त्रिवि शिक्षण अस्पतालको ४० वर्ष: ३०१ शय्याबाट एक हजार शय्यामा विस्तार, कित्ता छुट्याउनुपर्ने उपकुलपतिको तर्क
काठमाडौंः तीन सय एक शय्याबाट सुरु भएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ४०औं वर्षमा प्रवेश गरेको छ। ४०औं वर्ष पुग्दा अस्पतालको शय्या सङ्ख्या एक हजार पुगेको छ। शुक्रबार अस्पतालको ४०औं वर्षिकोत्सव समारोह थियो।
कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले पेडियाट्रिक सर्जरी, पेडियाट्रिक आईसीयू, आईसीयू बी, सुरेश वाग्ले क्यान्सर समेतमा सेवा विस्तार भएकाले दुई वर्षअगाडिसम्म सात सय बेडमा सीमित अस्पतालमा हाल करिब एक हजार बेड सञ्चालनमा आएको बताए।
कित्ता छुट्याउनुपर्ने उपकुलपतिको तर्क
कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले संकटको अवस्थामा शिक्षण अस्पतालको महत्त्वपूर्ण भूमिका भए पनि संकट टरेपछि सरकारले बिर्सने गरेको चलन भएको भन्दै गुनासो पनि पोखे। यस्तै त्रिवि शिक्षण अस्पताललाई दशगजाभित्र नराखी कित्ता छुट्याउनुपर्ने पनि उनले तर्क गरे।
‘त्रिवि शिक्षण अस्पताललाई दशगजाभित्र नराखिदिनुहोस्’, उनले भने, ‘स्वास्थ्य मन्त्रालय भन्छ–हाम्रो मन्त्रालय अन्तर्गत यो अस्पताल होइन। शिक्षा मन्त्रालय भन्छ–यो विश्वविद्यालयको अस्पताल हो।’
उपचार सेवा सबैलाई चाहिने भएकाले शिक्षण अस्पतालको कित्ता प्रष्ट पारिनुपर्ने उपकुलपति बाँस्कोटाले तर्क गरे। यस विषयमा छलफल भए पनि निष्कर्ष निस्कन नसकेको उनले सुनाए।
त्यसैगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा.डा. दिव्या सिंह शाहले नेपालमा मात्रै नभएर शिक्षण अस्पतालले उत्पादन गरेको जनशक्तिले विदेशमा समेत सेवा दिइरहेको र नेतृत्त्वदायी भूमिकामा काम गरिरहेको बताइन्।
उनले देशकै उत्कृष्ट अस्पतालको रूपमा शिक्षण अस्पतालले नाम कमाएको पनि बताइन्। शाहले भनिन्,‘४० वर्षसम्म आइपुग्दा यो अस्पताल देशकै उत्कृष्ट नमूना अस्पतालको रूपमा पनि नाम कमाइसकेको छ।’
कार्यक्रममा विभिन्न अतिथिहरुले अस्पतालको सेवाका बारेमा प्रशंसा गरेका थिए।
केही नयाँ सेवा सुरु
अस्पतालका कार्यकारी निर्देशक डा. काफ्लेले सुरेश वाग्ले भवनमा अंकोलोजी ओपीडी, डे केयर अंकोलोजी, अंकोलोजी इन पेसन्ट, ३० बेडको एचडीयू क्यान्सर, अंकोलोजी फार्मेसी तथा २० बेडको आईसीयू निर्माणकार्य अन्तिम चरणमा पुगेको बताए।
त्यसैगरी ३१ बेडको पिडियाट्रिक सेवा (सर्भिस), पाँच बेडको एचडीयूसहित सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
काफ्ललेका अनुसार काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा इमर्जेन्सिमा एक सय २८ स्लाइसको सिटी स्क्यान मेसिन पनि सञ्चालनमा ल्याइएको छ।
यस्तै हेमाटोलोजी सेवा विस्तार अन्तर्गत एफेरिसिस मेसिन पनि सञ्चालनमा ल्याई प्लाज्मा थेरापी सुरु गरिएको बताइएको छ। मिर्गौला प्रत्यारोपण लगायत अन्य अंग प्रत्यारोपणमा आवश्यक एचएलए इम्युनोहिष्टोकेमिष्ट्री लगायत जाँचहरू चाँडै सञ्चालन हुने भएको छ।
अस्पतालले खरिद विधिलाई पारदर्शी बनाउन ‘ई’ टेण्डरको व्यवस्था गरेको छ।
कार्यकारी निर्देशक डा. काफ्लेका अनुसार आईभीएफ सेवा आंशिक रूपमा सञ्चालनमा ल्याइएको छ। लिक्विड अक्सिजन प्लान्ट स्थापनागरी सञ्चालनमा ल्याइएको छ।
त्यसैगरी करिब दुई करोडको इसीएमओ मेसिन खरिद गरी सञ्चालनमा ल्याइएको छ। करिब ३० बेड अतिरिक्त भेन्टिलेटरको व्यवस्था गरिएको छ।
अभाव छ मेसिन र संरचनाको
कार्यकारी निर्देशक डा. काफ्लेका अनुसार शिक्षण अस्पतालमा दाँत विभागका लागि ओपीजी एक्स–रे तथा सीबी सीटी, बोन स्वास्थ्य जाँचका लागि डेक्सा स्क्यान, क्यान्सर परीक्षणका लागि माइक्रोटोम मेसिन आवश्यक छन्।
त्यसैगरी कुरुवा घर, कर्मचारीको आवतजावतका लागि दुई वटा इलेक्ट्रोनिक बस लगायत आवश्यक रहेको उनले जानकारी दिए।
यस्तै अस्पतालको क्याफेटेरिया सञ्चालन, आउटसोर्स जनशक्ति, अक्सिजन ग्यासको नियमित आपूर्ति, वृद्धि भएको तलब भत्ताका लागि आवश्यक स्रोत परिचालन जस्ता विषय अस्पतालको चुनौतीको रूपमा रहेको छ।
दातृसंस्था र कर्मचारीलाई सम्मान
अस्पतालको वार्षिकोत्सव कार्यक्रममा दातृ संस्था तथा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। त्रिवि शिक्षण अस्पताललाई विशेष योगदान गर्ने दातृ संस्थाहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी कार्यालय सहयोगी तथा करारमा कार्यरत कर्मचारीहरूलाई नगद पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा अस्पतालको सेवामा उत्कृष्ट काम गर्ने कर्मचारीलाई कदरपत्र तथा प्रशंसापत्र वितरण गरिएको थियो। त्यसैगरी कोभिड–१९ संक्रमितको उपचारमा विशेष योगदान गरेका चिकित्सक, नर्स, तथा कर्मचारीलाई सम्मान गरिएको थियो।
असार ३२, २०७९ शनिबार १३:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।