'गोल्ड डिगर' भन्नेहरूलाई सुस्मिताको जवाफ: 'मैले सधैँ हिरा रोजेकी छु'

'गोल्ड डिगर' भन्नेहरूलाई सुस्मिताको जवाफ: 'मैले सधैँ हिरा रोजेकी छु'

एजेन्सीः पूर्व मिस युनिभर्स तथा बलिउड अभिनेत्री सुस्मिता सेन यतिबेला चर्चामा छिन्। उनको प्रेम सम्बन्धलाई लिएर चर्चा अलि बढी नै भइरहेको छ।

विश्वकै महँगो क्रिकेट फ्रेन्चाइज आईपीएलका पूर्व सीईओ ललित मोदीसँग उनी प्रेम सम्बन्धमा रहेको सार्वजनिक भएसँगै चर्चा चुलिएको हो। दुवैले प्रेममा भएको स्वीकार पनि गरिसकेका छन्।

तर धेरैले यो जोडीको खिल्ली उडाए। ललित ५६ वर्ष र सुस्मिता ४७ वर्षकी छिन्। उमेर धेरै फरक पनि होइन। तर सुस्मिताको कहिले आफूभन्दा निकै जेठासँगको प्रेम त कहिले आफूभन्दा निकै कान्छासँगको प्रेमले गर्दा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले खिल्ली उडाएका हुन्।

कतिपयले चाहिँ सुस्मितालाई 'गोल्ड डिगर' भएको आरोप पनि लगाए। अर्थात् छानीछानी पैसावालासँग प्रेम गर्ने।

सुस्मिताले यो आरोपको भने मज्जैले जवाफ दिइन्। उनले इन्स्टाग्राममा एक बोल्ड तस्बिर पोस्ट गर्दै बोल्ड जवाफ दिइन्। भनिन्, 'हाम्रो वरपरको संसार कति दुखी र दयनीय भइरहेको छ भन्ने देख्दा हृदय टुट्छ...सबैले मेरो जीवन र चरित्रप्रतिको गहन ज्ञान र विचार प्रस्तुत गरिरहेका छन्। 'गोल्ड डिगर' लाई नै पैसा कमाउने स्रोत (मनिटाइज) बनाइरहेका छन्।'

उनले थप लेखिन्, 'म सुनभन्दा परको वस्तु खोतल्छु। र मैले सधैँ हिरा नै रोजेकी छु। र ती सबै म आफैँ किन्छु।'

उनले आफू सूर्य भएको भन्दै आफू उत्कृष्ट ढंगले आफ्नो पन र आफ्नो चेतनामा अवस्थित रहेको पनि बताएकी छिन्।

साउन २, २०७९ सोमबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।