शिल्पी थिएटरमा नदी रिसाएर उग्र बन्दा

शिल्पी थिएटरमा नदी रिसाएर उग्र बन्दा

काठमाडौं : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र सगरमाथामा समेत काला चट्टान देखिएका सामाचार सञ्चार माध्यममा धेरै आए।

हो, हिमाल रित्याएर पग्लिएका तिनै हिउँका थुप्राहरु विस्तारै पृथ्वीमा बग्न थाले। एकै ठाउँमा बस्दाबस्दै कक्रकिएका तिनका हात अनि खुट्टाहरु विस्तारै फैलिँदै गए। एकबाट सुरु भएर अनेक बने। आफूलाई सहज लाग्ने बाटाहरु आफैं बनाउँदै गए।

हामी विकासको बाटोमा गइरहेका छौं या बिनासको? प्रकृतिको मनोरम दृश्यमा रमाउन चाहिरहेका छौं या कंक्रिडको थुप्रोमा? खासमा हामी मानवले चाहेको के हो? बत्तीसपुतलीस्थित शिल्पी थियटरमा नाटक 'हिउँको पृथ्वी यात्रा'  हेरिरहँदा दर्शक यिनै प्रश्नको उत्तर खोजिरहन्छन्।

नाटकमा धेरै विषयवस्तु एकसाथ उठान गरिएका छन्। सबैको मिँयो भने नदी नै छ। किनभने यो कथा भन्ने पात्र नै नदी हो। हिउँ पग्लिएर नदी भई यात्रा गरेका हिमनदीहरु पहाडका कन्दराहरुलाई त छिचोल्छन् तर मानव निर्मित बाँधलाई छिचोल्न सक्दैनन्। 

बल्लतल्ल जुरेको यात्रामा मानिसका बाँध अनि विकास उनीहरुका लागि बाधा बनिदिन्छ। उनीहरु यात्राका क्रममा छेकिन्छन्, थुनिन्छन्। यात्राको स्वाद पसिसकेका ती नदीहरु बग्न सक्दैनन्, रोकिन्छन्। अनि उठ्दैन त रिस! नदीहरु उग्र हुन्छन्। रिसको झोकमा तराईका आदिवासी जनजातिहरुको बस्तीमा पस्छन्। नदी नै जीवन बनाएकाहरु उनीहरु नदीकै कारण उजाडिन्छन्। 

नदीको यात्रामा भेट हुन्छन्, निकुञ्जहरु जहाँ माछा मारेर जीवन चलाउनेहरुलाई निषेध गरिएको छ। विभिन्न विषादी, बढ्दो जनसंख्या त थियो नै। खडेरीले नजिकका तलाउहरु पनि सुके। बाँधका कारण नदीमा पानीको मात्रा कम भयो। जंगली हात्ती पानी खोज्दै बस्ती छिर्न थाले। अतिवृष्टि भयो। पानीको मात्रा थेग्न नसकेर बाँधहरु फुटे अनि तराईका बस्तीहरु बगर बने।

आमाको काख लुट्यो बाढीले, परिवार तितरबितर भयो। सँगै आए राहत बाँड्नेहरु। भोट फकाउने नेताहरु। चर्चाका भोकाहरु। बिजुलीले दुई वटा चिम बाल्ने अनि माछा पनि मार्ने सपना बोकेकाहरु माटोमा बिलाए।

नाटकका कथाहरु यिनै हुन्। शेख अमजद प्रवेज र घिमिरे युवराजको लेखन तथा निर्देशनमा बनेको नाटक हो यो। काठमाडौंभन्दा बाहिर खुलामञ्चमा १२ पटक मञ्चन भइसकेको छ यो नाटक। 

कमी-कमजोरी पनि छन् नाटकमा। तर ती सबै प्रदर्शनका क्रममा हुने त्रुटिहरु हुन सक्छन्। एक शोमा भएका गल्ती अर्को शोमा नहुन पनि सक्छन्। आइतबार बेलुकी साँढे पाँच बजे हेरेको शोमा भने केही कमजोरी थिए।

