ट्रेलरमै कथा खुस्काउने टिमले कस्तो बनायो होला फिल्म !

ट्रेलरमै  कथा  खुस्काउने टिमले कस्तो बनायो होला फिल्म !

काठमाडौँ : पहिला पैसाको लोभमा कोख भाडामा लगाउने अनि पछि आमाको मनमा जन्मने बच्चाप्रतिको मायाले निम्त्याउने द्वन्द्वमा आधारित फिल्म कुनै नौलो कथा हैन।

हलिउडदेखि बलिउडसम्म मात्रै हैन विश्वका धेरै भाषामा यस्ता फिल्म बनेका छन्। तर हरेकको भोगाई फरक हुन्छ नै।

नेपालमा पनि कुनै समय सरोगेसी कानुनी रूपमै वैध थियो। सन्तान हुन नसकेका विदेशी दम्पती नेपाल आएर धेरै नेपाली चेलीको कोखलाई भाडामा किनेका थिए। त्यसले ल्याउने कानुनी र व्यवहारिक चुनौती अनि भाडामा कोख पाइने देशको रूपमा हुने दुर्नामसँगै द्रब्यलोभीहरुले गर्ने गैर कानुनी धन्दाको भयले सरकारले यो धन्दै बन्द गरिदियो।

भदौ ३ मा नेपाली हलमा यस्तै कथाको वरिपरि घुमेको फिल्म रिलिज हुँदै छ' माइकल अधिकारी' जसमा नायिका सृष्टि श्रेष्ठले पैसाका लागि आफ्नो कोख भाडामा लगाएकी छिन्।

ट्रेलरले दर्शकलाई फिल्मप्रति उत्सुकता जगाउने हो। तर बुधवार सार्वजनिक भएको माइकल अधिकारीको ट्रेलरले त लगभग फिल्मको सबै कथा नै बताइसकेको देखिन्छ। ट्विस्ट छैन भने ट्रेलर हेरेरै फिल्मको निष्कर्ष निकाल्न धेरै माथापच्ची गर्नुपर्दैन।

कोखमा प्राकृतिक सहवासमा आफ्नै श्रीमान्को वीर्य परेर जन्मने सन्तान हुन् या कृत्रिम रूपमा अर्काको वीर्यबाट आमाको ममता उस्तै हुन्छ भन्ने सन्देश नै फिल्मको वनलाइन स्टोरी देखिन्छ।

रियल लाइभका प्रेमी सौगात मल्ल यो फिल्ममा सृष्टिको श्रीमान् बनेका छन् जो सन्तानका लागि भाडामा कोख खोजिरहेका विदेशी दम्पतीका लागि आफ्नै श्रीमतीको कोख भाडामा लगाउन राजी हुन्छन्।

जब सन्तानको जम्नहुन्छ अनि आमाको मनमा पलाउने ममताले सन्तान दिन मान्दैन। त्यसले निम्त्याउने सङ्कटलाई नै मुख्य आधार बनाएको ट्रेलरले नै देखाएको छ।

गोपीकृष्ण मुभिजको ब्यानरमा उद्धव पौडेलको प्रस्तुति र निरक पौडेलको लगानीमा बनेको फिल्मको निर्देशन मात्रै हैन फिल्मको कथा पनि रञ्जित रौनियारको हो।

उनले कथा लेख्दा यस्तै विषयमा बनेका अन्य फिल्मबाट कतिको जोगिएका छन् अनि शैलेश कँडेल क्षेत्रीले पटकथा र संवाद लेख्दा कत्तिको मौलिकपनमा जोड दिन सकेका छन् त्यसैले यो फिल्मको आर्थिक भविष्य टुङ्गो लगाउने पक्का छ।

फिल्ममा सृष्टि र सौगातसँगै अशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर लगायतका कलाकारले अभिनय गरेका छन्।

मित्र डी गुरुङको सम्पादन, शम्भुजित बास्कोटा र रेभन सिंहको सङ्गीत, कमल राई र कविराज गहतराजको कोरियोग्राफी रहेको छ फिल्ममा।

साउन ५, २०७९ बिहीबार ००:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।