भावुक स्वभावका गायक प्रकाश दूतराज भन्छन्: पोछा लगाएको देख्दा अडिन्छु, आफैँले भुईँ पुछेको याद आउँछ
म्याग्दी जिल्लाको बेनीमा जन्मिएका गायक हुन् प्रकाश दूतराज। तर, उनी गीत गाउने मात्रै होइन, गीत लेख्ने पनि गर्छन्। संगीत पनि भर्छन्। र आफ्नै गीतको म्युजिक भिडियोमा अभिनयको अभिभारा समेत आफैँ बोक्छन्।
'आरने' बोलको गीतबाट उनको चर्चा सुरु भयो। 'बैनी झ्यालैमा' बोलको गीतले उनलाई लोकगीत प्रेमीको माझमा पुर्यायो। उनले गाएको 'घर कता हो बैनी'को गीतले सर्वाधिक सफलता हासिल गर्यो।
लोकगीत प्रेमी मात्रै होइन, लोकगीत सुन्दै नसुन्ने श्रोतालाई पनि प्रकाशको मौलिक स्वर र गीतमा भएको संगीतले आकर्षित गर्यो।
घर कता हो बैनीको गीतपछि उनले 'जाम भो माइली' बोलको गीत बजारमा ल्याए। यो पनि उत्तिकै सफल भयो। एक महिनाअघि सार्वजनिक भएको गीत 'मन भुल्छ'ले पनि यतिबेला दर्शकको मन भुलाइरहेको छ। उनै प्रकाशसँग उकेराकर्मी पुष्पा थपलियाले गरेको कुराकानीको सम्पादित अंश:
यति धेरै चर्चामा आउँछु भनेर कहिल्यै सोच्नुभएको थियो?
थिइनँ। सानैदेखि गुन्गुनाउन मनपर्ने, नाच्न मन पराउने मानिस हुँ म। सपनामा समेत यत्तिको चर्चित हुँला भनेर सोचेको थिइनँ।
दुःख सबैलाई छ, तर अभाव र संघर्षले नै मलाई सफल बनायो। खेती किसानी गरेर जीविकोपार्जन गरेको गरिब परिवारमा जन्मिएँ। हामी जन्मदिनमा चाउचाउ खाएर सेलिब्रेट गथ्यौं। त्यो हाम्रा लागि अमूल्य र महँगो खानेकुरा थियो।
ती दिनहरू सम्झन त मन लाग्दैन। तर त्यही अभावले सिकाएको जीवन अहिले बाँचिरहेको छु। कहिलेकाहिँ म सपनामा बाँचिरहेको छु जस्तो लाग्छ। तर यो विपना हो, मलाई धेरैले माया गरिरहनुभएको छ।
बेनीदेखि काठमाडौंसम्मको यात्रा कसरी तय भयो?
अहिलेसम्म गरेका संघर्षमय यात्रा यही नै हो। आफू जस्तो माहोलमा जन्मियो हुर्कियो, त्यस्तै बनिने रहेछ। साथीभाई खेल्न जान्थे, आफू घाँस दाउरामा जानुपर्थ्यो। भाइ बहिनी साना थिए, आफू जेठो छोरो।
मैले नौ कक्षा पढ्दादेखि काम गर्नथालें। एउटा अफिसमा सरसफाइको काम गर्थें। बिहान उठ्ने, ढोका खोलिदिने अनि सरसफाई गर्ने। घर जाने, ड्रेस लगाउने र खाना खाएर पढ्न जाने।
स्कुलबाट आएपछि फेरि त्यही अफिस जाने। दिनभर गरेका फोहोरहरू सफा गर्ने। तलब महिनाको ३५ सय दिनुहुन्थ्यो। पछि बढाएर ६ हजार अनि १० हजारसम्म पुगेको थियो।
अहिले विभिन्न होटलहरूमा जाँदा पोछा लगाइरहेका मानिस देखेँ भने म टक्क अडिन्छु। कसैले भर्खर पोछा लगाएको छ भने नसुकुञ्जेल रोकिन्छु। किनभने पोछा लगाइरहेको चिसो भुईँमा फोहोर जुत्ताले टेक्दा कस्तो महसुस हुन्छ भन्ने मलाई थाहा छ। अरूले 'हिँड हिँड यसको कामै यही त हो' भन्दै चिसो भुईँमा जुत्ताको दाग बसाल्दाको क्षण भोगेको हो नि त।
आँखा रसाइहाल्यो, निकै भावुक हुनुहुन्छ कि क्या हो!
