सुडानमा जातीय दङ्गा हुँदा ३१ जनाको मृत्यु

सुडानमा जातीय दङ्गा हुँदा ३१ जनाको मृत्यु

एजेन्सीः सुडानमा भएको जातीय दङ्गामा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ। देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

त्यहाँको सुरक्षा समितिले जारी गरेको वक्तव्यमा भनिएअनुसार ती घटनामा परी अरु ३९ जना घाइते भएका छन्। हाल सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन्। केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ पनि गरेका छन्।

हाल घटनास्थलमा कर्फ्यु आदेश जारी गरिएको छ। ब्लु नाइल प्रदेश अन्तर्गत पर्ने अल डामाजिन र अल रुसाइरिजमा स्थानीय समय अनुसार बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो।

स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका थिए।

अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सीमा क्षेत्र हो। सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक सङ्कट छ।

असार ३२, २०७९ शनिबार १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।