आजबाट एक हप्ता फोहोर घरमै राख्न काठमाडौं महानगरको आग्रह
काठमाडौंः काठमाडौं महानगरपालिकाले एक हप्तासम्म फोहोर घरमै राख्न आग्रह गरेको छ। फोहोर विसर्जनस्थलमा सडक निर्माण हुन गएको र फोहोरका गाडी जाँदा अवरोध उत्पन्न हुने हुँदा एक हप्ता फोहोर नउठ्ने भएको हो।
महानगरले बुधबार एक सूचना जारी गर्दै यस्तो बताएको हो। सूचनाअनुसार सिसडोलको फोहोर विसर्जनस्थल जाने भ्याली-१ को सडक निर्माण सुचारु हुन लागेको र फोहोरका गाडी जाँदा कठिनाइ हुने भन्दै शहरी विकास तथा भवन विभागले महानगरलाई फोहोरका गाडी नपठाउन अनुरोध गरेको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको सूचनामा भनिएको छ- 'काठमाडौं उपत्यकाको फोहोरमैला विसर्जनस्थल बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली-१ को सडक निर्माण कार्य सूचारु गर्न फोहोरमैला विसर्जन गर्न जाने सवारी साधनको आवतजावतले कठिनाइ उत्पन्न हुने भएकाले निर्माण कार्यलाई द्रुत गतिमा सञ्चालन गर्नका लागि उक्त सडकखण्डमा करिब एक हप्ता सवारी आवागमन बन्द गरिदिन शहरी विकास तथा भवन विभागबाट लेखी आएकाले उक्त अवधिसम्म आ-आफ्नो घर, पसल, व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थानमा नफाली घरभित्रै छुट्टाछुट्टै राखिदिन हुन सम्पूर्ण महानगरबासीहरूमा हार्दिक अनुरोध गर्दछु।'
साउन ५, २०७९ बिहीबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।