(हाँस्दै) पुराना कुरा गर्दा कताकता पुगिहाल्छु, बानी नराम्रो छ। त्यही भएर टेलिभिजन, रेडियोमा अन्तर्वार्ता दिँदा धेरै कन्सियस हुन्छु। अफिसमा काम गरेको कुरा भावमा बगेर तपाईंहरूको मिडियामा पहिलोपटक सेयर गरें।
घरबाट युएई जान रातो टीका लगाएर हिँडेको थिएँ। तर दलालले फसाए। फेक डकुमेन्ट दिएर पैसा खाएर भाग्यो। काठमाडौंसँग मेरो परिचय नै झुटबाट सुरु भयो।
हामी गरिब परिवारका मानिसको सोच भनेको छोरी ठूली भएपछि विवाह गरिदिने, छोरा ठूलो भएपछि विदेश पठाउने हो।
म पनि ठूलो भएँ, घरबाट विदेश जान हिँडेको पैसा डुबाएर फर्कन मिलेन। त्यसैले अर्को भिसा नआउञ्जेल ६ देखि ७ महिनासम्म पर्खनुपर्ने भयो। जीविकोपार्जन गर्न दोहोरी साँझमा काम गर्नथालें।
सुरुमा ३५ सय तलब पाएको थिएँ। सानैदेखि लगाव भएकाले म यतै रमाउन थालें। पानीजस्तो मान्छे हुँ म, जुन रङ्ग मिसायो त्यसैमा घुलिहाल्ने। कहिलेकाहिँ खराब संगतमा परौंला कि भन्ने डर पनि लाग्छ।
तर, संगीतको संगत गरियो। यसैको मोहनीमा फसिहालें। केही समयपछि भिसा आएको थियो तर गीत चलिसकेको थियो। यदि गीत नचलेको हुन्थ्यो भने म दुबईको गर्मीमा पसिना बगाइरहेको हुन्थें होला।
चर्चित हुनुभयो। भाइरलको जमाना छ। आफ्नो चर्चालाई सधैं जोगाइराख्न केही योजना बनाउनुभएको छ?
योजना त सफल हुँदै हुँदैनन्। योजना सफल हुन्थे भने यतिबेला म विदेशमा हुन्थें। त्यसैले मैले योजना बनाउन छोडेको छु। कर्ममा भने विश्वास राख्छु।
काम गर्दै जाने हो। दर्शक-श्रोताको माया पाउन अझै मेहनत गरेर सिर्जनशिल काम गर्नेछु।
अहिलेसम्म आलोचना सुन्नु परेको छैन। आलोचित हुन्छु कि भन्ने डरले सताइरहन्छ। कसैले केही नराम्रो भनिहाले पनि मलाई त्यो स्वीकार्न गाह्रो पर्छ।
चर्चामा आइसकेपछिको चुनौती पनि यही रहेछ, पहिलेभन्दा राम्रो काम कसरी देखाऊँ। पहिले यस्तो प्रेसर महसुस हुन्थेन। जस्तो निकाले पनि सीमित दर्शक थिए। केही मतलब थिएन। अब त मानिसहरूलाई प्रकाश दूतराजले नराम्रो गीत निकाल्दैन भन्ने परिसकेको छ।
दर्शकलाई नराम्रो लाग्ने या मन नपर्ने गीत निकालें भने, साङ्गीतिक कामहरू पहिलेको भन्दा कमजोर भयो भने के गर्ने होला भनेर छट्पटिन्छु। चिन्ता लाग्छ।
कुनै ब्याकअप पनि छैन। आफैँ गीत निकाल्छु, आफैँ रमाउँछु। पहिलो गीत निकालेपछि नाफा भएको पैसाले दोस्रो गीत निकाल्ने गरिरहेको छु।
लोकगीतमा अन्य गीतको म्युजिक भिडियोभन्दा खर्च धेरै लाग्छ। अलि मेहनत गरेर राम्रै बनाऔं न त भन्ने हो भने तीन वटा म्युजिक भिडियो बनाउने पैसा एउटैमा लगानी हुन्छ।
अनि अरुसँग काम गरेको खासै देखिन्न नि?
