राहदानी विभागका कर्मचारीको सेटिङमा नक्कली फारमबाट जारी हुन्छ सक्कली पासपोर्ट
काठमाडौँ : राहदानी विभागका कर्मचारी र दलालीको मिलेमतोमा किर्ते कागजातको आधारमा पासपोर्ट जारी हुन खुलेको छ।
उकेरालाई प्राप्त कागजात अनुसार छिटो राहदानी चाहिनेहरूलाई दलालीले प्रलोभमा पारेर नक्कली फारमको आधारमा सक्कली पासपोर्ट दिलाउने गरेको पुष्टि हुन्छ।
यसबारे विभागका अधिकारीहरू पनि जानकार छन्। तर विभागकै कर्मचारीले दलालहरूलाई सघाउने गरेको उकेराले सोमबार गरेको अनुगमनमा प्रस्टै देखियो।
नक्कली फारमको भरमा दलालको सहयोगमा सक्कली फारम लिन चाहनेहरू विभागको तीन नम्बर गेटको लाइन बस्ने गरेको देखियो। तीन नम्बर गेटमा सुरक्षाकर्मीले जाँच गरेपछि उनीहरू पासपोर्टको थप कामको लागि भित्र प्रवेश गर्छन्। अनि कर्मचारीले बार कोडको जाँच गर्छन्। बारकोड भनेको फारममा भरेको सबै विवरण देखाउने हो।
त्यसमा नक्कली फारमको बारकोड र सेवाग्राहीको बारकोड मिल्दैन। तर बार कोड नमिले पनि दलालसँग सेटिङमा रहेका कर्मचारीले त्यही फारमको भरमा पासपोर्ट बनाइदिन्छन्।
यस विषयमा उकेराले राहदानी विभागका प्रवक्ता शरद राज आरणसँग जिज्ञासा राख्यौँ। उनी विभागमा यस्तो काम हुने गरेकोबारे जानकार रहेछन्। उनले यस्तो किर्ते कागजात फेला परेको स्वीकारे पनि कर्मचारीको मिलेमतोमा राहदानी जारी भने नभएको दाबी गरे।
उनले बारकोड जाँच गरेर फारमको विवरण हेरेर पासपोर्ट दिने पद्धति भए पनि कर्मचारीले थाहा नपाएर पासपोर्ट जारी भएको हुनसक्ने दाबी गरे। उनले थाहा भएको खण्डमा पासपोर्ट जारी नभएको थप दाबी गरे।
‘आज मात्रै ४० वटा नक्कली फारम देख्यौँ,’उनले भने, ‘जति नक्कली फारम देखिएको छ हामीले कालीमाटी प्रहरीलाई बुझाएका छौँ। राहदानी जारी गरेका छैनौँ।’
अनलाइन फारम नै किर्ते बनाउँदै प्रवेश गर्दै
दलाल मार्फत सेवाग्राहीले नक्कली फारम लिएर लाइन बसे पनि सबै सेवाग्राहीको फारम स्वीकृत भएको भने देखिएन।
उस्तै नक्कली फारम लिएर गएका केही सेवाग्राहीको राहदानी बन्यो। केही सेवाग्राहीको राहदानी भने बनेन। केहीको हकमा कर्मचारीले सेवाग्राहीको बारकोड नमिलेको भन्दै पुन फारम भरेर आउन फिर्ता पठाइदिने गरेको देखियो। त्यसरी पठाएको फारममा नो लाइन भनी लेखिदिन्छन्। त्यसो गर्दा उही दिनमा फारम भरेर राहदानी निकाल्न पाइन्छ।
फारम भरेको २ हप्ता सम्म समेत पालो नपाएकाहरू भने फारम भरेको मिति नक्कली राखिएको फारम लिएर भित्र प्रवेश गर्दै पासपोर्ट बनाएर आउने गरेको देखियो। स्रोतका अनुसार राहदानी निकाल्न सरकारलाई तिरेको रकमसँगै सेवाग्राहीले छिटो पासपोर्ट निकाल्न दलाललाई ५ देखि १० हजार अतिरिक्त पैसा दिने गरेका छन्। त्यसमा विभागका कर्मचारीको भागमा ४० प्रतिशत जाने यस्तो दलालीमा संलग्नहरूले बताउने गरेको एक यस्तै सेवाग्राहीले खुलाए।
