डा बाबुरामको नजरमा अन्य दल : कांग्रेस खच्चड लोकतन्त्रवादी, कम्युनिस्ट समूहहरूसँग भरोसा राख्न सकिन्न

डा बाबुरामको नजरमा अन्य दल : कांग्रेस खच्चड लोकतन्त्रवादी, कम्युनिस्ट समूहहरूसँग भरोसा राख्न सकिन्न

काठमाडौँ : जनता समाजवादी पार्टीमा बढिरहेको सङ्कट टार्न यसका २ शीर्ष नेता डा बाबुराम भट्टराई र उपेन्द्र यादव अहिले आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफलमा छन्। उनीहरूले पार्टीभित्रको समस्या समाधानका लागि सहकार्य भन्दा पनि अलग भएर जाने लाइन समातेका छन्।

काठमाडौँमा भइरहेको डा बाबुराम भट्टराई निकट केन्द्रीय सदस्यहरूको भेलामा उनले पेस गरेको राजनीतिक प्रतिवेदनमा पनि जसपालाई एकीकृत बनाएर लैजाने भन्दा नयाँ राजनीतिक शक्ति निर्माण केन्द्रित देखिन्छ।

उनको प्रतिवेदनमा पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनको प्रयास गरिएको त छ नै अहिले क्रियशिल रहेका दलहरूको बारेमा विवेचना समेत गरिएको छ। उनको राजनीतिक प्रतिवेदनमा उनी नेपाली कांग्रेससँग अलि उदार देखिन्छन् भने कम्युनिस्ट दलहरूप्रति अनुदार र आलोचक।

उनले पेस गरेको प्रतिवेदनमा दलहरूबारे गरिएको विश्लेषण :

नेपाली काङ्ग्रेस : वैचारिक दृष्टिकोणले नेपाली कांग्रेस उदारवादी–पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल हो। दस्ताबेजमा यसले ‘प्रजातान्त्रिक समाजवाद’ लेख्ने गर्दछ। तर, उसको नीति, कार्यक्रम र व्यवहारमा ‘समाजवाद’ अहिलेसम्म कहीँ कतै देखिएको छैन।

यस पार्टीले भन्ने गरेको ‘प्रजातन्त्र’ पनि पुरानो, ठिमाहा वा खच्चड, संसदीय र औपचारिक लोकतन्त्र मात्र हो। लोकतन्त्रको अझ बढी विकास गर्ने, लोकतन्त्रलाई सहभागितामूलक, प्रत्यक्ष, समावेशी, समानुपातिक, सङ्घात्मक, पूर्ण र शुद्ध ( परफेक्ट एन्ड पियोर ) ढाँचा वा प्रारूपमा विकास गर्न यो पार्टीको कुनै रुचि देखिँदैन।

२०४६ साल यताका उसका सबै नीति र व्यवहार नवउदारवादी उदारीकरण, निजीकरण र भूमण्डलीकरणबाट प्रभावित छन्। यो पार्टी हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो। जनताको बद्लिँदो चेतना र दबाबले गणतन्त्रसम्म स्वीकार गर्न थाल्यो। तर, संघवाद र समावेशी लोकतन्त्रलाई अझै यसले जीवन्त, ठोस र मूर्त ढङ्गले स्वीकार गरिसकेको छैन।

अतः लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा कांग्रेससंग हाम्रो सहकार्य हुन सक्दछ। बाँकी प्रश्नमा प्रतिस्पर्धा र सङ्घर्ष हुन्छ ।

नेपाल कम्युनिस्ट पार्टीका घटकहरू : नेपालमा दर्जनौँ कम्युनिस्ट समूह छन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा ( एकीकृत समाजवादी) ठुला कम्युनिस्ट समूह हुन्।

साना कम्युनिस्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा सङ्गठन राष्ट्रिय जनमोर्चाले संसद्मा प्रतिनिधित्व गर्दछन्। संसद्मा नभएका नेकपाका अन्य घटकहरू वैध, विप्लव, आहुति, माले आदि अनेक समूहहरू छन्। यी सबै समूहको विचार र उत्पत्तिको आधार एउटै हो। यी सबै समूह कार्ल मार्क्स र फ्रेडरिख एंगेल्सले सन् १८४८ मा लेखेको ‘कम्युनिस्ट घोषणा पत्र’ लाई वैचारिक आधार मान्ने दलहरू हुन्।

यी सबै समूह रुसी अक्टोबर क्रान्ति, सोभियत प्रणाली, चिनियाँ ‘नयाँ जनवादी क्रान्ति’ र माओ त्से तुङ विचारधाराबाट प्रभावित छन्। यी सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेका हुन्। यी समूहहरू बिचको भिन्नता दार्शनिक तथा विचारधारात्मक हैन। केवल राजनीतिक कार्यदिशा, कार्यनीति र खास खास एजेन्डाको भिन्नता मात्रै हो।

