फेवातालका अतिक्रमणकारीभन्दा मजदुरका छाप्रा पोखराका विकास विरोधी !
पोखरा : पोखरा महानगरपालिकाले अनधिकृत रूपमा निर्माण गरिएका टहरा भत्काएको छ। सोमबार महानगरले पोखरा ३३ स्थित दुई पिप्लेको सार्वजनिक जग्गा कब्जा गरेर निर्माण गरिएका टहरा भत्काएको हो।
पोखरामा ज्याला मजदुरी गर्न विभिन्न जिल्लाबाट आएका मजदुरहरूले अवैध रूपमा निर्माण गरेर बसेका छाप्रा हटाइएको महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले जानकारी दिए।
महानगरका मेयर धनराज आचार्यको निर्देशनमा वडाध्यक्ष रामचन्द्र अधिकारीसहितका जनप्रतिनिधिहरूको उपस्थितिमा दुई दर्जन छाप्रा भत्काइएको शर्माले बताए।
शर्माका अनुसार दुई पिप्पलेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा सहित २६ वटा छाप्रा भत्काइएको हो।
पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरूप ती छाप्रा भत्काइएको उनले बताए। अन्यत्र पनि यस्ता अनधिकृत रूपमा निर्माण गरिएका संरचना क्रमशः भत्काउँदै लागिने उनले बताए।
सार्वजनिक जमिन कब्जा गरी विभिन्न स्थानमा आफूखुसी संरचना निर्माण गरिएको देखेमा महानगरमा जानकारी गराउन समेत शर्माले महानगरवासीलाई आग्रह गरेका छन्।
सार्वजनिक जमिनमा टहरा लगायतका कुनै पनि संरचना निर्माण गरेको भए तत्कालै त्यस्ता संरचना आफै हटाउन आग्रह गर्दै शर्माले यदि आलटाल गरेमा कानुन बमोजिम क्षतिपूर्ति तिराएर महानगरले यस्ता संरचना हटाउने बताए।
उनले भने,‘अनधिकृत रूपमा जग्गा कब्जागरी निर्माण गरिएका २६ छाप्रा भत्काएका छौँ। पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षणको अभियान यहीँबाट सुरु गरेको छ।'
नगर प्रहरी नायव निरीक्षक पुरुषोत्तम थापाका अनुसार जिल्ला प्रशासन कार्यालयको सहयोगमा नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय डाँडाको नाक र सशस्त्र प्रहरीको सहकार्य सार्वजनिक जग्गा कब्जा गरी अवैध रूपमा निर्माण गरिएका संरचना हटाइएको हो।
साउन २, २०७९ सोमबार २३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।