चौथो अंग : कतै काम नपाएपछि बनेका रिपोर्टर र भडास मात्रै पोख्ने सम्पादक भएपछि सकिएन त पत्रकारिता !

चौथो अंग : कतै काम नपाएपछि बनेका रिपोर्टर र भडास मात्रै पोख्ने सम्पादक भएपछि सकिएन त पत्रकारिता !

पछिल्लो समय नेपालमा अनगिन्ती मिडिया खुलेका छन्।  मिडियाको संख्या धेरै हुनुको राम्रो/नराम्रो दुवै कारण खोतल्न सकिएला। तर मिडिया किन खुलेका छन्? लगानीकर्ताको मुख्य उद्देश्य के हो? आफ्ना भ्युअर तथा पाठकलाई मिडियाले चिन्छ कि चिन्दैन? 

रिपोर्टर तथा सम्पादकले कुनै पनि बिटको समाचार दिँदा ३६० डिग्रीमा दिन्छ कि अगाडिको भाग मात्रै? सबैतिर उस्तै समाचार दिने, फरक केही दिन नसक्ने भए नयाँ मिडिया खुल्नु र नखुल्नुको के अर्थ र?

नेपालमा खुलेका केही मिडियाले मात्रै फरक गर्न खोजेको हो कि जस्तो देखिन्छ। तर ती त थोरै भए नि। संख्यामा जसरी मिडिया खुले गुणस्तरमा त्यो अनुपातमा बढेको देखिँदैन। किन त? 

सुविधा हुँदैमा काम हुँदैन, उदाहरण गोरखापत्र
२०४९ सालमा पत्रकारिताको सुरुवात गर्दा साप्ताहिकको दबदबा थियो। पार्टीकारिता खुब चलेको थियो त्यतिबेला।

मैले एमालेको मुखपत्र 'दृष्टि'मा काम गरेँ। त्यसपछि अन्य साप्ताहिकमा पनि काम गरेँ। पार्टीकारिताले पत्रकारिता हुँदैन भन्ने लागेपछि मैले 'काठमाण्डु टुडे' म्यागेजिन निकाले। यो म्यागेजिन त्यतिबेला भइरहेको पत्रकारिताभन्दा बिल्कुल फरक थियो। खोजी पत्रकारिता त्यतिबेलासम्म खासै हुँदैनथ्यो, हामीले सुरुवात गरेका थियौँ।

त्यतिबेलै म केमा प्रष्ट थिएँ भने, जुन क्षेत्रको रिपोर्टिङ भएको छैन, त्यसैको रिपोर्टिङ गर्ने हो। त्यसकारण काठमाण्डु टुडेले खोजी पत्रकारिता सुरु गरेको थियो।

त्यतिबेलाको सरकारले पुरुष सांसदले सुत्केरीले खाने औषधी भएको बिल पेश गरेर उपचार खर्च लिएको, सांसदलाई गाडी खरिदमा भन्सार फ्रि गरेको थियो। सांसदले भन्सार फ्रिको गाडी ल्याएर केही बढी पैसामा व्यापारीलाई दिन्थे। तर गाडी सांसदकै नाममा हुन्थ्यो। यो कुरा हामीले पर्दाफास गरेका थियौं।

त्यस्तै, त्यतिबेला नक्कली डाक्टरको बिगबिगी थियो। त्यसबारे पनि खोजी-खोजी लेखियो। कालापानीबारेको समाचार पनि खुबै लेखियो।

समाचार भनेको राजनीति मात्रै हो भन्नेहरुका लागि काठमाण्डु टुडेले केही फरक गरेको थियो। यो पत्रिका धेरैले रुचाए पनि। 

अहिलेको सन्दर्भमा भन्नुपर्दा, जुन मिडिया फरक तरिकाले आएका छन्, कन्टेन्ट फरक दिएका छन्, उनीहरुको उद्देश्य प्रष्ट हुन्छ। तर अधिकांश मिडियाले भने फरक कन्टेन्ट दिन सकेका छैनन्।

अपडेटका लागि त अनलाइन पहिल्यैदेखि छन् नि। अहिले खोलिएका अनलाइमा फरक के त? टेलिभिजन खोलिएको हो भने, उही समाचार उही शैली, उही टक शो, गेष्ट पनि उही। फरक के त? अहिले अधिकांश मिडियामा भएको यही होइन त? त्यसकारण संख्या बढ्दैमा खुसी हुनुपर्ने कारण देख्दिनँ म।