भन्ने एउटा गर्ने अर्को जस्तो पाखण्डी चरित्र प्रदर्शनमा यिनीहरू उस्तै छन्। अर्थात् व्यवहारवादी र जडसुत्रीय अवसरवाद यी सबै समूहको साझा चरित्र हो। सन् १९९० को दशकमा सोभियत सङ्घको पतनपछि एमालेले ‘जनताको बहुदलीय जनवाद’ मार्फत ‘संसदीय प्रणाली’ को बाटो समात्यो र बिस्तारै करिब कांग्रेसजस्तै जस्तै बन्न पुग्यो।

एमालेको जस्तो विचारलाई विश्व राजनीतिमा ‘युरो कम्युनिजम’ भन्ने गरिन्छ, जसको अर्थ उदार पुँजीवादी संसदीय लोकतन्त्रबाटै समाजवाद, साम्यवाद ल्याउन सकिन्छ भन्ने विश्वास हो। माओवादी केन्द्रले हिजो माओवाद, एक्काइसौँ शताब्दीको जनवाद, प्रचण्डपथजस्ता विचारको कुरा गर्थ्यो।

एमालेसँगको एकता, नेकपा ( नेकपा ) को निर्माण र सहकार्यको करिब साँढे ३ वर्षको अवधिमा यो पार्टी एमालेजस्तै ‘जनताको बहुदलीय जनवादी’ बन्यो। पुनश्च विभाजनपछि यसले आफूलाई फेरि ‘माओवादी’ भन्न थालेको छ। यो ब्रान्ड मात्रै हो कि विचारधाराले नै माओवादी हो भन्ने प्रश्न गर्न सकिन्छ।

औपचारिक रूपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलिक विचारधारा माओवादी केन्द्रसँग बाँकी देखिँदैन।

नेकपा (एकीकृत समाजवादी) को विचार, सिद्धान्त र एजेन्डा के हो, त्यो एमाले र माओवादी केन्द्रसँग के कति कारणले समान वा फरक छ भन्ने अझै प्रस्ट छैन। केपी शर्मा ओलीको कार्यशैली र असंवैधानिक संसद् विघटनसँग विमति राखेर एमालेबाट फुटेको दल मात्र भएको हुँदा यसको विश्लेषण पद्धति आधारभूत रूपमा एमालेको जस्तै छ।

यो दलले कुन बाटो रोज्छ, यसको राजनीतिक भविष्य के कस्तो हुन्छ अझै केही समय पर्खेर हेर्नु पर्दछ। यी तीन वटै ठुला कम्युनिस्ट समूह शास्त्रीय जडता र व्यवहारिक स्खलनको अनौठो स्थितिमा पुगेका छन्। आफूलाई कम्युनिस्ट भन्छन्, कम्युनिस्ट शब्दप्रतिको जनताको मोहको शोषण पनि गर्दछन् तर कम्युनिस्ट बाँकी छैनन् तर, छोड्न पनि सक्दैनन्।

शास्त्रीय साम्यवादको सिद्धान्तले अब कुनै काम गर्दैन भन्ने यिनलाई थाहा छ तर पुरानो ब्रान्ड नाम विना चुनावमा भोट नपाउने डरले भन्न डराउँछन्। व्यवहारमा भने यी कुनै पनि समूह कांग्रेसभन्दा फरक छैनन्। यसरी नेपालमा कांग्रेस र कम्युनिस्ट एउटै सिक्काका दुई पाटोजस्तो बन्न पुगेका छन्।

दुवै दलले वर्तमान संविधानलाई संसारको उत्कृष्ट संविधान भन्दै दीपावली गरेका थिए। दुवै दल सङ्घीयता, समावेशिता, प्रत्यक्ष, सहभागितामूलक लोकतन्त्र, समानुपातिकता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, उत्पीडित राष्ट्रियताहरूको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा उस्तै र उत्तिकै अनुदार देखिन्छन्।

कांग्रेसले अभ्यास गरिरहेको नवउदारवादी अर्थनीतिभन्दा फरक एमाले, माओवादी र एसमाजवादीले कुनै तात्त्विक भिन्नता भएको अर्थनीति प्रस्तुत गर्न सकेका छैनन्। साना वामपन्थी वा कम्युनिस्ट समूहरतमा कुनै उल्लेखनीय नयाँ विचार र सृजनशील क्षमता देखिएको छैन।

तिनीहरूसँग देशको राजनीतिक कार्यदिशालाई प्रभावित गर्न सक्ने क्षमता पनि देखिन्न। शास्त्रीय साम्यवादको विश्व असफलतापछि पनि पुरानै वैचारिक आग्रह छोड्न नसकेको कारणबाट उत्पन्न कुण्ठा, निराशा, हतासा, विभ्रम र उद्विग्नताबाहेक साना वामपन्थी समूहसँग थप कुनै गुण देखिन्न।

