गण्डकी प्रदेशको ३५ अर्ब ९० करोड ९० लाखको बजेट पारित
पोखरा : गण्डकी प्रदेशसभाले आर्थिक वर्ष २०७९-०८०को बजेट पास गरेको छ। प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले यही असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको ३५ अर्ब ९० करोड ९० लाखको बजेट बिहीबार बसेको संसद् बैठकबाट बहुमतले पास भएको हो।
अर्थमन्त्री बरालले बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाइ दिएपछि सत्तारुढ गठबन्धनका दलबीच आन्तरिक विवाद चुलिएका कारण तीन सातापछि मात्र प्रदेशसभामा छलफल भएको थियो।
आगामी मंसिरमा हुने भनिएको निर्वाचनलाई निशाना बनाएर निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत निर्वाचन क्षेत्रका सानातिना टुक्र योजनाको प्रभावमा मतदातालाई पार्ने योजना बनाएका कांग्रेस लगायतका गठबन्धनका दलले अर्थमन्त्रीले आर्थिक वर्षको बजेटमा कार्यक्रम हटाइ दिएपछि रुष्ट बनेका थिए।
मन्त्रीपरिषद्को बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्ने निर्णय गरे पनि अर्थमन्त्री बरालले आफूखुसी त्यो कार्यक्रम नै हटाइ दिएपछि रुष्ट बनेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई गुहारेका थिए। तर, पोखरेलको आग्रहलाई प्रधानमन्त्री देउवा र दाहालले प्रदेशमै मिलाउन निर्देशन दिएसँगै पोखरा फर्किएर अर्थमन्त्री बरालसंग छलफलमा जुटेका थिए।
छलफलपछि उक्त कार्यक्रमको नाम फेरेर बजेटको व्यवस्था गर्न अर्थमन्त्री बराल राजी भएपछि असार २२ मा विनियोजन विधेयक पेस भएको थियो । त्यसपछि सांसदहरूले बजेटका बारेमा एक साताको छलफलपछि बजेट पारित गरिएको हो।
असार ३०, २०७९ बिहीबार १७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।