संसारकै वृद्ध पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु

संसारकै वृद्ध पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु

एजेन्सीः संसारको सबैभन्दा वृद्ध एक भाले पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु भएको छ। एन एन नाम दिइएको सो पाण्डाको हङकङस्थित ओसियन पार्कमा मृत्यु भएको हो।

पाण्डाको मृत्युको खबरबारे ओसियन पार्कले आफ्नो वेबसाइटमार्फत बिहीबार जानकारी दिएको हो। सो पाण्डाको ३५ वर्षको उमेर मानिसको १०५ वर्षको उमेर बराबर रहेको पनि बताइएको छ। पाण्डाको हेरचाहमा खटिएका व्यक्तिका अनुसार एन एन अस्वस्थ भएकोले पछिल्ला हप्ताहरूमा खाना खान छोडेको थियो।

चिनियाँ सरकारले एन एनसँगै जिया जिया नामक पोथी पाण्डा उपहार स्वरूप हङकङलाई दिएको थियो। ती पाण्डालाई हङकङको ओसियन पार्कमा सन् १९९९ देखि राखिएको थियो।

जिया जिया नामक पोथी पाण्डाको भने यसअघि सन् २०१६ मा ३८ वर्षको उमेरमा मृत्यु भएको थियो।

साउन ५, २०७९ बिहीबार १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।