काठमाडौं महानगरले फुटपाथबाट झिक्यो ‘ट्रि गार्ड’

काठमाडौं महानगरले फुटपाथबाट झिक्यो ‘ट्रि गार्ड’

काठमाडौंः काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा रहेका 'ट्रि गार्ड' झिकिएको छ। फुटपाथमा वृक्षारोपणको क्रममा राखिएका 'ट्रि गार्ड' पुनः प्रयोग गर्नको लागि महानगरले झिकेको हो।

नेपाल प्रहरी, ट्राफिक प्रहरी र काठमाडौं महानगरपालिकाको वृक्षारोपण कार्यक्रमअन्तर्गत विभिन्न समयमा ती ट्रि गार्ड राखिएको थियो। वृक्षारोपण कार्यक्रमअन्तर्गत तीनकुने, नयाँ बानेश्वर, न्युरोड, रत्नपार्कलगायत क्षेत्रको फुटपाथमा राखिएका ट्रि गार्ड केही दिनअघि मात्र महानगरपालिकाको वातावरण विभागले झिकेको थियो।

दुई सयभन्दा बढी संख्यामा रहेका ट्रि गार्ड हाल विभागले टेकुस्थित ट्रान्सफर स्टेशनमा राखिएको छ।

वृक्षारोपण गरेको स्थानमा विरुवाहरू हुर्किसकेकाले ट्रि गार्ड हटाइएको काठमाडौं महानगरपालिकाको वातावरण विभागका अधिकृत उमेश नेताले बताए। ‘सडकहरूमा वृक्षारोपण कार्यक्रमको बेला राखिएको थियो। विरुवा हुर्किसकेको हुँदा हाल ट्रि गार्ड झिकिएको हो’ उनले भने, ‘हाम्रो नगर प्रहरीको आदेश र निगरानीमा झिक्ने र अन्यत्र वृक्षारोपण गर्दा मागबमोजिम पुनः प्रयोगका लागि वितरण गरिन्छ।’

उनका अनुसार ती ट्रि गार्डहरू अब नयाँ बोट रोप्दा काम लाग्नेछन्। उनले भने, ‘अहिले महानगरपालिकाको एउटा वडामा वृक्षारोपणको लागि भनेर अहिले एउटा संस्थाले मागेकोले पुनः प्रयोगका लागि केही थान सो संस्थालाई दिइएको छ। पुनः प्रयोग गरिएन भने थोत्रो भएर बिग्रिन्छ।’

असार ३२, २०७९ शनिबार १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।