त्यही त धेरैले यो प्रश्न सोध्नुहुन्छ। मैले बाहिरी गीतकार, कम्पोजरसँग काम नगरेको होइन, केही गरेको छु। त्यो सुरुवाती ताका थिए।
चर्चामा आएपछि बाहिरी काम धेरै हुनुपर्ने हो तर मेरो भएको छैन। अफर नै आएका छैनन्। नयाँ कलाकार भएकाले नआएको हुनसक्छ। फेरि मेरो फ्लेवर छुट्टै भएकाले पनि अरूले अफर नगर्नुभएको हुनसक्छ।
यसले आफैँ लेख्छ, आफैँ गाउँछ, आफैँ भिडियो बनाउँछ, अभिनय पनि आफैँ गर्छ र आफ्नै युट्युब च्यानलमा राख्छ भन्ने भएर पनि अफरहरू नआएको हुनसक्छ।
कलाकारिता क्षेत्रमा मानिसहरू दुई वटा जीवन बाँचिरहेका हुन्छन् भनिन्छ। के यो साँचो हो?
मैल पनि सुनेको कुरा हो। घरमा गुन्द्रुक पकाएर बाहिर मासुको मसला किन्न जाने खालको जीवन बाँच्नुपर्छ यो क्षेत्रमा भन्छन्। तर मलाई त्यस्तो लाग्दैन। म भित्र जे छु, बाहिर पनि त्यही छु। लुकाउनुपर्ने पनि केही छैन, देखाउनुपर्ने पनि केही छैन।
एक सर्जक हुँ। सिर्जना गर्छु। पीर परे पनि गीत गाइदिने, खुशी भए पनि गीत गाइदिने, जे जस्तो परिस्थिति आउँछ त्यहीअनुसार साहित्य सिर्जना गर्ने हो।
खुशीमा पनि रमाउने, दुःखमा पनि रमाउने हो। तडकभडक अलि धेरै नै हुन्छ। तर मलाई यस्ता कुरामा खासै वास्ता लाग्दैन।
किताव पढ्न रुचाउँछु, सानो कुरालाई सोचेर दिनै बिताउन पनि सक्छु। यस्तै कुराहरूमा इन्जोय गर्छु। म चर्चामा नआउँदा पनि यस्तै थिएँ, अहिले पनि यस्तै छु। मलाई चिन्नेहरूले पहिले पनि यस्तै देखे, अहिले पनि यस्तै देख्छन्, भोलि पनि यस्तै देख्नेछन्।
केही झुट भए पो त्यसलाई ढाकछोप गर्नहुन्थ्यो, त्यस्तो केही छैन।
अबको योजना के छ त?
भर्खरै नयाँ गीत आयो। यसको प्रतिक्रिया धेरै सकारात्मक आइरहेको छ। धेरैले अहिलेको गीतमा भिडियोमा राम्रो काम भएको प्रतिक्रिया दिनुभएको छ।
नयाँ कामहरूमा व्यस्त भने भई नै रहेको छु। अहिलेसम्म संगीतको औपचारिक शिक्षा हासिल गरेको छैन। मिलेदेखि पढाइलाई पनि निरन्तरता दिन मन छ।
सकेसम्म अर्काको देशमा जान नपरोस्, नेपालमै गीत संगीतमा लागेर खान पुगोस् भनेर संघर्ष गरिरहेको छु। हेरौं के हुन्छ, जिन्दगीले कता लैजान्छ।
असार ३२, २०७९ शनिबार ०८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।