पहिलेकै सन्दर्भमा फर्कंदा, एफएम रेडियो नआउँदासम्म साँझका पत्रिका खुब चल्थे। 'अपराह्न' भन्ने पत्रिका निकालेका थियौँ हामीले। त्यो पत्रिकाले माओवादीको सशस्त्र संघर्षबारे अपडेट दिन्थ्यो। जसै एफएम रेडियोको संख्या ह्वात्तै बढ्यो, यस्ता पत्रिका बन्द भए।

माध्यमले फरक पार्छ। त्यसकारण आफू र मिडिया अपडेट हुन जरुरी छ। व्यवसाय र प्रविधि सँगसँगै जान जरुरी छ। त्यसरी जान नसक्दा काठमाण्डु टुडे पत्रिका बन्द भयो। अन्य म्यागेजिन आए। प्रविधि र व्यवसाय सँगसँगै जान सकेन भने फस्टाउन सक्दैन भन्ने गतिलो उदाहरण भयो त्यो। 

अहिले अनलाइन मिडिया र भोलिपल्ट पत्रिकामा आउने समाचार उस्तै हुन्छन्। त्यसकारण पत्रिकाको भ्यालु छैन। पत्रिकाको बजार देशैभरि फैलिन नपाई अनलाइनले बजार खाए। अनलाइनमा सूचना दिएपछि ३ सय ६० डिग्री अर्थात् सांगोपांगो समाचार दिनुपर्ने हो पत्रिकाले। तर पत्रिकाले नयाँ काम गर्नै सकेका छैनन्। त्यसैले त हाम्रोमा पत्रिकाको बजार घट्यो।

विदेशतिर पत्रिकाको बजार अहिले पनि घटेको छैन। उनीहरुको अनलाइनमा सब्सक्रिप्सन पनि उस्तै छ। पत्रिका पढ्ने पनि उति नै छन्। 

उदाहरणका लागि, जापानी प्रधानमन्त्री सिन्जो आबेको हत्या भयो। अघिल्लो दिन अनलाइनमा अपडेट दिएका पत्रिकाले भोलिपल्ट सांगोपांगो स्टोरी दिए। यहाँका मिडियाले त्यति मिहिनेत गरेको देखिँदैन।

अहिले मिडियाका अधिकांश रिपोर्टर अन्यत्र काम नपाए मात्रै पत्रकारिता गर्ने र झोकले सम्पादक भएका व्यक्तिहरु हावी भए। म किन सम्पादक भएको छु, मैले अन्य मिडियाभन्दा के फरक कन्टेन्ट दिएको छु भनेर सोच्ने मिडियाले मात्रै केही राम्रो गरेको देखिन्छ। 

२०७५ साल मंसिरमा म गोरखापत्रको सल्लाहकारमा नियुक्त भएँ, व्यवस्थापन हेर्ने गरी। मुलुककै जेठो पत्रिकाको हविगत यस्तो थियो कि फोहोर कार्यालय, अधिकांश कर्मचारी काम ठग्ने र चाकडीमा रमाउनेहरु थिए। 

हेर्दा सानो तर शौचालयको व्यवस्थापन गर्नुपर्ने भयो गोरखापत्रमा। शौचालय यति फोहोर कि त्यहाँका कर्मचारी शौचालय जान परे बाहिर जान्थे। गन्धले मास्क लगाएर बस्नुपर्ने अवस्था थियो। 

सुरुवाती सरसफाइ गरियो। सरसफाइपछि कर्मचारी शौचालयकै लागि बाहिर जानुपर्ने भएन। कर्मचारीहरु काम ठग्थे। दलका कार्यकर्ता भर्ती भएकाले तिनले कामै गर्दैनथे। बिहान हाजिर लगाउने, साँझ फेरि हाजिर गरेर ओभर टाइमको समेत पैसा लिने। त्यस्तै, सञ्चालक समितिको बैठक बस्दा भत्ता लिने।

यसरी ४ करोड बढी वार्षिक बढी खर्च लगाएका रहेछन्। हामीले यो पनि रोक्यौँ। ओभर टाइमको पैसा शाखा प्रमुखभन्दा मुनिको कर्मचारीलाई मात्रै दिने व्यवस्था गरियो।

पेट्रोल तथा डिजेलमा उस्तै चुहावट। व्यक्तिगत प्रयोजनको लागि गाडी प्रयोग हुन थालेपछि जिपिएस सिस्टम जडान गरियो। त्यसकारण म भन्छु, समय अनुसार प्रविधिको प्रयोग गर्न जान्नु पर्छ। 

