हतियार बोकेको युक्रेनी कार्गो विमान दुर्घटना: ८ जनाको मृत्यु, घटना स्थलमा विषाक्त पदार्थ फैलियो

हतियार बोकेको युक्रेनी कार्गो विमान दुर्घटना: ८ जनाको मृत्यु, घटना स्थलमा विषाक्त पदार्थ फैलियो
AP

एजेन्सी : सैन्य सामान बोकेर सर्बियाबाट बंगलादेश जाँदै गरेको युक्रेनी कार्गो विमान ग्रीसमा दुर्घटना भएको छ। विमान पुरै दुर्घटनाग्रस्त हुँदा चालक दलका आठ सदस्यको मृत्यु भएको सर्बियाका रक्षामन्त्रीले पुष्टि समेत गरेका छन्। 

'दुर्भाग्यवश, हामीले प्राप्त गरेको जानकारी अनुसार, चालक दलका आठ सदस्यको दुर्घटनामा मृत्यु भएको छ,' सर्बियाका रक्षामन्त्री नेबोजसा स्टेफानोभिकले आइतबार एक पत्रकार सम्मेलन मार्फत जानकारी दिए। उनका अनुसार, शनिबार राति करिब ८ः४० बजे एन्टोनोभ एन–१२ दक्षिणी सर्बियाको निस एयरपोर्टबाट उडेको थियो, जसमा “लगभग ११ टन सैन्य उद्योगका सामानहरू“ अर्थात् एक निजी सर्बियाको कम्पनी वालिरबाट खानीहरू बोकेर बंगलादेशीहरूका लागि उडेको थियो। 

त्यस्तै युक्रेनको विदेश मन्त्रालयले आठ जना चालक दल युक्रेनी नागरिक रहेको बताएको छ। युक्रेनका प्रवक्ता ओलेग निकोलेन्कोले फेसबुकमार्फत, 'दुर्घटनाको प्रारम्भिक कारण एउटा इन्जिन फेल भएको हो' जनाएको छ। 

विमान सञ्चालन गर्ने युक्रेनी एयरलाइन मेरिडियनका महानिर्देशक डेनिस बोगडानोभिचकाले पनि जर्मन प्रसारक ड्युचे वेलेलाई चालक दल सबै युक्रेनी भएको पुष्टि गरेका थिए। 

निजी रूपमा सञ्चालित एन्टोनोभमा आगो लागेको देखेको र विस्फोटहरूको आवाज सुनेको प्रत्यक्षदर्शीहरूले पनि बताएका छन्। सामाजिक सञ्जालहरुमा देखिएको भिडियोहरूमा पनि ग्रीसको कावला शहर नजिकैको पालेचोरी गाउँमा शनिबार विमान जमिनमा ठोक्किँदा धुवाँको मुस्लोले फायरबलले घेरेको थियो। 

एक स्थानीय संचार माध्यमको भिडियो फुटेजमा घटनास्थल र विमानलाई ठूलो क्षेत्रमा छरिएका टुक्राहरूमा देख्न सकिन्छ। सरकारी टेलिभिजनका अनुसार कार्गोको विषाक्तताको डरले स्थानीयहरूलाई टाढा बस्न अनुरोध गरे सँगै सेना, विस्फोटक विज्ञहरू र ग्रीक आणविक ऊर्जा आयोगका कर्मचारीहरू सुरक्षित मानिएपछि मात्र त्यहाँ पुग्नेछन्।

फायर ब्रिगेडका अधिकारी मारियोस अपोस्टोलिडिसले पत्रकारहरूलाई भने, 'विशेष उपकरणहरू र नाप्ने उपकरणहरू सहित अग्नि सेवाका मानिसहरूले विमानको प्रभावको बिन्दुमा पुगेका छन् र खेतहरूमा छरिएका फ्युसेलेज र अन्य भागहरू नजिकबाट हेरेका छन्। घटना स्थल  सुरक्षित भएको पुष्टि पछि मात्र खोजी कार्य परिचालन हुने उनको भनाई छ।

दुर्घटनास्थलबाट दुर्गन्ध फैलिए पछि नगरपालिका, प्रहरी र दमकलका कर्मचारीहरू सम्मिलित समन्वय समितिले छेउछाउका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको थियो। समाचार अनुसार उनीहरूलाई रातभरि झ्यालहरू बन्द गर्न, घरबाट बाहिर ननिस्कन र मास्क लगाउन सल्लाह दिइएको छ। विषाक्त धुवाँका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि दुई जना दमकल चालकलाई आइतबार बिहान अस्पताल लगिएको थियो।

त्यहाँका स्थानीय जियोर्गोस अर्कोन्टोपौलोसले राज्य प्रसारक ईआरटी टेलिभिजनलाई विमानबाट आवाज आए पछि केही गडबड भएको महसुस गरेको बताएका छन्। 'स्थानीय समय रातीको १०ः४५ मा, विमानको इन्जिनको आवाजले म छक्क परें,“ उनले भने, “म बाहिर गएर हेर्दा इन्जिनमा आगो लागेको देखे।'

दुर्घटनास्थलमा सात दमकल तैनाथ गरिए पनि लगातार विस्फोटका कारण त्यहाँ सम्म पुग्न नसकेको स्थानीय अधिकारीहरूले बताएका छन्।

साउन १, २०७९ आइतबार २१:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।