संसदीय निर्वाचनमा सबै क्षेत्रमा गठबन्धन गरेर जाने कांग्रेसको निर्णय

काठमाडौँ : कांग्रेस केन्द्रीय समितिको बैठकले आगामी दुवै संसदीय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ। असार २७ देखि जारी बैठकको अन्तिम दिन सोमबार यस्तो निर्णय गरेको हो।
पार्टीका प्रवक्ता प्रकाशशरण महतका अनुसार पुरै निर्वाचन क्षेत्रमा गठबन्धन गरेर जाने पक्षमा पार्टी रहेको बताए। यसका लागि पार्टीहरूसँग छलफल अगाडि बढाउने निर्णय समेत गरेको उनले जानकारी दिए।
'तालमेल गरेर जाने विषय जटिल विषय हो,' उनले भने'अन्य दलहरूले सोच बदल्नु हुन्छ भन्ने लाग्दैन।'
उनले अहिलेको तालमेलको अनुभव सकारात्मक रहेको बताए।
बैठकले स्थानीय निर्वाचन परिचालन समिति र केन्द्रीय परिचालन समितिको प्रतिवेदन अनुमोदन गर्ने, केन्द्रीय अनुशासन समिति गठन गर्ने, लेखा समिति गठन, ३ नयाँ भ्रातृ संस्थालाई मान्यता दिने निर्णय समेत गरेको छ।
साउन मसान्तभित्र भ्रातृ संस्थाका समितिलाई पूर्णता दिने, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आचारसंहिता लागू गर्ने र भदौ २ बाट २४ सम्म निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय समेत भएको छ।
'अब सम्पूर्ण ध्यान निर्वाचन केन्द्रित हुन्छ। वार्ता मार्फत गठबन्धनको निर्णयमा पुग्नेछ,' डा महतले भने।
साउन २, २०७९ सोमबार १८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।