वितरण प्रणाली उस्तै खराब थियो। पोखरा र नेपालगञ्जमा अन्य पत्रिका छापिएकै दिन पुग्थे। गोरखापत्र भने पर्सिपल्ट पुग्ने रहेछ। निजी कम्पनीलाई दिएपछि यो समस्या पनि सामाधान भयो। 

डिजाइनमा पनि उस्तै समस्या। त्यहीँका डिजाइनरलाई तालिम दिइयो। कलर लत्पत्याउने समस्या थियो प्रेसको पनि। वेस्टेज कागज बेचेर अतिरिक्त आम्दानी लिनको लागि त्यसो गर्ने रहेछन्। जसै यसमा तालिम दिइयो, यो समस्या हट्यो। हामी जानुअघि १ लाख ६ हजार टन कागज किन्ने गरेकोमा ८१ हजार टनमा झर्यो। व्यवस्थापन सही भयो भने खर्च पनि कम हुन्छ नि। 

गोरखापत्रमा किनेका सामग्रीको भुक्तानी प्रणाली सुस्त थियो। यसो हुँदा कमिसन लिन पाइने रहेछ। कर्मचारीलाई १ करोड बराबरको फाइल एक दिनमा पढिसक्ने, नसके कारण सहित लेख्ने भनेपछि यो समस्या पनि हट्यो। १५ दिनमा भुक्तानी पाउने भए डिलरले पनि। 

जब १५/१५ दिनमा गाडी मर्मत भनेर बिल पेस गर्ने कर्मचारीसँग मेरो टसलमसल पर्यो, एमालेका कर्मचारीलाई सहेन भनेर मलाई निकालियो। तर के थाहा भयो भने, गोरखापत्रका कर्मचारीले सेवा-सुविधा नपाएका होइनन्। नेताले चाकडी पनि खोजेका होइनन्। अधिकांश कर्मचारीले कामै नगर्ने र बाँदर भक्ति देखाउनाले काम नभएको हो। 

१६ महिनाको तलब बुझ्छन् गोरखापत्र संस्थानका कर्मचारी। त्यो भन्दा कम सुविधा पाएका पत्रकारले पनि खोजी पत्रकारिता गरिरहेकै छन्। सुविधा हुँदैमा काम नहुने रहेछ भन्ने गोरखापत्रका कर्मचारीलाई हेरे पुग्छ। यसको अर्थ पत्रकारलाई सेवा-सुविधा दिनुहुन्न भनेको होइन। सेवा-सुविधा दिएसँगै त्यो बराबरको काम लिन सक्ने सम्पादक तथा अध्यक्ष हुनु जरुरी छ। 

नपढ्ने रिपोर्टर, भडास पोख्ने सम्पादक 
अर्थको समाचार लेख्नेले अर्थशास्त्र पढ्न-बुझ्न पर्छ कि पर्दैन? नेपाली तथा अन्तर्राष्ट्रिय मिडिया कति हेर्छन् अहिलेका रिपोर्टर? उनीहरु आफैंले आफ्नो क्षमता बढाउन औपचारिकसँगै अनौपचारिक पढ्नु जरुरी छ। वर्षमा कति वटा किताब पढ्छन् रिपोर्टर?

भाषा सुधार्न रिपोर्टरले कति प्रयास गरेका छन्? अहिलेका रिपोर्टरमा भाषाको समस्या देखिएको छ। यसको गहिरो कारण त विद्यालय तथा विश्वविद्यालयमा पढाइ नभएर पनि हो। तर पढाइ भएन भनेर उम्किन त पाइएन पत्रकारिता गरेपछि।

पढ्ने र नपढ्ने रिपोर्टरको लेखाइ त छुट्टिई नै हाल्छ। यसको अर्थ सबै रिपोर्टर पढ्दैनन् भन्न खोजेको होइन। राम्रो लेख्ने रिपोर्टर पनि छन्। तर थोरै छन्। 

पहिलेको तुलनामा अहिले पार्टीकारितामा भने कमी देखिन्छ। खोजी पत्रकारिता बढेको छ।

तर, रिपोर्टिङका लागि अथाह विषय हुँदाहुँदै पनि अर्थ पत्रकारिता गर्ने अधिकांशले किन व्यवसायीको मात्रै अघिपछि लागेर रिपोर्टिङ गर्छन्? मलाई अचम्म लाग्छ। कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड भने पनि कृषिको रिपोर्टिङ ग्राउण्ड जिरोमा गएर भएको छैन। 

कृषकले पाउने ऋणमा सबैभन्दा महँगो ब्याजदर छ। बैंकले दिँदैन, सहकारीले १८ देखि ३० प्रतिशत ब्याजदरमा ऋण दिन्छ। यो पाटोमा खै गहिराइमा पुगेर रिपोर्टिङ भएको?

