अभिनेता प्रदीपले राम्रो निर्देशक नपाएको कि राम्रो अभिनय नगरेको !
काठमाडौँ : फिल्म क्षेत्रमा एउटा चलन छ, तोकिएको भन्दा ढिला गरेर कार्यक्रम चलाउने। यो चलन अब परम्परा बन्न थालिसकेको छ। यस क्षेत्रका मानिसहरू २ बजे कार्यक्रममा बोलाइएको छ भने साँढे २ बजेबाट लुगा लगाउन सुरु गर्छन्। कार्यक्रम स्थानसम्म पुग्दा साँढे ३ हुन्छ। कार्यक्रम सुरु हुँदा चार बज्छ।
फिल्म प्रकाशले पनि यो परम्परालाई नियमपूर्वक पालना गर्यो। ढिला कार्यक्रम सुरु गर्दासमेत सञ्चालक नरेश भट्टराइले ङिच्च हाँस्दै दर्शकदिर्घा तिर फर्केर अनुमति मागे,'अब कार्यक्रम चलाऊँ? मानौँ कार्यक्रममा उपस्थित मानिसहरूकै कारण कार्यक्रम ढिला भएको हो।
निकै छिट्टो सकिने कार्यक्रम हुन्छ फिल्महरूको। तर यो कार्यक्रम लामो समयसम्म गयो। पत्रकारहरूको प्रश्न नसकिएरै बिचमा रोक्नुपरेको कार्यक्रम सायद यही हो। किनभने अन्य कार्यक्रममा काम गर्ने मानिस कम हुन्थे, यहाँ पानोरोमा सटमा फोटो खिच्दा समेत कभर गर्न मुस्किल टोली थियो। त्यो पनि दुई लट गर्नुपर्ने।
अन्य फिल्मका कलाकार खासै बोल्न जान्दैनथे, तर यसका सबै बोल्न एकसे एक। रङ्गमञ्चमा अभिनय गरिरहेकी तर पर्दामा भने डेब्यु भएकी कलाकार रेनु योगीले त झनै बोलीले सबैलाई चकितै बनाइन्।
धेरै बोल्ने क्रममा कलाकार रेनु योगी थोरै चिप्लिइन् पनि। उनले प्रदीप खड्काको तारिफ गर्दै भनिन्,'उहाँले राम्रो निर्देशक नपाएकाले पहिलेका फिल्म राम्रो भएन होलान्।'
प्रदीप सुरुदेखि नै राम्रो कलाकार भएको तर राम्रो निर्देशकको हातमा नपरेको बताइरहँदा प्रदीप भने मुस्कुराइरहेका थिए।
पछि पत्रकारले के राम्रो निर्देशक नपाएको हो त भनेर प्रदीपलाई प्रश्न गर्न आँटेका थिए। तर गलत तरिकाले व्याख्या नहोस् भन्दै रेनु डराइन्।
फिल्मका नायक प्रदीपले भने कलाकारितामा आफ्नो नयाँ जन्म भएको बताए। उनले भने, 'पहिले म हिरो थिएँ, अहिले कलाकार भएको छु।' पत्रकारको प्रश्नमा जवाफ दिँदै उनले सबै कलाकार हिरो बन्न सक्ने तर सबै हिरो कलाकार बन्न नसक्ने भन्दै आफू कलाकार बनेको बताए।
फ्यान प्रदीपका, सेल्फी रङ्ग पत्रकारसँग
ट्रेलर रिलिज कार्यक्रममा प्रदीपका फ्यानहरू समेत आइपुगेका थिए। अधिकांश कलेजको युनिफर्ममै हलमा प्रवेश गरेका टिनएजका किशोर किशोरीको हुल थियो त्यो।
प्रदीपसँग बसेर ट्रेलर हेर्न उनीहरू हलमा आएको बताइएको थियो। कार्यक्रम सकिएपछि प्रदीपका फ्यानहरूलाई सेल्फी खिच्ने समय दिइयो।
तर प्रदीपको फ्यान भनिए पनि फोटो खिच्ने भिड रङ्ग पत्रकार उत्सव रसाइलीतिर बढ्यो। भ्याई नभ्याई सेल्फी खिचिरहेका उत्सवलाई हेर्दै अन्य रङ्ग पत्रकार हाँसिरहेका थिए। केहीले भने हेडलाइन समेत जुराए, पैसा तिरेर ल्याइएको फ्यान, रङ्ग पत्रकारसँग सेल्फी खिच्न व्यस्त।'
यसरी कुरा काट्ने माहौल बनेको चाहिँ, हाम्री अर्की अभिनेत्री पूजा शर्मामा कारण हो। प्रदीपसँग फिल्म प्रेम गीतमा सँगै जोडी बाँधेर काम गरेकी पूजालाई फ्यान किन्ने गरेको आरोप लाग्ने गरेको छ।
पाँच हजारदेखि सात हजारसम्ममा फ्यान किन्ने चलन चलेको हल्ला फिल्मी बजारमा व्यापक छ।
विवादित विषयमा बिना प्रसङ्ग बोले लेखक विकास सुवेदी
कार्यक्रममा फिल्मका लेखक विकास सुबेदीले बिना प्रसङ्ग विवादमा रहेको विषयमा आफ्नो मत राखे।
उनले भने,'पहिलो नेपाली फिल्म आमा भनेर आधिकारिकता दियो भन्ने खबर छ, भूगोलले कलालाई प्रभाव पार्दैन, पहिलो नेपाली फिल्म सत्य हरिश्चन्द्र हो।'
यो विषयमा सोधखोज जारी छ। विवादमा पर्न नचाहने मानिसहरूले नेपालमा बनेको पहिलो नेपाली फिल्म आमा अनि नेपाली भाषामा बनेको पहिलो फिल्म सत्य हरिश्चन्द्र भन्ने गरेका छन्।
यसै विषयमा अध्ययन गरिरहेका पत्रकार तथा स्क्रिप्ट राइटर सामीप्यराज तिमल्सिना भने यो कुरा अध्ययनको क्रममा रहेको बताउँछन्। उनले भने, 'यसको अध्ययन समूहमा म पनि छु। हामीले सत्य हरिश्चन्द्रको रिल फेला पारिसकेका छौँ। त्यसलाई डिजिटलाइज गर्ने क्रममा छ। फिल्म हेरेपछि मात्रै कुरा के हो प्रस्ट हुन्छ।'
'सत्य हरिश्चन्द्रमा पशुपतिको मन्दिर खिचिएको भन्ने कुरा सुनिएको छ। सामीप्यराजले भने,'यदि फिल्ममा यो कुरा पुष्टि भयो भने आमालाई नेपालमा बनेको पहिलो नेपाली फिल्म समेत मान्न नसकिने अवस्था आउन सक्छ।'
अनुसन्धानमा रहेकाले यो विषयमा फिल्म हेरेपछि मात्रै तर्क वितर्क गर्न सकिने उनको भनाई छ।
साउन ३, २०७९ मंगलबार २३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।