यसरी भइरहेछ सेटिङ
सक्कली फारमको अन्त्यमा अपोइन्टमेन्ट डिटेल्स लेखिएको छ। जहाँ इनरोलमेन्ट सेन्टरमा दोलखा लेखिएको छ भने मिति र समयमा सन् २०२२ अगस्ट ४ समय १२ लेखिएको छ। तर नक्कली फारममा भने फोटोसप प्रयोग गरेर इनरोलमेन्ट सेन्टरमा राहदानी विभाग र मिति र समयमा सन् २०२२ जुलाई १३ समय १० बजे लेखि परिवर्तन गरेको पाइयो।
केही फारममा नाम, थर,ठेगाना, स्थान, राष्ट्रिय परिचय पत्र र फोन नम्बर लगायतका विवरण परिवर्तन गरिएको छैन।
फारम हेर्दा फोटोसप प्रयोग गरेर मिति, समय, स्थान परिवर्तन गरेको स्पष्टै देखिन्छ तर कर्मचारीको मिलेमतोमा समय अगावै र किर्ते कागजात लिएर गेटबाट प्रवेश गर्ने अनि राहदानी लिएको देखियो।
त्यस्तै उकेराले फेला पारेको थप कागजातमा अन्य दलालहरूले अन्य सेवाग्राहीको नाम, थर,ठेगाना, स्थान, राष्ट्रिय परिचय पत्र र फोन नम्बर उल्लेख गरी अपोइन्टमेन्ट डिटेल्स परिवर्तन गरेको पाइयो।
अर्को कागजातमा पनि इनरोलमेन्ट सेन्टरमा दोलखा लेखिएको छ भने मिति र समयमा सन् २०२२ अगस्ट ४ समय १२ लेखिएको छ। तर नक्कली फारममा भने फोटोसप प्रयोग गरेर इनरोलमेन्ट सेन्टरमा राहदानी विभाग र मिति र समयमा सन् २०२२ जुलाई १३ समय १० बजे लेखि परिवर्तन गरिएको छ।
अहिले सम्म विभागले फेला पारेको नक्कली कागजातमा बैतडी र दोलखा जिल्लामा अपोइन्टमेन्ट लिएकाहरू धेरै छन्।
विभाग भन्छ कागजात प्रहरीकोमा तर प्रहरी भन्छ आएको छैन
राहदानी विभागले ४० वटा नक्कली फारम सङ्कलन भएको दाबी गर्यो। विभागका प्रवक्ता शरद राज आरणले नक्कली फारम सङ्कलन गरेर कालीमाटी प्रहरीमा पुगेको दाबी गरे पनि काठमाडौँ उपत्यका प्रहरी परिसरका प्रवक्ता दिनेश राज मैनाली भने कालीमाटी वृत्तमा कुनै कागजात नआएको बताए।
‘हामीसँग कुनै पनि किर्ते भएको कागजात राहदानी विभागले पठाएको छैन,’उनले भने, ‘कागजात आउँदै होला।’
त्यस्तै विभागले फारम सङ्कलन गरे पनि कुनै पनि सेवाग्राहीलाई कसरी यो फारम भरियो भनी सोधपुछ गरेर प्रमुख दलाली पत्ता लगाउने काम गरेको देखिएन। कर्मचारीकै मिलेमतोमा राहदानी जारी भएको हो भन्ने उकेराको प्रश्नमा आरणले अस्वीकार गरे।
तर प्राप्त तथ्य र प्रमाणले भने त्यसो देखिएन नि भन्ने प्रश्नमा आरणले भने, ‘यदि कसैले कर्मचारीले बेइमानी गरेको छ भन्ने उजुरी दिए कानुन बमोजिम कारबाही हुन्छ। किर्ते भन्ने थाहा भएको अवस्थामा राहदानी जारी भएको छैन। नभएको अवस्थामा मात्रै राहदानी जारी भएको होला।’
साउन ३, २०७९ मंगलबार ०६:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।