फिल्म वितरकको 'इगो'ले चेपुवामा सौगात र सृष्टि, प्रकाशसँग भिड्ने तयारी गर्ने कि माइकल अधिकारीलाई प्रोमोट गर्ने !

फिल्म वितरकको 'इगो'ले चेपुवामा सौगात र सृष्टि, प्रकाशसँग भिड्ने तयारी गर्ने कि माइकल अधिकारीलाई प्रोमोट गर्ने !

काठमाडौंः फिल्म वितरकहरूबीचको 'इगो' र लफडाले यतिबेला कलाकारद्वय सौगात मल्ल र सृष्टि श्रेष्ठ नमज्जासँग चेपुवामा परेका छन्। कोरोना महामारी सुरु हुनुअघि नै बनेर तयार भएको फिल्म 'माइकल अधिकारी' प्रर्दशनमा आएको एक सातापछि नै यी नै कलाकारको अर्को फिल्म 'राधा' पनि प्रर्दशन हुँदैछ।

एक साताको फरकमा कलाकार दोहोरिँदा दर्शकले नरुचाउने सम्भावना बलियो छ। किनकी सौगात अभिनित 'कबड्डी ४' र 'घनचक्कर' फिल्म एक साताको फरकमा रिलिज हुँदाको व्यापारको फरक छर्लङ्गै छ।

अर्को कुरा के भने, यो जोडीको बहुप्रतीक्षित फिल्म हो राधा। त्यसमाथि सौगात यसका निर्माता पनि।

यता लामो समय हार्डड्राइभमा थन्किएको फिल्म हो माइकल अधिकारी। बलिउडमा केही महिनाअघि उस्तै विषयको फिल्म 'मिमी' बनिसक्यो। त्यहाँ कलाकारले उत्कृष्टको अवार्ड पनि थापिसके। तर, मिमीभन्दा अगाडि नै घोषणा भएको र निर्माण भइसकेको फिल्म माइकल अधिकारी बल्ल प्रर्दशनको सुरसारमा छ।

त्यसैले ठूलो नैतिक बोझ पनि थपिएको छ सौगातको अघि। आफू निर्माता भएको फिल्मलाई प्रोमोट गर्ने कि आफू कलाकार भएको फिल्मलाई।

यता फिल्म नपाएर हलवाला हेरेको हेर्यै भएका समयमा पनि माइकल अधिकारी प्रदर्शनको सुरसारै थिएन। अहिले चाहिँ फिल्म जुध्यो। यो हुनुमा यी कलाकार दोषि चाहिँ होइनन्। दोषि हुन्- यी दुई फिल्मका वितरक।

फिल्मवृत्तमा छर्लङ्ग छ, माइकल अधिकारी, कृष्ण लीला, राधा र प्रकाश फिल्मका वितरकबीचको चिसो सम्बन्ध।यी वितरकहरू एकअर्कोको खुट्टा तान्न मरिमेटेर लागिपर्ने गरेको कुरा कतैबाट लुकेको पनि छैन।

लामो समयदेखि माइकल अधिकारी नामको अणुबम तयारी अवस्थामा राखेका थिए यसका वितरकले। जब 'कृष्ण लीला' फिल्मका वितरकले कृष्ण जन्माष्टमीको छेको पारेर भदौ ३ मा फिल्म प्रर्दशन गर्ने भने, तब माइकल अधिकारीका वितरक तयारी अवस्थामा राखेको अणुबम पड्काउने तयारीमा लागे।

राधाका वितरक र 'प्रकाश' फिल्मका वितरकबीच पनि सम्बन्ध खराब भएकैले भदौ १० मा जुध्ने तयारी थालेका हुन्।

वितरकहरूको लफडा हेर्दा उनीहरूमा आफ्नो फिल्म चलोस् नचलोस् तर अर्काको फिल्म चल्न हुँदैन भन्ने मनस्थिति देखिन्छ। आफ्नो घर पनि नबनाउने, अर्काको घर पनि बन्न नदिने बाँदर प्रवृतिको मारमा परे सौगात र सृष्टि।

अब सौगात र सृष्टि कस्तो फसाद भने माइकल अधिकारीको अणुबम ओस्सिए पनि तनाव, पड्किए पनि राधालाई छर्रा लाग्ला भन्ने तनाव।

अनि बलियो मानिएको चलचित्र प्रकाशसँग राधालाई भिडाउने तयारी गर्ने कि, माइकल अधिकारीको प्रोमोशनमा हिँड्ने? यी दुवै यतिबेला ठूलो तनावमा रहेको बताउँछन् यो विषयलाई राम्ररी नियालिरहेकाहरू।

साउन ५, २०७९ बिहीबार ११:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।