आफ्नै नेताको खप्की खाएका देउवाको शैली बदलिएला र !

काठमाडौँ : एक हप्तासम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले चर्को आलोचना ब्यहोरे। चुनावी समीक्षा, आगामी रणनीति र पार्टीको नियमित कामलाई प्रभावकारी बनाउन डाकिएको बैठकमा सभापति देउवा पक्षधर अर्का नेता शेखर कोइराला पक्षका नेताहरूबिच राम्रो आरोप-प्रत्यारोप चल्यो।
केन्द्रीय सदस्य तथा सांसदहरूले यस्तो आलोचनात्मक र निष्कर्षयुक्त बैठक पहिलो पटक भएको टिप्पणी समेत गरे। किनकि कांग्रेस सभापति देउवा अरूका कुरा कम सुन्ने अनि आफ्ना कुरा लाद्ने स्वभावका नेताको छवि छ।
सो व्यवहारलाई शेखर समूहले ‘देउवाले ४० प्रतिशत हिस्सालाई बिर्सिएर एकलौटी पार्टी चलाएको’ दाबी गर्दै आएको छ। देउवाको शैलीले देखाएको पनि त्यही हो। तर केन्द्रीय सदस्यहरू अनि सांसदहरूको दाबी अनुसार यो पटकको बैठकमा दुवै समूहका नेताले बाझाबाझ भन्दा पनि मन माझामाझ गरे।
‘बैठक सार्थक भयो। कांग्रेसको इतिहासमा यति धेरै खुलस्त भएर सदस्य तथा पदाधिकारीहरूले आफ्ना धारणा राख्नुभएको र छलफल भएको ऐतिहासिक कार्यसमितिको बैठक हो,’ कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतमले भने ‘अब पार्टीलाई व्यवस्थित बनाउने र भातृ संस्थालाई चलायमान बनाउने भन्ने निर्णय भयो। अब सभापति पनि सबैको सभापति बन्ने देखियो। हाम्रा मागलाई उहाँले रियलाइज गर्नुभयो।’
देउवाको दोस्रो कार्यकाल सभापति भएपछि सबैको सभापति बन्ने र पार्टीलाई पहिलो बनाएर नेतृत्व हस्तान्तरण गर्ने दाबी गरेका नै थिए। तर निर्वाचित भएपछिको उनको व्यवहारमा गरेको दाबी पुरा हुने सङ्केत देखिएन। उनले संस्थापन इतर समूहका रूपमा अगाडि बढेको शेखर समूहलाई गन्दै गनेनन्।
बरु १४ औँ महाधिवेशन बहिष्कार गरेर बसेका रामचन्द्र पौडेललाई च्यापेर पेल्न खोजे। जबकि पौडेल संस्थापन इतरमा निकै कमजोर भइसकेका थिए। शेखर सो समूहको नेता भइसकेका थिए। आफ्नो आलोचना भएपछि उनले यही केन्द्रीय समितिको बैठकमा पनि धेरै किचकिच गरिरहे विधान संशोधन गरेर तेस्रो कार्यकाल समेत सभापति बनिदिने भन्दै थर्काएकै हुन्।
तर यो पटक उनको धम्कीले कोही डराएन। बैठकमा डटेर नेतृत्वको आलोचना गरे अगाडि उभिएर। निर्णयको समीक्षा गरे अनि कमजोरी बताइदिए। हाँकाहाँकी महामन्त्री गगन थापाले' म पनि निर्वाचित महामन्त्री हो। पार्टीको निर्णय मैले समाचारबाट थाहा पाउनुपर्ने भनेर देउवाको आलोचना गरे।
उनले हिजो देउवाले पनि समूहको भेला गरेको अनि अहिले शेखरले पनि आफ्नो समूहको भेला गरेको भन्दै ठुला भवन हुनेले भवनमा भेला गरे नहुनेले पार्टी प्यालेसमा गरे भन्दै व्यङ्ग्य गरेपछि देउवाले महामन्त्रीलाई भेट्न खोज्दा फोन समेत उठ्ने नगरेको भन्दै उल्टो गुनासो गर्नुपरेको थियो।
समय हुँदा विधान कुल्चने र आन्तरिक रूपमा भोट बैक बनाउनुपर्ने बेलामामात्र विभागमा आफ्ना मान्छेलाई टीका लगाइदिने देउवा शैली टिक्छ या धर्मराउँछ त्यो अबको २ सातामा देखिनेछ।
किनकि कार्यसम्पादन बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले भनेका छन्, ‘अबको एक हप्ता पार्टी कार्यालय केन्द्रित बनौँ, विभाग र भातृ संस्थाको नेतृत्व लगायतका देखिएका समस्या समाधान गरौँ।’
बैठकबाट पार्टी कार्यालयबाट लाखापाखा लागेपछि समाधान नहुने उनको बुझाइ देखियो। गुट भेला गर्दै हिँडेको र सामाजिक सञ्जालमा रमाएका आरोपको कडा जवाफ फर्काएका अर्का महामन्त्री थापालाई सभापति देउवाले ‘अब फोन उठाउनुस्, एक जना महामन्त्री कुन जिल्लामा अर्का कहाँ’ भन्ने जवाफले पनि कांग्रेसमा समन्वयको संस्कार छैन भन्ने देखाउने भनेका थिए।
बैठकमा महामन्त्री थापाले सरकार भएको अनुभूति गर्न नपाएको र केपी ओलीलाई सरकार कसरी चलाउनुपर्छ देखाइदिन्छौ भनेको अहिले कांग्रेस नेतृत्वको सरकार पनि उही बाटोमा लागको भन्दै आलोचना गरेका थिए।
‘सरकारको कुरा मन्त्रीज्यूहरूले जवाफ दिनुभएको छ। नीतिगत कुरा गरेर पार्टीले सरकारलाई ध्यानाकर्षण गराएको छ। अब साँच्चै संविधान स्वरूप र सङ्घीयता अनुसार चल्छौँ भनेको छ र त्यो अनुसार पार्टी अघि बढ्छ,’ लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने।
‘सभापतिको व्यवहार कहिले बिग्रेको थियो सुध्रनुपर्ने भन्या? कामहरू सुरु भइरहेको छ। निर्वाचनले गर्दा रोकिएको काम अब अघि बढ्छ, सह महामन्त्री भीष्मराज आङ्देम्बेले उकेरासँग भने, ‘आजको निर्णयबाट गुनासो रहने कुरै रहेन।’
तालमेल गर्ने तर कार्यकाल नबाँड्ने
कांग्रेसले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय सहित १२ बुँदे निर्णय गरेको छ।
‘वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ’, कांग्रेसले निर्णयमा भनेको छ।
कांग्रेसले यो चुनावी तालमेल ५ वर्षसम्म स्थिर सरकारका लागि गर्न लागिएको भनेको छ। यसले माओवादी केन्द्रले भने जस्तै प्रधानमन्त्रीको कार्यकाल विभाजन गर्ने विपक्षमा छ कांग्रेस।
‘तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, साङ्गठनिक वस्तुस्थिति तथा पार्टी पङ्क्ति एवम् शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ,’ कांग्रेसले भनेको छ।
साउन २, २०७९ सोमबार २३:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।