लभरबोई अभिनेता प्रदीपको गाउँले छवि उनका फ्यानले स्विकार्लान् !

लभरबोई अभिनेता प्रदीपको गाउँले छवि उनका फ्यानले स्विकार्लान् !

काठमाडौँ : लभरबोईको छवि छाड्ने चुनौती बोक्दै 'प्रकाश' बन्दै कर्णालीको युवाको चरित्रमा अभिनय गरेका अभिनेता प्रदीप खड्काको अलग छवि रहेको फिल्म ‘प्रकाश’ को ट्रेलर बिहीबार सार्वजनिक भयो।

मङ्गलवार सार्वजनिक भएको २ मिनेट १४ सेकेन्डको ट्रेलरमा माओवादी द्वन्द्वको प्रभाव देखाउने प्रयास गरिएको प्रस्टै हुन्छ। ट्रेलरमा प्रकाश बनेका प्रदीप र उनको आमाको भूमिकामा रहेकी अभिनेत्री दिया मास्के हाबी देखिएका छन्।

ट्रेलरमै दियाको कर्णालीको स्थानीय लवजसँगै देखाइएको प्रदीपको खस भाषाको बोली त्यति सुहाएको देखिएन। फिल्म ‘प्रेम गीत’मा पर्दामा प्रदीपलाई देखेका उनका फ्यानहरूका लागी प्रकाशको चरित्र भने सरप्राइज हुने ट्रेलरले नै देखाएको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा उनले 'प्रकाशबाट आफूले हिँडिरहेको बाटोभन्दा फरक बाटो हिँड्ने प्रयास गरेको बताएका थिए।

‘मैले पहिले फिल्ममा गरेको भूमिका भन्दा भिन्न भूमिका गरेको छु। सुरु-सुरुमा यसका परिणामलाई लिएर अलि दुबिधा थियो। तर पोस्टर र टिजरमा पाएको मायाले भोलि परिणाम जेसुकै भए पनि आज चाहिँ सन्तुष्ट छु।’

दिनेशलाई फाप्ला त 'प्र'

निर्देशक दिनेश राउतका लागि 'प्र' शब्द फाप्ने देखिन्छ। यस अगाडि उनले निर्देशन गरेको 'प्रसाद' समीक्षक र व्यापार दुवै रूपमा सफल भएको थियो। अहिले उनले त्यही 'प्र' बाट नाम जुरेको फिल्म 'प्रकाश'को निर्देशन गरे।

उनले 'प्रसाद' हेरेर मन पराउने दर्शकहरूलाई प्रकाश हेर्न हलसम्म तान्न ट्रेलरमै सक्दो प्रयास गरेका छन्'प्रसाद' को निर्देशकले निर्देशन गरेको फिल्म भन्ने ट्याग राखेर।

फिल्म आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउँदै छ। फिल्ममा प्रदीप र दियासँगै रेनु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीको अभिनय रहेको छ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत रहेको छ। फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका हुन्।

साउन ३, २०७९ मंगलबार २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।