नेपालका सबै साम्यवादी समूहका साझा समस्या छन्। नेपालका कम्युनिस्ट समूहहरूसँग अब कुनै आशा, अपेक्षा र भरोसा राख्न सकिन्न। आफै भ्रमित नेतृत्व, आन्दोलन र सङ्गठनले देश र जनताको सही नेतृत्व गर्ने कुरै हुँदैन।

लोकतन्त्रको विश्वव्यापी मान्यताप्रति पनि यिनीहरू प्रतिबद्ध छैनन्। देशको सामाजिक विविधतालाई संशोधन गर्ने विधि संघवाद, समावेशिता, समानुपातिकता, बहु-साँस्कृतिकतावाद, सामाजिक न्याय, आरक्षण आदि सवालप्रति पनि वामपन्थी समूहहरू खासै सकारात्मक र प्रतिबद्ध छैनन्।

कम्युनिस्ट समूहहरूबाट सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिक जटिलताको संशोधन पनि सम्भव देखिन्न। नत यिनीहरूसँग कुनै ठोस आर्थिक नीति तथा विकास र समृद्धिको मोडेल नै छ। समग्रमा वामपन्थी तथा कम्युनिस्ट समूहहरू देशको अग्रगामी रूपान्तरण, समतामूलक समृद्धि र समावेशी विकासको मार्गमा जानेर, नजानेर व्यवधान जस्तो बन्न पुगेका छन्।

यिनीहरूले कि त पूर्वी युरोपका पुराना कम्युनिस्ट पार्टीहरूले झैँ बेलैमा आफूलाई नयाँ सोच, कार्यक्रम र नाममा रूपान्तरण गरी सहभागितात्मक समाजवादी धारा समात्न सक्नु पर्दछ कि त आफ्नै पतनको प्रतीक्षा गर्नु पर्ने छ। यथास्थितिमा यिनीहरूको क्रमिक अवसान अपरिहार्य छ।

जो रूपान्तरित हुन इच्छुक छन्, उनीहरूसँग भने सहकार्य र एकताको प्रक्रियामा जान सकिन्छ।

राप्रपा र राप्रपा नेपाल : रुढीवादी धारको प्रतिनिधि दल हो। पुराना शासक वर्ग र परिवार-राणा, शाह र पञ्चहरूको विरासतको गर्भबाट यो दलको उदय र अस्तित्व कायम भएको हो। जनतामा निहित धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहने यो दल पछिल्लो गत आमनिर्वाचनमा निक्कै कमजोर भएको थियो।

भरखरै सम्पन्न स्थानीय निर्वाचनमा थोरै प्रगति गरेको छ। शक्तिले सानो भए पनि विचारले यो दल देशको सबैभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल हो। यो मूलतः लोकतन्त्रविरोधी, सामन्ती तथा रुढीवादी निरंकुशतावादी विचारको दल हो।

यो दल लोकतन्त्र, गणतन्त्र, संघवाद, समावेशिता, समानुपातिकता, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, बहुसाँस्कृतिवाद, समाजवाद र धर्मनिरपेक्षताको विरुद्धमा छ। यो दलले छर्ने अनावश्यक भ्रम चिर्न हाम्रो पार्टी निरन्तर चनाखो रहनु पर्दछ।

अन्य दलहरुः यसका अतिरिक्त अन्य केही दलहरू देशको राजनीतिमा क्रियाशील छन्। जस्तै, लोकतान्त्रिक-समाजवादी पार्टी ( लोसपा ), जनमत पार्टी, जनता प्रगतिशील पार्टी, नागरिक उन्मुक्ति पार्टी, तराईमधेश लोकतान्त्रिक पार्टीजस्ता मधेस केन्द्रित दलहरू छन् भने विशेषतः उपत्यका केन्द्रित विवेकशील–साझा गत आम निर्वाचनमा चर्चामा थियो।

संघवाद र समावेशिताका सवाल तथा पहिचान र अधिकारको आन्दोलनको सन्दर्भमा लोसपा, जनमत, नागरिक उन्मुक्तिजस्तासंग हाम्रो पार्टीको विचार नजिक छ। विकास, सुशासन र समृद्धिको सवालमा भने यी दल त्यति धेरै प्रस्ट छैनन्।

विवेकशील-साझाको एउटा समूहले पश्चगामी मोड लिएपछि त्यो पार्टी सङ्कटमा फसेको छ। तर अर्को पक्ष तुलनात्मक रूपमा प्रगतिशील देखिन्छ। विवेकशील साझाको प्रगतिशील समूहसँग हामीले सहकार्य र एकताको वातावरण बनाउँदै जाने प्रयत्न गर्नु पर्दछ।

असार २८, २०७९ मंगलबार १६:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।