चर्चित पन्जाबी गायक दलेर मेहन्दी मानव तस्करीको मुद्दामा पक्राउ

चर्चित पन्जाबी गायक दलेर मेहन्दी मानव तस्करीको मुद्दामा पक्राउ

एजेन्सी : भारत पन्जाबको पटियाला अदालतले चर्चित पन्जाबी गायक दलेर मेहन्दीलाई मानव तस्करीको अभियोगमा २ वर्ष जेल सजायको फैसला सुनाएको छ। उनलाई सन् २००३ मा मानव तस्करी गरेको आरोप लागेको थियो। उनी सन् २०१८ मा दोषी ठहर भएका थिए।

सोही मुद्दामा उनलाई थप २ वर्षको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। २०१८ मै उनी सोही केसमा धरौटीमा छुटेका थिए।

उनले गैर कानुनी रूपमा मानिसहरूलाई विदेश पठाएको र यसको लागि ठुलो रकम लिएको बताइएको छ। समाचार अनुसार उनलाई प्रहरीले पक्राउ गरिसकेको र अब जेलमा पठाउने तयारी गरेको छ। दलेर मेहन्दीले भने अदालतको उक्त फैसलालाई चुनौती दिँदै आएका थिए।

२००३ मा दलेर र उनको भाइ शमशेर सिंह सहित अन्य दुईलाई पनि पटियाला प्रहरीले मानव बेचबिखन मुद्दामा दोषी ठहर गरेको थियो।

जसमा दलेर माथि सन् १९९८ र १९९९ मा १० जनालाई अवैध रूपमा अमेरिका पुर्याएको आरोप थियो।

उनीमाथि भारतीय दण्ड संहिता (आइपिसी) र भारतीय राहदानी अधिनियमको धारा ४०६, ४२०, १२० बि, ४६५, ४६८, र ४७१ अन्तर्गतको मुद्दा थियो।

रिपोर्टका अनुसार दलेरले धेरै मानिसहरूलाई अवैध रूपमा विदेश (विशेष गरी अमेरिका र क्यानडा) पठाउन सक्ने वाचा गरेका थिए।

उनले आफ्नो विदेशी कार्यक्रमहरूमा नृत्य टोलीको एक हिस्साको रूपमा मानिसहरूलाई विदेश पुर्याउने गरेको र बदलामा ठुलो रकमको माग गरेको बताइन्छ।

प्रहरीले दलेर विरुद्ध पर्याप्त प्रमाणहरू फेला पार्न सक्षम भएको र दिल्लीको क्यानाट प्लेस अफिसमा छापा मार्दा केही कागजातहरू बरामद गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

असार ३०, २०७९ बिहीबार १९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।