'रिफर सेन्टर'को परिचय फेरेर 'मेडिकल हब' बन्दै लुम्बिनी प्रादेशिक अस्पताल, मासिक ३० हजारले लिन्छन् ओपीडी सेवा
बुटवलः ११२ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाह सुध्रँदै गएको छ। कुनै बेला ‘रिफर सेन्टर’ मात्रै रहेको अस्पताल हाल परिचय फेरेर 'मेडिकल हब' बन्दै छ। र, हाल अस्पतालले २४सै घण्टा विज्ञेषज्ञ सेवा समेत दिने गरेको छ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाभित्र समावेश गरेको प्रादेशिक अस्पतालमा आउँदो कात्तिकदेखि सेवा प्रवाह अझ छिटो-छरितो हुने बताइएको छ। बुटवलका संघसंस्थाहरूको सहयोगमा बनेका भवनबाट सेवा प्रदान गरिरहेको अस्पतालले कात्तिकदेखि अझ स्तरीय भवनबाट गुणस्तर सेवा दिन लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकालले बताए।
‘भदौमा ओपीडी सेवा नयाँ भवनबाट सुरु हुन्छ। कात्तिकसम्म स्त्री तथा बाल रोग र इमरजेन्सी नयाँ भवनमा जानेछ। त्यसपछि सेवा प्रवाह अझ सहज हुनेछ’, उनले भने।
पछिल्लो एक वर्षमै अस्पतालमा विभिन्न विभागका नयाँ ९५ बेडहरू थप भएका छन्। गत फागुनमा ६ बेड मात्र रहेको आईसीयू अहिले ४० बेड पुगेको छ। ४५ बेडको मेडिकल वार्ड यो एक वर्षको बीचमा तयार भएको छ। एक वर्षअघि २२ वटा मात्र इमरजेन्सी बेड रहेकोमा अहिले १३ बेड थप भएको छ।
‘अस्पतालमा हामीले इमरजेन्सी बेड बढाए पनि अझै अपुग छ। अहिले पनि भुईँमै राखेर इमरजेन्सीमा उपचार गर्नुपर्ने अवस्था छ’, उनले भने। ३५ बेड रहेको इमरजेन्सीमा हाल ७३ जना बिरामीले उपचार गराइरहेको उनले बताए।
‘कात्तिकमा हामी नयाँ भवनमा गएपछि ६० बेडको इमरजेन्सी सेवा सुरु हुनेछ। त्यसपछि धेरै बिरामीले सेवा लिन सहज हुनेछ’, उनले भने।
सम्बन्धित सबै पक्षले गरेको मेहनतले अस्पताल क्रमिक रूपमा सुधार भएको उनको भनाइ छ।
५ बेड डाइलाइसिस मात्र रहेकोमा अहिले १७ बेड डाइलाइसिसका लागि तयार भएको भन्दै आईसीयूमा समेत एक बेड डाइलाइसिसका लागि राखेको उनले बताए। त्यस बाहेक ४ बेडको न्युरो, एचडीयू पनि सञ्चालनमा रहेको छ।
त्यस्तै अस्पतालमा विस्तारित अस्पताल सेवा (ईएचएस) सुरु भएको छ। यो अन्तर्गत २२ बेडको पेइङ वार्ड सेवा सुरु भएको छ। ५ बेडको प्लाष्टिक सर्जरी सेवा पनि सुरु भएको उनले बताए।
अस्पतालले छिट्टै क्याथ ल्याब, भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा, अल्ट्रासाउण्ड सेवा पनि सुरु गर्ने तयारीमा रहेको छ। त्यति मात्र नभई सिकलसेल बिरामीका लागि छुट्टै काउन्टर पनि अस्पतालले राख्न थालेको डा. ढकालले बताए।
‘हामीले अस्पतालको गुणस्तरलाई कायम राख्दै सेवा प्रदान गरिरहेका छौँ। पछिल्लो तथ्याङ्क हेर्दा पनि अस्पतालमा आउने बिरामीको संख्याले हाम्रो सेवा कस्तो छ भन्ने पुष्टि गर्छ’, उनले भने।
यसअघि मासिक २३ हजारले सेवा लिने गरेकोमा हाल २८ देखि ३० हजारले ओपीडी सेवा लिएको उनले बताए। बिरामीको संख्या मात्र नभई बीमित बिरामीको भुक्तानी पनि यसअघिको तुलनामा बढेको उनले बताए।
गत वर्षको वैशाखदेखि असारमा ७ हजार बीमित बिरामीले सेवा लिएकोमा यस वर्षको पछिल्लो तीन महिनामा ११ हजार बीमितले सेवा लिएको र त्यसबापत २ करोड रुपैयाँभन्दा बढीको सेवा पाएको उनको दावी छ।
जनशक्ति अभाव
हाल अस्पतालमा जनशक्ति अभाव छ। जनशक्ति कम हुँदा गुणस्तर खस्कने भएकाले सक्दो छिटो जनशक्ति थप गर्न प्रदेश सरकारलाई उनले आग्रह पनि गरेका छन्।
पछिल्लो नौ महिनामा कुनै पनि कर्मचारी भर्ना नगरेको भन्दै सेवा विस्तारसँगै आर्थिक पनि जोडिने भएकाले दीगो आर्थिक स्रोतको खोजी गरिदिन उनले सरकारलाई आग्रह गरेका हुन्।
हाल अस्पतालमा ५ सय कर्मचारी छ। कोभिडको समयमा अस्पतालमा सात सय कर्मचारी थिए। त्यसमध्ये १५७ जना कोभिड करार र ४० जना आईसीयू करारको चैत मसान्तपछि म्याद थप नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको उनले बताए।
‘१९७ जना कर्मचारीको भरमा हामीले ९५ बेड थप गरेर सेवा सुरु गरेका थियौँ। तर उहाँहरूको चैत मसान्तपछि म्याद थप भएन र सेवा प्रवाह गर्न कठिनाइ भएको छ। त्यसैले जनशक्तिको माग हामीले गरेका हौँ’, उनले भने।
यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नरेन्द्र रानाले अस्पतालबाट जनशक्तिको माग भइरहेको बताउँदै कामको विश्लेषण गरेर मात्र सरकारले जनशक्ति थप गर्ने बताए।
अहिले भइरहेकै जनशक्तिको परिचालन राम्रोसँग नभएको भन्दै उनले थरीथरीका कर्मचारीका कारण अस्पताल समस्यामा परेको बताए।
अस्पतालको जनशक्ति थप र आर्थिक स्रोत जुटाउनमा सरकार गम्भीर छ: मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको गौरव आयोजना रहेको अस्पतालबाट गुणस्तरीय सेवा जनताले चाहेको भन्दै त्यसका लागि आवश्यक जनशक्ति थप गर्न सरकार तयार रहेको बताए।
जनशक्ति अपुग हुँदा कार्य गर्न कठिनाइ हुने भन्दै आवश्यकताको विश्लेषण गरेर जनशक्ति थप हुने बताए। साथै उनले प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई दीगो आर्थिक स्रोतका लागि सटर निर्माण गर्न र सँगै क्वाटर निर्माणको मास्टर प्लान बनाउन आग्रह गर्ने समेत बताए।
साउन २, २०७९ सोमबार ०७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।