पोखरा महानगरको न्यायिक इजलास सञ्चालनमा

पोखरा महानगरको न्यायिक इजलास सञ्चालनमा

पोखरा : पोखरा महानगरपालिकाको न्यायिक इजलास सञ्चालनमा आएको छ। गत वैशाखमा स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता भयसँगै स्थगित भएको इजलास नयाँ जनप्रतिनिधि निर्वाचित भएर पछि सञ्चालनमा आएको हो।

संविधानमा न्यायिक समितिको संयोजक उपमेयर रहने र अन्य दुई जना सदस्य नगर सभाबाट मनोनीत गर्ने व्यवस्था छ।

संवैधानिक व्यवस्था अन्तर्गत महानगरको एघारौँ नगर सभाबाट न्यायिक समिति सदस्यमा नगर सदस्यद्धय कालिदास पोखरेल र भावना श्रेष्ठ मनोनीत भयसँगै न्यायिक समितिले पूर्णता पाएको थियो।

यसअघि २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनपछि गठन भएको पहिलो न्यायिक समितिको संयोजकमा पोखरा महानरका उपप्रमुख मञ्जुदेवी गुरुङ रहेकी थिइन्।

गुरुङ दोस्रो पटक उपमेयरमा निर्वाचित भएपछि पुनः दोस्रो कार्यकालको समेत संयोजक बनेकी छन्।

उनको समितिमा रहेका सदस्यद्धय पोखरेल र श्रेष्ठ नयाँ अनुहार हुन्।

महानगरको न्यायिक इजलास हप्ताको सोमबार र बुधवार दुई दिन सञ्चालन हुँदै आएको छ। नयाँ समितिले साउनको पहिलो सोमबारबाटै इजलास सुरुवात भएको छ।

पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले कानुनको परिधिभित्र रहेर न्याय सम्पादन गरिने बताइन्।

उनले न्यायिक समितिमा रहँदा आग्रह पूर्वाग्रह नराखी निष्पक्ष रूपमा न्याय सम्पादन गर्नुपर्नेमा बताइन्।

उपप्रमुख गुरुङले न्यायिक समितिको क्षेत्राधिकारभित्र रहेर न्याय सम्पादन गर्दा दबाब र प्रभावमा नपर्ने प्रतिबद्धता व्यक्त गरिन्।

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले न्यायिक समिति अब्बल रहेको बताउँदै समितिले गरेका फैसला कार्यान्वयन गरेर जनविश्वास अभिवृद्धि गराउन आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। 

साउन २, २०७९ सोमबार १८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।