न किसिमका अफवाह भाइरल भए।

तर त्यो रंगको वास्तविकता भने सबैले सोचेभन्दा फरक रह्यो। भिक्टोरियाको आकाशमा देखिएको त्यो गुलाबी रंग अरू केही नभएर गाँजाबाट निस्किएको रंग रहेको फेला पर्यो। गाँजाबाटै औषधि उत्पादन गर्ने कम्पनी क्यान ग्रुपले यसको पुष्टि गरेको हो।

सो समयमा विद्युत् कटौती भएको र आकाशमा गुलाबी रंगमा फैलिएको उज्यालो गाँजाबाट औषधि उत्पादन गर्ने क्रममा देखापरेको भन्दै सो कम्पनीले सूचना जारी गरेको थियो।

‘गाँजाको बोटका विभिन्न प्रजातिहरू हुन्छन् भने ती बोटहरू हुर्काउन र तिनबाट औषधि उत्पादन गर्न विभिन्न किसिमको रंगहरू आवश्यक पर्दछ। सोही प्रक्रियाको क्रममा यसपटक गुलाबी रंग प्रयोग गरिएको थियो। त्यसैको असर आकाशमा देखिएको थियो’, क्यान ग्रुपका वरिष्ठ सञ्चार प्रबन्धक रिज कोहेनले भनेका छन्।

-गार्जियनबाट साभार

साउन ५, २०७९ बिहीबार १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।