कमसल निर्माणले एक वर्ष पनि नबित्दै फेवातालको ड्याम भत्किएको महालेखाको ठहर
पोखराः फेवातालको मुहानमा निर्माण गरिएको सिल्ट्रेसन ड्याम कमसल भएको महालेखापरीक्षकको प्रतिवेदनले ठहर गरेको छ। कुल २८ करोडको लागतमा फेवाको मुहानमा बनाइएको सिल्ट्रेसन ड्याम प्राकृतिक विपत्तिका कारण नभई कमसल निर्माणले भत्किएको निष्कर्ष निकाल्दै महालेखाले यस्तो उल्लेख गरेको हो।
महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘अँधेरी खोला र हर्पन सिल्ट्रेसन ड्यामको स्थलगत अवलोकन गर्दा ड्यामको तल्लो भागमा ढुंगाको गारो भत्किएको र लञ्चिङतर्फको मर्मत कार्य भएको देखिएन। गुणस्तरीय निर्माणमा महानगरपालिकाले ध्यान पुर्याएको देखिएन।’
फेवातालमा बर्सेनी जम्मा हुने ठूलो मात्राका गेग्रान रोकेर ताल संरक्षण गर्ने भन्दै पोखरा महानगर र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा सिल्ट्रेसन ड्याम बनाइएको थियो। ०७६ पुस ११ गते प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले ड्यामको संयुक्त शिलान्यास गरेका थिए।
सिल्ट्रेसन ड्याम निर्माणका क्रममै गुणस्तरहीन काम भएको भन्दै स्थानीयले विरोध समेत गरेका थिए। निर्माण गरिएका चार वटा बाँधमध्ये अघिल्लो वर्ष हर्पन खोलामा निर्माण गरेको सिल्ट्रेसन ड्याम बर्खामा उर्लेको खोलाले भत्काएको थियो।
महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘अँधेरी खोला र हर्पन सिल्ट्रेसन ड्यामको स्थलगत अवलोकन गर्दा ड्यामको तल्लो भागमा ढुंगाको गारो भत्किएको र लञ्चिङतर्फको मर्मत कार्य भएको देखिएन। गुणस्तरीय निर्माणमा महानगरपालिकाले ध्यान पुर्याएको देखिएन।’
हर्पन, अँधेरी, वेतयानी र लौरुक गरी चार खोलामा बनेका ड्याममध्ये हर्पनको ड्याम वर्ष दिन नबित्दै भत्किएको थियो। अहिले ड्याम भत्केर निर्माण सकिएको वर्ष दिन पनि नबित्दै खण्डहर बनेको छ।
ड्याम निर्माण गर्दा तालको संरक्षण पनि हुने र त्यहाँ थुप्रने ढुंगा, गिटी बेचेर महानगरलाई आम्दानी पनि हुने उद्देश्य राखिएको थियो। चार वटा ड्याममा संकलन हुने ग्रेगान (गिट्टी/बालुवा) निकालेर बिक्री गर्दा वार्षिक करिब २३ करोड आम्दानी गर्न सकिने दावी गरिएको थियो।
ड्याममा एक हप्तामा एक सय ५० हजार घनमिटर ग्रेगान जम्मा हुने महानगरको दावी थियो।
यसअघि गण्डकी प्रदेश सरकारले विवादित ड्याम अध्ययनका लागि बनाएको समितिले पनि ‘फेवा सिल्ट्रेसन ड्याम समस्या र न्यूनीकरण’ नामको प्रतिवेदनमा निर्माणका क्रममा गम्भीर त्रुटि भएको औंल्याएको थियो।
फेवा सिल्ट्रेसन प्रालि नामक कम्पनीलाई २४ वर्षका लागि उक्त ड्याम ठेक्कामा दिइएको छ। २८ करोड १९ लाख ८६ हजार रुपैयाँ लागतमा बनेको ड्याम कमसल निर्माण भएको भन्दै सुरुदेखि नै विवाद थियो। अहिले ड्याम पुनःनिर्माणका लागि ५४ करोड रुपैयाँको एस्टिमेट लागत निकालेर कम्पनीले महानगरमा बुझाएको छ।
वेतयानी र लौरुकमा ५० मिटर लम्बाइ, ५० मिटर चौडाइ, ४ मिटर उँचाइको ड्याम बनाइएको थियो। त्यसैगरी अँधेरी र हर्पन खोलामा एक सय मिटर लम्बाइ, एक सय मिटर चौडाइ, ४ मिटर उँचाइको सिल्ट्रेसन ड्याम बनाइएको थियो।
पोखरा- २४ मा पर्ने वेतयानी खोलामा निर्माण गरिएको सिल्ट्रेसन ड्याम श्री गीता/जयनेपाल ईश्वर जेभी, स्याङ्जाले निर्माण गरेको हो। यसको लागत पाँच करोड ४६ लाख ५८ हजार ९७५ रहेको छ।
त्यसैगरी पोखरा- २४ मा पर्ने लौरुक खोलामा निर्मित ड्याम खड्का कृष्ण/पि.के जेभी दाङले निर्माण गरेको हो। यसको लागत पाँच करोड ७४ लाख ८४ हजार ९९८ थियो।
पोखरा महानगरको वडा नं २३ र २४ मा पर्ने अँधेरी खोलामा निर्मित सिल्ट्रेसन ड्याम पनि खड्का कृष्ण/पि.के जेभी दाङले नै निर्माण गरेको थियो। यसको लागत ९ करोड ६ लाख ४ हजार ५५८ छ।
फेवातालको सबैभन्दा माथिल्लो सिरान क्षेत्रको हर्पन खोलामा निर्मित सिल्ट्रेसन ड्याम पनि खड्का कृष्ण/पि.के जेभी दाङले नै निर्माण गरेको हो। यसको लागत ७ करोड ८८ लाख ६२ हजार ५४१ रहेको थियो।
यसअघि गण्डकी प्रदेश सरकारले विवादित ड्याम अध्ययनका लागि बनाएको समितिले पनि ‘फेवा सिल्ट्रेसन ड्याम समस्या र न्यूनीकरण’ नामको प्रतिवेदनमा निर्माणका क्रममा गम्भीर त्रुटि भएको औंल्याएको थियो।
साउन २, २०७९ सोमबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।