नेपाली बजारमा तरकारी उत्पादन हुन्छ। किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यको ग्याप अस्वभाविक हुन्छ। बिचौलिया हावी भएको छ। यसलाई चिर्ने गरी समाचारै आएको छैन। कृषिमा सरकारको बजेट, किसानको उत्पादन र  उपभोग्य वस्तुको आयात तुलना गरेर खै विश्लेषणात्मक रिपोर्टिङ भएको? 
विश्वविद्यालयको पढाइ कमजोर भएको हुँदा विश्लेषण गरेर लेख्ने बानीको विकास भएन। निजामती कर्मचारी, आर्मी, पुलिस केही हुन नसके पत्रकारिता गरेर जीविका गर्छु भन्नेहरु हावी भएको हुँदा पत्रकारिता राम्रो हुन सकेन। 

अधिकांश रिपोर्टर नपढ्ने अनि भडास पोख्न सम्पादक बनेकाहरु हावी हुँदा पत्रकारिता जसरी हुनुपर्ने हो, त्यसरी भएको देखिँदैन।

नारा लगाउन जान्ने, समाचार लेख्न नजान्ने
एनजिओ/आइएनजिओले बिगारेका छन् पत्रकारलाई। नारा लाउन जान्ने, समाचार लेख्न नजान्ने भए पत्रकार। चल्तापुर्जा पत्रकारलाई बोलाएर अलि धेरै पैसा दिने, काम लगाउने अनि चुस्नुसम्म चुसेर खोक्रो बनाएपछि त्यो पत्रकार अभियन्ता भएको देखिन्छ। 

पत्रकारिता क्षेत्रमा भन्दा धेरै तलब दिने अनि काम लगाउने गरेको देखिन्छ। एनजिओ-आइएनजिओले सधैं त पाल्दैन। त्यसपछि पम्प्लेट बोकेर हिँड्छ त्यो।

पत्रकारले बाटो बिर्सन भएन। एनजिओले आफ्नो मुद्दामा लेखाएर वास्तविक पत्रकार हुनबाट बञ्चित गराइदिन्छ। 

अरु भन्दा फरक गरौं
अहिले राम्रा कार्यक्रम बनाइरहेका थोरै भए पनि युट्युब छन्। पडकास्ट व्यक्तिले सञ्चालन गरिरहेका छन्। टेलिभिजन तथा रेडियोमा कार्यक्रम प्रोड्युसरको अभाव देखिएको छ। मिडियाले यतातर्फ पनि ध्यान दिन जरुरी छ।

नयाँ मिडियाले पहिले खुलेका मिडियाले गरेकोभन्दा फरक काम गर्नुपर्छ।  उदाहरणको लागि, यम बुद्धको सालिक बनाउनेभन्दा विरोध भएको छ। जो जस्तो पृष्ठभूमिबाट आएको हो, उसैको गुणगान गाउँदै सालिक बनाएको देखिएको छ।

मूर्ति संस्कार ठिक होइन भनेर सामाजिक सञ्जालमा समेत बहस भएको देखिन्छ। विश्वविद्यालयमा मूर्तिको पढाइ हुन्छ। मूर्ति कला होइन? जुन मूर्तिको पनि विरोध गर्ने? 
 
अहिले अभाव देखिएको विश्लेषणात्मक समाचार कम र  पाठक/स्रोता तथा दर्शकसँगको दूरी बढेको देखिन्छ। यसमा काम हुन जरुरी छ। रिपोर्टरले धेरै पढ्ने, भाषा सुधार्ने, सम्पादकले इगो नराखी कार्यसम्पादन गर्ने र प्रकाशक पनि किन मिडिया सञ्चालन गरिरहेको छु भन्नेमा प्रष्ट हुने हो भने मिडियाको भविष्य राम्रो देख्छु म। 

(जनमञ्च, जनआस्था, लोकपत्र, दृष्टि, काठमाण्डु टुडे, अपराह्न, सगरमाथा रेडियो तथा गोरखापत्र संस्थानमा काम गरिसकेका राई अहिले ग्यालेक्सी फोर के टेलिभिजनको कर्पोरेट सल्लाहाकार छन्। राईसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

असार २८, २०७९ मंगलबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।