अभिनेत्री पूजाले किन धोका दिइन् 'सम्झना बिर्सना' लाई !

अभिनेत्री पूजाले किन धोका दिइन् 'सम्झना बिर्सना' लाई !

काठमाडौँ : जब हलमा आफ्नो फिल्म रिलिज हुन्छ नि पूजा शर्माको व्यवहार घ्यु भन्दा पनि नरम हुन्छ। फिल्म चलाउन रुनु परोस् कि बलात्कारको आरोपीको प्रेमिका हुनु परोस् उनलाई केही मतलब हुन्न। अझ त्यसमा सुदर्शन थापा जोडिएपछि त फिल्ममा के त्यति अभिनय हुन्छ र!

फिल्म चलाउन उनले गर्ने अभिनयहरू देख्दा अचम्मै लाग्छ, रियल लाइफमा फिल्म चलाउन यति धेरै नौटङ्की गर्नुको साटो त्यतिकै स्तरको अभिनय फिल्ममा गरिदिएको भए त फिल्म चलिहाल्थ्यो नि।

यो भयो उनको लगानी हुने फिल्म। अब अरूको लगानी हुने फिल्ममा जहाँ उनको अभिनय हुन्छ त्यसको कुरा गरौँ।

फिल्ममा अभिनयसँगै प्रचारमा पनि कलाकारहरू सहभागी हुनु सामान्य नै हो। अब पहिल्यै कनट्र्याक्ट गर्दा नै अभिनय गर्छु तर प्रचारमा हिँड्दिन भन्ने सर्त थियो भन्ने अलग कुरा। नत्र कलाकारको जिम्मामा अभिनय मात्रै हुन्न। रिलिज भएपछि प्रचारमा पनि हिँड्नुपर्छ। त्यसरी नै क्या जसरी पल शाह प्रहरी हिरासतमाहुँदा पल शाहको फोटो प्रिन्टेड भएको टिसर्ट लगाएर पल मेरो मुटुमा छ भन्दै हिँडे जसरी।

तर आफूले अभिनय गरेको फिल्म अझ जहाँ सुदर्शन जोडिएका हुन्नन् त्यसको प्रचारमा हिँड्न पूजालाई बढो अल्छी लाग्छ। सकेसम्म प्रचारमा जान चाहन्नन्। गइहाले पनि माहौल सकारात्मक बनाउनुको साटो नकारात्मक बनाइदिन्छिन्।

शुक्रवारबाट उनी अभिनीत फिल्म सम्झना बिर्सना हलमा लागेको छ। तर उनको व्यवहार हेर्दा फिल्मको नाम बिर्सना राख्नुपर्ने जस्तो देखियो। फिल्म प्रचारका लागि हलमा जाँदा आकाश श्रेष्ठको पक्षमा नारा लाग्दा दर्शकहरूलाई हप्काइदिइन्।

फिल्म निर्माण टोलीका अनुसार काठमाडौँबाहिर फिल्मको प्रमोसनमा जाने कार्यक्रम थियो। तर उनी अब त्यता जाने भइनन्। यता हलमा फिल्म चलिरहेको छ पूजा भने अस्ट्रेलिया उडिदिइन्। फिल्म प्रचारका लागि हलमा जान छाडेर।

निर्देशक निमेष प्रधान हैरान भएछन् उनको व्यवहारबाट। निर्माण टिमका अनुसार उनले फिल्ममा अभिनय गरेबापत २० लाख पारिश्रमिक त लिइन् नै उनले प्रमोसन गीत भएन भनेर १६ लाख खर्च गराएर एक गीतको सुटिङ नै गराएकी थिइन्।

यति गरेपछि त फिल्म प्रमोसनमा साथ दिनुपर्ने हो नि। उनको पैसा लगानी नभए पनि फिल्म बनाउन कसै न कसैको पैसा त लगानी भएको हुन्छ नै। तर उनले बाल मतलब गरेको देखियो फिल्मको।

बिचरा निर्माणमा संलग्न समूह अहिले वाल्ल परेको छ। 'उनले गीत नयाँ चाहियो भनिन्। त्यो पनि गर्यौ। फिल्म रिलिज भएपछि काठमाडौँ बाहिर जाउँला भनिन् त्यो पनि माने। तर फिल्म प्रचारको बेलामा अस्ट्रेलिया उडिन्' भन्दै टाउको समातेर बस्न लायक बनाइदिएको देखियो। 

अष्टनारायण हलमा प्रमोसनका लागि गएकी उनले आकाशको मात्र नारा लगाउने भनेर दर्शकलाई हप्काइन्।  साँझ लबिङ मलमा प्रमोसनमा जाने सेड्युल थियो। उनी आइनन्। उनी अस्ट्रेलिया गइन्।

जुन बेला 'सम्झना बिर्सना' टिमले पुजा-आकाशलाई फिल्ममा साइन गराए त्यो बेला उनीहरू निकट थिए। तर फिल्म रिलिज हुने बेलामा आकाश पूजासँगको सम्बन्धबारे स्पष्टिकरणदिँदै हिँड्न बाध्य भए।

अझ अर्को लफडा नि देखियो। पलका फ्यानका लागि दुस्मन बराबर हुन् अनमोल केसी। यो फिल्म रिलिज हुनु अगाडि पूजाले उनै अनमोलसँग फिल्म खेल्ने सम्झौता गरिदिइन्। यसले पलका फ्यान बिच्किने भए नै। त्यसको असर फिल्मको व्यापारमा पर्ने नै भयो। यसलाई फिल्म निर्माण टिमले पूजाले जानाजान कन्ट्रोवर्सी निकालेर फिल्मको व्यापारमा खेलेको रूपमा बुझेको देखियो।

साउन ३, २०७९ मंगलबार ००:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।