१७ नम्बर वडाका अध्यक्ष मानन्धर भए काठमाडौं महानगरको प्रवक्ता
काठमाडौंः काठमाडौं महानगरपालिकाले प्रवक्तामा वडा नं १७ का वडाअध्यक्ष नवीन मानन्धर नियुक्त भएका छन्। उनी महानगरको सूचना प्रविधि समितिका संयोजक समेत हुन्।
आइतबार महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको छैटौँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो।
साथै बैठकले ईन्द्रजात्रा अवलोकन गर्न काठमाडौंसँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णय समेत गरेको छ। यसअघि २०७६ सालको ईन्द्रजात्रा अवलोकन गर्न महानगरले ६ वटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो।
त्यसबेला पाँच देशका ११ नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी भएका थिए। बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति पनि दिएको छ।
चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ। यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको छ।
बैठकमा राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थाने राजस्व नतिरेको पनि जानकारी गराएका थिए।
साउन २, २०७९ सोमबार ०८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।