एक दृश्य थियो रातको। अँध्यारोमा जुनकिरीको चमचमाहट देखिन्छ। प्रेमी र प्रेमिका अँध्यारो रातमा भेट्छन्। प्रेमिकाले जुनकिरी समातेर उपहार दिन्छिन् प्रेमीलाई।

अलि पर पुगेर कुराकानी गर्ने भनेर मञ्चको अर्को भाग पुग्छन्। प्रेमिकाको काखमा प्रेमी सुत्छ र भन्छ, यो जुनेली रात, तिमी र म। जुनेली रातमा औंशीको जस्तो अँध्यारो हुँदैन। केही समयअघि मात्रै देखिएको अँध्यारो अनि जुनकिरीहरु कता गायब भए? यो प्रश्न उब्जाउँछ तर उत्तर हुँदैन। कतिपय ठाउँहरुमा नाटकले भन्न खोजेको के हो प्रष्ट हुँदैन भने केही दृश्यहरु बेकारका पनि थिए। 

शिल्पी थियटरका नाटकहरुमा प्रायः अभिनय एकै हुन्छन्। कलाकारहरु एकै हुने भएकाले पनि उनीहरुको अभिनय उस्तै लागेको हुन सक्छ। अभिनय गरेका छन्, पवित्रा खड्का, संगीता  उराँव, झकेन्द्र वि.सी., ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लोहार र ज्याक बरालले। शिल्पीका नाटक नछुटाउनेहरुका लागि भने यी कलाकारको अभिनय खासै आकर्षक नबन्न सक्छ। 

मञ्च निर्माणमा राम्रो काम भएको छ। बस्ती देखाउँदा चोयाले बारेको मञ्च, नदी देखाउँदा निलो पृष्ठभूमि। अझै नदीको रौद्र रुप देखाउने समयमा नदी उर्लिएको दृश्य देखाउन गरिएको मिहिनेत प्रसंशनीय छ। त्यस्तै बस्ती सखाप पारेपछि देखिएको बालुवा नै बालुवा झनै मजाको छ। 

प्रकाश संयोजन पनि आकर्षक छ। नदीले कथा भन्दा पृष्ठभूमि निलो हुन्छ, आपत्-विपद् आइलाग्दा रातो। 

नाटकलाई तानिराख्ने पाटो हो, प्रत्यक्ष संगीत। थरीथरीका आवाजमा स्मारिका फुयाँल र अनुप तिमल्सिनाको स्वरले तान्छ, तानिरहन्छ। नदीले यात्रा थाल्दा होस् या यात्रामा अवरोध आउँदा, प्रेममा रंगिदा होस् या बिछोडमा रुँदा संगीतले दर्शकलाई तानिरहन्छ। 

एक हातमा बिजुली बत्ति, अर्को हातमा नदीको माछा। एक हातमा विकास, अर्को हातमा वातावरण। एक हातमा प्रकृति, अर्को हातमा कंक्रिडको घर। मानिस दुवै चाहन्छ। तर यसको तालमेल मिलाउन भने चाहँदैन। यो गम्भीर विषय हो।

यस्तो गम्भीर विषयमा नाटक बनाउनु चुनौतीपूर्ण काम हो। अझै विभिन्न भू-भागमा देखाउँदै हिँड्नु चानचुने कुरा हैन। शैली थियटर र निर्देशक घिमिरे युवराज यही चुनौतीपूर्ण कार्यमा भिडिरहेका छन्।

नाटक साउन १५ गतेसम्म साँझ साढे ५ बजे मञ्चन हुनेछ। मंगलबार कुनै शो हुने छैन भने शनिबार अतिरिक्त साढे १ बजे अतिरिक्त शो पनि हुनेछ।

साउन ४, २०७९ बुधबार ०७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।