अभिनेत्री निताको रहर : हनिमुनका लागि कैलाश पर्वत !
काठमाडौँ : झट्ट हेर्दा अभिनेत्री निता ढुङ्गाना धर्म कर्म भनेपछि भुतुक्कै हुन्छिन् भन्ने झैँ त देखिनन्। सायद उनले फिल्ममा निभाउने ग्ल्यामर छविका कारण होला यस्तो लाग्ने।
व्यक्तिको सार्वजनिक छवि जस्तो छ स्वभाव त्यस्तै हुन्छ भन्ने ठोकुवा गर्न पनि सकिन्न। ठोकुवा गर्न पनि हुन्न।
विवाहपछिको पहिलो अन्तर्वार्तामा भने उनी निकै भिन्न स्वभावमा देखिइन्। निकै नरम अनि धार्मिक। त्यो अन्तर्वार्तामा देखिए अनुसार उनी धर्मकर्ममा निकै विश्वास गर्ने रहिछिन्।
हालसालै उनले चार वर्षको सम्बन्धनपछि ज्योतिष हरिहर अधिकारीसँग विवाह गरिन्। सायद ज्योतिषसँगको प्रभाव हो कि। उनले कार्यक्रममै भनिन्'उहाँ ज्योतिष विधामा लाग्नुहुन्छ म अध्यात्ममा।'
विवाहपछि हनिमुन मनाउने त सामान्य प्रचलनै भइसक्यो। तर निताको त्यही धार्मिक स्वभावले निता-हरिहरको हनिमुनमा बाधा पारेको देखियो।
साउनमा उनी पुरै एक महिना व्रत बस्ने रहिछिन्। त्यसमा विवाह गरेको पहिलो वर्ष श्रीमान्-श्रीमती सँगै बस्न नहुने अनि पानी छल्नुपर्ने हिन्दु संस्कार पनि छ।
एकातिर व्रत अनि अर्कोतिर पानी छल्नुपर्ने संस्कार। यी दुवैले लङटुरको हनिमुन जान बाधा पार्यो यो जोडिलाई।
सायद हरिहरसँग उनी परिचित भइसकेकी थिइनन् कि त्यो बेलामा! उनले त्यो बेलामा आफ्नो वेडिङ प्लानै खुलाएकी थिइन्'इटलीमा विवाह गर्ने अनि हनिमुन पनि मनाउने।'
तर अहिले उनको लक्ष्य बदलिएको देखियो। साउनमा पाए त धार्मिक स्थलमा हनिमुनमा जाने रहर देखाइन् उनले। व्रतमा कतै तीर्थयात्रामा जाने कि भन्ने छलफल पनि भइरहेको खुलाइन् उनले। नभए भदौमा हनिमुनमा जाने रे।
हरिहरले कार्यक्रममा व्रतमा के गर्न हुन्छ अनि के गर्न हुन्न भन्ने खुलाए। अनि निताले हनिमुन जान हरिहरले प्रस्ताव गरेको स्थान पनि खुलाए'कैलाश पर्वत।'
हनिमुनमा कैलाश पर्वत?
त्यसमा उनी खुसी नै देखिइन्। 'उहाँले ठुलै नामको मन्दिरको नाम लिनुभयो। त्यो त संसारभरि घुमे बराबर हो। साउनमा जान पाए त' उनले भनिन्।
असार ३१, २०७९ शुक्रबार ००:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।