वडाध्यक्षलाई पोखरीमा धकेल्ने डिएसपी ठगबहादुरमाथि छानबिन, कारबाही गर्न दबाब बढाउँदै एमाले

वडाध्यक्षलाई पोखरीमा धकेल्ने डिएसपी ठगबहादुरमाथि छानबिन, कारबाही गर्न दबाब बढाउँदै एमाले

बुटवल : राजनीतिक विवादकोक्रममा वडाध्यक्षलाई धकेलेर पौडी पोखरीमा हाल्ने डिएसपी ठगबहादुर केसीलाई कारबाही गराउन एमालेका नेताहरूले दबाब बढाएका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका  ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई उनले आइतबार धकेलेर पौडी पोखरीमा हालेका थिए।

सो घटनापछि एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिँदै कारबाहीको माग समेत गरिरहेका छन्।

सो घटनाको भिडियो समेत भाइरल भएको छ। भिडियोमा डिएसपी केसीले जानाजान वडाध्यक्षलाई थुतेर पौडी पोखरीमा हालेको देखिन्छ।

एमालेले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर कारबाहीको माग गरेका थिए। तिलोत्तमा नगरपालिकाको नगर सभा स्थगन गरेको विरोधमा उत्रेका एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले पौडी पोखरीमा धकेलेका थिए।

आइतबार नगर सभा स्थगित गरेको विरोधमा उत्रेका तिलोत्तमा नगरपालिका वडा नं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई डिएसपी केसीले अभद्र व्यवहार गर्दै धकेलेर पौडी पोखरीमा चोबलेकोले उनी माथि कारबाही हुनु पर्ने एमालेको माग छ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी सहितको टोलीले केसी र विवादास्पद भूमिका खेल्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका थिए।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख रामकृष्ण खाँणसँग मिलेर गणपूरक सङ्ख्या पुग्न नदिन कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको हस्ताक्षर गराउने र एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई हस्ताक्षर गर्न नदिएको आरोप लगाएको छ।

नगर सभामा एमालेका ४८ जना जनप्रतिनिधि उपस्थित भए पनि ४२ जनाले हस्ताक्षर गरेपछि माइन्यूट लुकाइएको र कांग्रेसका जनप्रतिनिधि उपस्थित भएर पनि उपस्थिति नगराई मेयरको मात्र हस्ताक्षर गराई फर्जी हिसाबले गणपूरक नपुगेको देखाएर नगर सभा स्थगित गरिएको एमालेको आरोप छ।

यो विवाद बढ्दै गएपछि रुपन्देहीका एसपी रवीन्द्र रेग्मीसँग प्रहरी प्रधान कार्यालयले घटनाबारे स्पष्टीकरण समेत सोधेको छ। रेग्मीसँग घटनाको यथार्थ विवरण तत्काल जानकारी गराउन भनिएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले उकेरालाई बताए।

साउन २, २०७९ सोमबार १८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।